थाइराईड क्यान्सर निको बनाउने न्यूक्लियर मेडिसिन सेवाले जगाएको आशा



Download our app to get more features

भरतपुरस्थित चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको कुरा सर्वविदितै छ । विगत दुई हप्तादेखि यहाँ अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी (SPECT/CT) को माध्यमबाट शरीरका विभिन्न अंगहरुको गहन जाँच भइरहेको छ ।

न्युक्लियर मेडिसिन सेवा विस्तार गर्दै थेरापिउटिक न्युक्लियर मेडिसिन (न्युक्लियर मेडिसिन उपचार पद्धति) बाट सेवा दिन सुरु गरेका छौं । पहिलो चरणमा हामीले ६ जना बिरामीको उपचार गरेको छौं । यी बिरामीहरु घाँटीमा गलगाड भएका बिरामीहरु हुन् जसले वर्षौसम्म औषधि खाँदा पनि उनीहरुको रोग निको भएको थिएन । न्युक्लियर मेडिसिनबाट गरिने उपचार पद्धति जीवनमा एकपटक गरिने उपचार पद्धती हो र एकै पटकमा रोग निर्मूल पार्ने उपचार पद्धति हो । यो उपचार निकै नै सुरक्षित र स्थापित उपचार पद्धति हो । यस उपचार पद्धतिबाट थाइराइड क्यान्सर समेत पूर्णरुपमा निर्मूल पार्न सम्भव हुन्छ र बिरामी क्यान्सरमुक्त हुन्छ । हामीले उपचार सुरु गरेको पहिलो दिन नै निकै उत्साहजनक रह्यो । थाइराइडमा गलगाड आएका वा क्यान्सर भएका बिरामीको निम्ति यो एउटा ठुलो उपलब्धि हो, सिंगो नेपालको निम्ति गौरवको कुरा हो ।

नेपालको परिप्रेक्षमा धेरै बिरामीहरु दुर दराजमा रहेका छन् । यहाँ जुम्ला, मुगु, बझाङ र बाजुराबाट पनि बिरामीहरु आउने गरेका छन् । दुर दराजका बिरामीहरु यहाँसम्म आउन ३ दिन  लाग्छ । तसर्थ उनीहरुलाईे छोटो समयमा पटक पटक आउन सम्भव हुँदैन । यस्ता बिरामीहरु न्युक्लियर मेडिसिन उपचारबाट बढी लाभान्वित हुनेछन् किनभने हामीले एकैपटकमा रोग निर्मूल पार्ने उपचार गर्छौ ।

धेरै जनालाई अहिले पनि लागेको छ कि न्युक्लियर मेडिसिन उपचार पद्धति निकै महँगो पर्छ तर यर्थाथ यो हो कि न्युक्लियर मेडिसिन सेवा उपलब्ध नभएको अवस्थामा अपरेशन गर्नुपर्ने बिरामीहरु हामीले बिना अपरेशन त्यो भन्दा निकै कम खर्चमा अपरेशनको जोखिम र भवितन्य बिना अपरेशन (Complications)  नहुनेगरी सुरक्षित, स्थापित र सफल उपचार गर्छौ ।

अव बिरामीले उपचार रोज्न पाउँछन् । अपरेशनको जोखिम मोलेर उपचार गर्ने कि बिना अपरेशन गर्ने ? यो बिरामीको मौलिक अधिकार पनि हो । अन्य रोगका कारण वा बढि उमेरका कारण अपेरशन गर्न नमिल्ने बिरामीको लागि हामीले नुकिलियर मेडिसिनबाट सजिलै सफल उपचार गछौं । घाँटीमा, गलगाँड आएका बिरामीहरु (Graves disease, toxic nodule, toxic multinodular goiter)  को लागि यो पहिलो प्राथमिकताको उपचार पद्धति पनि हो । पक्कै पनि अपरेशन भन्दा निक्कै नै कम खर्चमा हामी सफल उपचार गर्छौ । थाइराइड क्यान्सरको कुरा गर्दा पनि हामीले दिने थेरापि एकै पटकमा क्यान्सर निर्मूल पार्ने थेरापि हो । तसर्थ अन्य क्यान्सरहरुमा जस्तो पटक पटक केमोथेरापि लगाउँदा लाग्ने खर्चहरु भन्दा निकै कम खर्चमा न्युक्लियर मेडिसिनबाट पूर्णरुपमा उपचार हुन्छ । हामीले प्रयोग गर्ने दबाई जुन रोग र क्यान्सरको उपचार गर्ने हो त्यहि अंगमा मात्र जाने भएकाले अन्य केमोथेरापीको जस्तो डरलाग्दो दुस्प्रभाव (Side effects) हुदैन । तर्सथ हामीले गर्ने उपचार पद्धति निकै नै सुरक्षित र स्थापित उपचार पद्धति हो । 

न्युक्लियर मेडिसिन उपचार पद्धति सुरु भएसँगै चितवन मेडिकल कलेजमा थाइराइड क्यान्सर लगायत थाइराइडको जुनसुकै रोगको पूर्णरुपमा निको पार्ने गरि सफल र स्थापित उपचार भइरहेको छ । अबको समयमा थाइराइडका कोही पनि बिरामी विदेश जानु पर्दैन । न्युक्लियर मेडिसिन उपचार सुरु भएसँगै चितवन मेडिकल कलेज, यस सेवा दिने देशकै पहिलो नमुना अस्पतालको रुपमा स्थापित भएको छ । 

(डा. पौडेल चितवन मेडिकल कलेजमा न्युक्लियर मेडिसिन विभागीय प्रमुखको रुपमा कार्यरत छन् )

Last modified on 2021-01-12 05:27:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts