फाइजरको खोप बन्यो डब्लूएचओबाट आपतकालीन प्रयोगका लागि मान्यता पाउने पहिलो खोप



Download our app to get more features

एजेन्सी, १७ पुस । नयाँ वर्षको सुरुवातासँगै विश्व स्वास्थ्य संगठनले सबैलाई उपहार स्वरुप फाइजरको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

संगठनले बिहीबार फाइजरको भ्याक्सिनलाई आपतकालीन प्रयोगको मान्यता दिँदै विश्व समुदाय समक्ष यसको प्रयोगले राम्रो र सकारात्मक नतिजा आउने बताएको छ ।

फाइजरको खोप विश्व स्वास्थ्य संगठनद्वारा कोभिड भ्याक्सिनका आपतकालीन प्रयोगको मान्यता पाउने पहिलो भ्याक्सिन समेत बनेको छ । हालसम्म विश्वभर कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेकामध्ये फाइजर र बायोएनटेकले पहिलो मान्यता पाएको हो ।

संगठनले भ्याक्सिनको प्रभावकारिता र सुरक्षाका बारेमा नियामक विशेषज्ञहरुले समीक्षा गरेको समेत जनाएको छ । आकस्मिक प्रयोगको मान्यता पाएसँगै फाइजरको खोप प्रयोग गर्न चाहने देशहरुले आफ्नो देशको नियामक निकायमा दर्ता गरी भ्याक्सिन आयता गर्न सक्ने पनि बताएको छ । 

संगठनले फाइजरले विकास गरेको कोरोना विरुद्धको खोपले संगठनको मापदण्ड अनुसार सफल रहेकाले यसको आपतकालीन प्रयोगका लागि मान्यता दिइएको पनि बताएको छ ।

फाइजरको खोप अहिले अमेरिका, बेलायत लगायतका देशमा आपतकालीन प्रयोग भइरहेको छ ।

Last modified on 2021-01-02 07:36:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts