नवजात शिशु मृत्युदर कम गर्न प्रदेश २ का नर्सलाई भरतपुरमा १६ दिने तालिम



Download our app to get more features
Spark_health_home

चितवन, ६ चैत । नवजात शिशु मृत्युदर घटाउन प्रदेश नंम्बर २ का नर्सलाई १६ दिने ‘नवजात शिशु स्याहार तालिम’ सुरू गरिएको छ । प्रदेश नंम्बर २ का ८ जिल्लामा कार्यरत १६ जना नर्सलाई सो तालिम दिनलागिएको हो ।

मध्य नेपालमा अवस्थित भरतपुर केन्द्रीय अस्पताल चितवनमा बिहीवारदेखि सुरू भएको सो तालिम चैत २० गतेसम्म सञ्चालन हुने अस्पतालका प्रवक्ता एवम् कार्यक्रम संयोजक वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

उनले भने, ‘प्रदेश नंम्बर २ मा शिशु मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन, शिशु मृत्युदर कम गर्न नर्सको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसकारण नवजात शिशु सघन उपचार तथा विशेष नवजात हेरचाह कक्षहरूमा कार्यरत १६ जना नर्सलाई तालिम सञ्चालन गरिएको छ।’

उनका अनुसार प्रदेश नंम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका संघीय अस्पताल, जिल्ला अस्पताल र प्रदेश अस्पतालमा कार्यरत नर्सहरू तालिममा सहभागी रहेका छन् ।

सहभागीलाई सुत्केरी अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने बारे ७ दिन सैद्धान्तिक तथा ९ दिन व्यवहारिक ज्ञान प्रदान गरिने डा. बसौलाले जनाए । उनका अनुसार तालिम लिएका नर्सले यहाँ सिकेका कुरा पछि आफू कार्यरत अस्पतालका नर्श तथा अन्य स्वास्थ्यकर्मीलाई समेत सिकाउने छन् । 

स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो तथ्याङ्क अनुसार यो प्रदेशमा प्रतिहजार जीवित जन्मेका शिशु मध्ये सरदर ३० जना नवजात शिशुको मृत्यु हुने गरेको छ । उनले देसभर भने यो सरदर २१ रहेको बताए ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नं २ का निर्देशक सरोज न्यौपानेले यो तालिमले शिशु मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला, वरिष्ठ बालरोग, नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञ डा. ओम कृष्ण पाठक, बच्चा रोग उपचार विभागका विभागिय प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. नारायण बहादुर थापा, बालरोग विशेषज्ञ डा. योगराज शर्मालगाएत विभागीय एवम् नवजात शिशु सघन उपचार कक्षका प्रमुख नर्सहरूले समेत प्रशिक्षण दिनेछन् ।

कार्यक्रम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नं २, पथलैया, बाराको आयोजनामा सञ्चालन भएको हो ।

Hamro Doctor
  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts