कोरोना सङ्क्रमणको दरमा वृद्धि भएसँगै फ्रान्सका १५ राज्यमा कर्फ्यू



Download our app to get more features

एजेन्सी, १९ पुस । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएपछि १५ राज्यमा कर्फ्यू लगाइएको छ ।

फ्रान्स सरकारले मुलुकका विभिन्न १५ वटा प्रान्तमा शनिबार साँझ ६ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

फ्रान्स सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोना महामारीसँग लड्नका लागि कर्फ्यू लगाइएको बताए । उनले जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरु अब अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने पनि बताएका छन् ।

फ्रान्सको होत आल्प्स, आल्प्स मारिटिम, आर्देन, दोउब, जुरा, ओत मार्न, मुर्थे ए मोसेल, मुउज लगायतका १५ राज्यमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको छ ।

पछिल्लो समय फ्रान्समा दैनिक १९ देखि २२ हजारका दरले नयाँ सङ्क्रमित थपिँदै गएका छन् । जसका कारण फ्रान्स सरकारले थप सावधानी अपनाएको र नागरिकलाई पनि अनावश्यक घरभन्दा बाहिर नस्किन र सरकारले लागू गरेका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

फ्रान्समा शनिवारसम्म कोरोना भाइरसका कारण २६ लाख ४३ हजार २ सय ३९ जना सङ्क्रमित भइसकेका छन् भने ६४ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म सङ्क्रमित भएकामध्ये १९ लाख ५ हजार १ सय ७४ जना स्वस्थ भइसकेका छन् । 

Last modified on 2021-01-04 09:51:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts