काठमाडौं हेल्थ प्रोफेसनल्सद्वारा काठमाडौं उपत्यकाका ६० जना नर्सलाई सम्मान



Download our app to get more features

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाका कोभिड विशेष अस्पतालमा कार्यरत ६० जना नर्सहरुलाई सम्मान गरिएको छ ।
    
नेपाल नर्सिङ दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनल्सको आयोजना तथा नेपाल नेशनल हस्पिटल र यति हस्पिटलको समन्वयमा काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालका गरी झन्डै ६० जना नर्सहरुलाई सम्मान गरिएको छ । 

नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले नेपाल नर्सिङ दिवसको पूर्व सन्ध्यामा कोभिडको समय नर्सिङ इञ्चार्ज भई काम गर्ने तथा कोभिडको समय बिरामीको सेवा गर्नेे नर्सहरुलाई प्रसंशा स्वरुप सम्मान गरिएको बताए ।

उनले सरकारी तर्फ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति बाल अस्पताल, पाटन अस्पतालका नर्स तथा कोभिड नर्सिङ इञ्चार्जलाई सम्मान गरिएको बताए । 

यस्तै निजी तर्फ केएमसी, ह्याम्स, ग्राण्डी इन्टरनेशनल हस्पिटल, नर्भिक हस्पिट, मेडिसिटी हस्पिटल, यति हस्पिटलका नर्सहरुलाई पनि सम्मान गरिएको डा. पौडेलले जानकारी दिए ।

Rotary International District 3292 Health Comeety Chair एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नर्सहरुलाई प्रशंसा पत्र, मायाको चिनो र खादा लगाएर सम्मान गरिएको हो ।

यस्तै रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनल्सका प्रेसिडेन्ट कविता रेग्मीले कोरोना महामारीका बेला नर्सहरुले गरेको काम सराहनीय रहेको बताइन् । 

उनले कोरोना महामारीको सुरुवाती चरणमा नर्सहरुमाथि गरिएको दुव्र्यवहार दुःखद रहेको र बिरामीको सेवामा दिनरात खटिँदा पनि नर्सलाई सम्मानित दृष्टिले नहेर्दा उनीहरुको मनोबल कमजोर हुँदा यस्ता कार्यक्रमले थोरै भएपनि हौसला मिल्ने उल्लेख गरिन् ।

कोभिडको बेला मात्रै नभई अन्य समयमा पनि नर्सहरुले बिरामीको सेवामा कुनै कसर बाँकी नराखेर काम गर्दै आएको र उनीहरुको यस सेवा भावलाई सबैले उचित सम्मान गर्नुपर्ने रेग्मीको भनाइ छ ।

Last modified on 2021-01-27 20:58:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts