ईयूको औषधि नियामक निकायले भन्योः अक्सफर्ड र एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी



Download our app to get more features
Spark_health_home

बीबीसी, ६ चैत । युरोपेली सङ्घ ईयूको औषधि नियामक निकाय युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले गरेको एउटा समीक्षाले अक्सफर्ड-आस्ट्राजेनेका कोभिड खोप 'सुरक्षित र प्रभावकारी' रहेको निष्कर्ष निकालेको छ।

उक्त खोप र रगत जम्ने समस्याबिच सम्बन्ध हुनसक्ने भन्ने त्रासकाबीच १३ ईयू देशहरूले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुन: सुरु गर्ने घोषणा गरेका छन् ।

स्विडेनले निर्णय लिनका लागि आफूलाई 'केही दिन' चाहिने जनाएको छ ।

ईयूको नियामकले के भन्यो ?
ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-आस्ट्राजेनेका खोप रगत जम्ने उच्च जोखिमसँग 'नजोडिएको' पाइएको हो ।

तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने उक्त निकायले जनाएको छ ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, "यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो ।"

आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने/नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन् ।

डब्ल्यूएचओको निष्कर्ष शुक्रवार आउँदै
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो ।

उक्त खोपको सुरक्षाका सम्बन्धमा शुक्रवार उसले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ ।

डब्ल्यूएचओको अनुसन्धान रगतमा असहजता देखा परेका केही घटनाहरूमा केन्द्रित थियो ।

खासगरी उसले टाउकोमा रगत जम्ने अवस्थालाई हेरेको थियो ।

युरोपमा खोप कार्यक्रमको अवस्था के छ ?
आस्ट्राजेनेका कम्पनीले ईयू र यूकेमा ८ मार्च सम्ममा १ करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ ।

उसले रगत जम्ने त्यस्ता घटनाको सङ्ख्या आम जनसङ्ख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ ।

उता फ्रेन्च प्रधानमन्त्री झँ क्यासटेक्सले बिहीवार आफ्नो देशको लागि नयाँ उपायहरू घोषणा गर्दै महामारीले स्पष्ट रूपमा तीव्रता लिएको र सङ्क्रमणको 'तेस्रो लहर' बढ्दो सम्भावना देखिएको बताएका छन् ।

अक्सफर्ड-आस्ट्राजेनेका खोपमा रोक लगाइँदा युरोपको खोप कार्यक्रमको गतिमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त भएका थिए ।

त्यसअघिदेखि नै त्यहाँ खोपको मात्रा अभावले समस्या सिर्जना गरिरहेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts