बैतडीको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पूर्वकर्म सेवा सुरु

बैतडी, १४ मंसिर । बैतडीको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आयुर्वेदिक चिकित्सापद्दती अन्तर्गत पूर्वकर्म सेवा सुुरू गरिएको छ। आइतबार एक कार्यक्रमका बीच पाटन नगरपालिकाका नगरप्रमुख केशव बहादुर चन्दले उद्घाटन गरेसँगै सो सेवा नियमित हुने भएको हो ।
शरिर शुद्धिकरणका लागि पञ्चकर्म सेवा अघि गरिने पूर्वकर्ममा स्नेहन, स्वेदन तथा शिरोधारा सेवा प्रवाह गरिने आयुर्वेद चिकित्सक डा. पुजा लेखकले बताए ।
उनका अनुसार पञ्चकर्मको पूर्वकर्म मानिने स्नेहन कर्म अन्तर्गत पहिले प्रभावित अंगमा रोग अनुसारको औषधिय गुणयुक्त तेलले मालिस गरिन्छ । सो पश्चात गरिने स्वेदन कर्म अन्तर्गत औषधिय गुणयुक्त पानीको बाफले सेक्ने काम गरिन्छ । त्यस्तै शिरोधारामा औषधिय गुणयुक्त तेलको प्रयोग गरी शीरमा तेलको धारा खसालिन्छ र आवश्यकता अनुसार मसाज गरिन्छ ।
यो सेवा स्वस्थ व्यक्तिले शरीरमा भएका विकार बस्तु हटाउन, स्वास्थ्य संरक्षण तथा प्रवद्र्धन गर्न र बिरामीको रोग निर्मुल गर्ने उपायको रुपमा लिइन्छ ।
डा. लेखकले यो सेवाको चिकित्सकीय प्रयोगले पक्षघात, बाथरोग, आमबात, वातरक्त बढेको, नसा च्यापिएको, हड्डी खिइएको, शरीरका सबै जोर्नीहरुको दुखाई लगायतका सम्पूर्ण हाडजोर्नीका बिरामीलाई फाइदा हुने बताए ।
त्यस्तै उनले आघातजन्य शोथ, मांसपेशी शोथ, पातलो शरीर भएका (स्नेहन), मोटो शरीर भएका (स्वेदन) कोलेस्ट्रोल बढेका, मानसिक चिन्ताग्रस्त व्यक्ति, पिनास, दम, बढी श्रम गर्ने व्यक्ति लगायतलाई बढी लाभदायी हुने जानकारी दिए ।

































