न्यौपाने दम्पत्तिको बच्चा मृत्यु प्रकरणः प्रतिवादी ग्राण्डी अस्पताललाई झिकाउन अदालतको आदेश



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, २९ पुस । काठमाडौंका सञ्जीव न्यौपाने र एकता घिमिरेले आफ्नो बच्चाको उपचारको क्रममा लापरबाही गरेको भन्दै दिएको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी (प्रतिवादी ) झिकाउने आदेश दिएको छ । मुद्दामा प्रत्यर्थी भनेको मेडिकल काउन्सिल र ग्रान्डी अस्पताल हो ।

आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै उनीहरुले ग्रान्डी इन्टरनेसनल अस्पताललाई कुनै कारबाही नगरेपछि मेडिकल काउन्सिल विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । 
 
चैतमा दिएको पुनरावलोकन  मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश बबिता उप्रेती र जगतबहादुर थापाको इजलासले काउन्सिल र ग्रान्डी अस्पताललाई झिकाउने आदेश गरेको हो ।

‘प्रस्तुत मुद्दाको मिसिल संलग्न समग्र तथ्य र प्रमाणहरूलाई अध्ययन गर्दा सुरू नेपाल मेडिकल काउन्सिलले मिति २०७६ मंसिर २३ मा गरेको निर्णय विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिंता २०७४ को दफा १४० (३) र उच्च अदालत नियमावलीको नियम ११२ को प्रयोजनार्थ  प्रत्यर्थी झिकाइ आए र अवधि व्यतित भएपछि नियमानुसार गर्नू,’ आदेशमा उल्लेख छ ।

सञ्जीव र एकताले काउन्सिल, ग्राण्डी अस्पताल, अस्पतालका निर्देशक चक्रराज पाण्डे, उपचारमा संलग्न न्यूरो सर्जन अमित थापा, रूपेन्द्रबहादुर अधिकारी, अर्थोपेडिक्स विनोद बिजुक्छेसमेत ११ जनालाई हदैसम्मको कारबाही माग गर्दै चैतमा उच्च अदालत पाटनमा गएका थिए ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा राखियो । पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको संक्रमण भयो । बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो । झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहन निको हुन नसक्ने थाहा पाएका थिए । त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्राण्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए ।

काउन्सिलले केही समयअघि न्यौपाने र घिमिरेको बच्चाको उपचार गर्दा ग्राण्डी अस्पतालले लापरबाही गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग समेत गरिसकेको थियो छ ।

Hamro Doctor
Last modified on 2021-01-13 09:44:25

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts