पिसिआरको विकल्पमा क्रिस्पर प्रविधि भित्र्याउँदै सरकार, भिटिएम बिनै कोरोना परीक्षण गर्न सकिने



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, २९ पुस । सरकारले कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) ले क्रिस्पर प्रविधि अन्तर्गत बनाएको पिसिआर परीक्षण गर्ने प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको हो । 

मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा पिसिआर परीक्षण गर्ने प्रविधि नेपाल भित्र्याउन लागिएको हो ।

बुधवार अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्यरत वरिष्ठ वैज्ञानिक दिग्विजय महतले पछिल्लो दुई सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो प्रविधिको परीक्षण भइरहेको बताए ।

उनले क्रिस्पर टेक्नोलोजी एमआईटीका वैज्ञानिकहरुको कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि प्रयोग गरिने पिसिआर परीक्षण गर्नका लागि बनाएको भन्दै यसलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको बताए ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै जनशक्तिलाई प्रयोग गरेर यस प्रविधिबारे परीक्षण गरिरहेको पनि बताए ।

उनले भने, ‘यो प्रविधि निकै सस्तो र विश्वसनीय छ । यसलाई पानी वा स्लाइन पानीमा राखेर पनि प्रयोग गर्न सकिन्छ ।’
महतका अनुसार १० मिनेटमा ९० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । यसमा भिटिएमको आवश्यकता हुँदैन । यसमा आरएनए छुट्याउनु पर्दैन । यसमा चाहिने सामानहरु सजिलै विश्व बजारमा पाइन्छ । 

नेपालमा किन यसको परीक्षण गर्ने तयारी गरिएको भन्ने विषयमा उनले भने, ‘नेपालको कानूनमा अमेरिकाको एफडीएले मान्यता दिएको वस्तुलाई नेपालमा सिधै प्रयोग गर्न सकिने व्यवस्था छ । तर, हामीले यसको प्रयोग गर्नुभन्दा पहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा परीक्षण गरेर मात्रै अन्तिम प्रयोगमा जानेछौं ।’

हालसम्म ३ सय ६० जनाको कोरोना परीक्षण क्रिस्पर प्रविधिबाट गरिएको र त्यो ९८ दशमलव ३३ प्रतिशतसम्म सफल भएको महतले बताए । आरटी पिसिआर परीक्षणमा आउने नतिजा र क्रिस्पर प्रविधिको नतिजा धेरै हसम्म मिल्ने र नेपालका लागि उपयुक्त हुने भएकाले यो प्रविधि नेपालमा प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

महतका अनुसार यस प्रविधिको प्रयोगका लागि नेपाल सरकारको कुनैपनि किसिमको आर्थिक लगानी छैन । यो अमेरिका सिलिकन भ्यालिस्थित एक च्यारिटी फाउण्डेशन, सर्लक बायो साइन्सेजको एक लाख डलर अमेरिकी सहयोग र अमेरिकी एक प्रोजेक्टको सहयोगमा नेपाल ल्याउन थालिएको हो । 

बढी भिडभाड हुने स्थान, दुर्गम क्षेत्र, विमानस्थल लगायतका स्थानमा यसको प्रयोग गर्न सहज हुने र यसका लागि ठूलो मेसिन आवश्यकता नभएकाले प्रयोगमा सहज हुने पनि उनको भनाइ छ । यसमा एक पटकमा ८ देखि १० हजार कोरोना परीक्षण गर्न सकिन्छ । 

Hamro Doctor
Last modified on 2021-01-13 17:56:07

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts