चितवनमा झन्डै ७ हजारले लगाए कोरोनाविरुद्धको खोप, जटिल असर कसैमा देखिएन



Download our app to get more features

चितवन, २४ माघ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो चरणमा झन्डै ७ हजार जनाले लगाएका छन् । 

जिल्लाभर सबै केन्द्रमा गरी पहिलो चरणको खोप अभियानको अन्तिम दिन शनिवारसम्म कुल छ हजार नौ सय ७३ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । खोप लगाउनेमा तीन हजार नौ सय महिला र तीन हजार ७३ जना पुरुष रहेका छन् ।

जिल्लामा दुई पटक गरी सात हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए । अब दोस्रो चरणको खोप अभियानको लागि जिल्लाबाट तथ्याङ्क मन्त्रालय पठाईएको उनले बताए । 

यहि माघ १४ गतेबाट शुरू भएको पहिलो चरणको खोप अभियान नौ दिनसम्म चल्ने भनिएपनि दुई दिन थपगरी आज (शनिवार) सम्म सञ्चालन भएको हो । खोप लगाएका मध्ये केहीमा सामान्य असर देखिएको भएपनि कसैमा पनि जटिल प्रकृतिको असर नदेखिएको तिवारीले जानकारी दिए ।

अहिलेसम्म खोप लगाएका मध्ये केहीमा सामान्य असर देखिएको भएपनि कसैमा गम्भीर प्रकारको असर नपाईएको खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको स्वास्थ्य टोलीका संयोजक डा. युवानिधि बसौलाले बताए । 

खोप लगाएका मध्ये केहीमा बान्ता आउने, ज्वरो आउने, चक्कर लाग्ने, पखाला लाग्ने, निन्द्रा नलगाउने जस्ता सामान्य लक्षण देखिएको आफुलाई जानकारी आएको संयोजक डा. बसौलाले बताए ।

चितवनमा अहिले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई खोप लगाईएको छ । सो अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक, कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलाई खोप लगाईएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । थप अन्य खोप लगाउनेमा जिल्ला कारागार भरतपुर, मानव सेवा आश्रम र वृद्धा आश्रममा रहेकाहरू समेत छन् ।

चितवनमा भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकालाई समेटेर खोप लगाईएको थियो । त्यस्तै, रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप लगाईएको थियो । माडीको बगौडा अस्पतालमा माडी नगरपालिकाभित्रकालाई खोप लगाईएको थियो । पहिले तीन वटा खोप केन्द्र तोकिएको भएपनि आवश्यकता देखिएपछि भरतपुरमा केही केन्द्र थप गरिएको थियो ।

Last modified on 2021-02-08 07:01:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts