पायल्स भएकाले यस्ता खानेकुरा खानु हुँदैन...



Download our app to get more features

दिसा गर्दा रगत आउँने, मलद्वारमा मासु पलाएको, दुख्ने, सुन्निने चिलाउने लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरको झुप्पाजस्तो पलाएको छ भन्ने गरेको पनि सुनिन्छ । यो समस्या नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउँछ भने कसैलाई आउँदैन । पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, अनियमित खानपान, रक्सी आदिको सेवनका कारण पायल्स हुने गर्छ । कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेलामा नहुनु पायल्स रोगको लक्षण हुन् । 

शरीरलाई आवश्यक भन्दा बढी खाना खानु तथा जीवनशैली एकनासको नभए पायल्सले सताउन सक्छ । पाइल्स भएकाहरुले पानी प्रशस्त पिउने, हरियो सागपात खाने, फलफुल खाने, खानासँग मुला, काँक्रो, गाँजर खाने, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनियाँ, लौका खानु राम्रो हुन्छ । साथै कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने र नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया अन्तिम उपचार हो । कहिलकाही शल्यक्रिया एक पटकमा नसकिएमा दुई वा तीन पटक पनि गर्नु पर्ने हुन्छ ।  

पायल्सका बिरामीले के नगर्ने के नखाने ? 

पिरो, चिल्लो तथा मसलेदार खाना, माछामासु धेरै सेवन नगर्ने, कब्जियत गराउने खालका खानेकुरा खानु हुँदैन । 

उपचार पद्धति 
पायल्स भै सकेपछि शल्यचिकित्ससँग परामर्श लिनुपर्छ । यसलाई जाँच गरिसकेपछि ग्रेडिङ्ग गरिन्छ । ग्रेडिङ्ग अनुसार उपचार फरकफरक हुन्छ । तेस्रो ग्रेड भन्दामाथि भएमा अप्रेशन गर्नै पर्ने हुन्छ । तेस्रो भन्दा कम ग्रेड भए पनि रक्तचाप बढी भएको खण्डमा कहिलेकाही अप्रेशन नै गर्नु पर्ने हुन्छ । साधारणतया पायल्स शुरु भएको थाहा भएमा सागसब्जी बढी खाने पानी धेरै पिउने, माछा, मासु कम खाने, भारी कुराहरु नउठाउने, नियमित रुपमा दिसा गर्ने बानी बसाउनु पर्छ । पायल्स कहिलेकाही प्रोष्टेडको बिरामीसँग सम्वन्धित हुन्छ । यसो भएमा प्रोष्टेडको उपचार पनिसँगै गर्नु पर्ने हुन्छ ।

अप्रेशन कस्तो हो र कति समयमा ठिक हुन्छ ?
यो मध्यम खालको अप्रेशन हो । यो अप्रेशन दुई प्रविधिबाट गर्न सकिन्छ । नयाँ प्रविधिमा स्टाप्लरको प्रयोग हुन्छ । जुन सर्वसाधारणका लागि महंगो पर्न जान्छ । अर्को भनेको प्रचलित शल्यक्रिया पद्धति हो । जसमा दुखाई अलि बढी हुन्छ तर ६ हप्ता जतिमा राम्रोसँग निको हुन्छ र दोहोरिने संभावना निकै कम हुन्छ । अन्त्यमा, पायल्स भएर अप्रेशन गरेका बिरामीले खानेकुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ, मुख्यतया कब्जियत हुन नदिने र पानी प्रशस्त मात्रामा पिउनु पर्छ ।

Last modified on 2021-03-19 09:39:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts