भारत विश्वकै पहिलो मुलुकः जहाँ एकैदिन थपिए ४ लाखभन्दा बढी सङ्क्रमित

यी हुन् मुख्य घटना



Download our app to get more features

भारत, १८ वैशाख । कोरोना महामारीका कारण भारत अहिले सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

दैनिक सङ्क्रमण दर उकालो लागेको भारतमा कोरोनाको दोस्रो चरणको लहरले अवस्था निकै भयावह बनेको छ ।

सङ्क्रमण दर बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गर्दा अस्पतालमा उपचारका लागि बेड, अक्सिजन, जनशक्ति, औषधि लगायतका कुरा अभाव हुन थालेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दरले उच्च बिन्दु नाघ्दै गर्दा बिरामीको मृत्यु हुने र भारतमा देखिएका कोरोनाले उत्पन्न दृश्यले भारतले विश्वको ध्यान आफूतिर केन्द्रीत गरेको छ ।

हालसम्मकै धेरै सङ्क्रमित एकदिनमा थपिनेमा भारत विश्वकै पहिलो मुलुक बनेको छ । गत २४ घन्टामा भारतमा ४ लाख ८ हजार ३ सय २३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो एकैदिन थपिएको विश्वकै हालसम्मकै धेरै सङ्ख्या हो । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार ५ सय २२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८ सय ३५ पुगेको छ ।

गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये महाराष्ट्रमा ६२ हजार ९ सय १९, कर्नाटकमा ४८ हजार २ सय ९६, केरलमा ३६ हजार १ सय ९९ जना रहेका छन् ।
भारतमा कोरोना सङ्क्रमण दर उकालो लाग्दै गर्दा र बिरामीको उपचारमा समस्या हुँदै गर्दा अक्सिजन अभाव र कोभिड अस्पतालमा आगलागीका घटनाले अर्को चुनौती थपेको छ ।

यसैक्रममा भारतको गुजरात राज्यस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । गुजरातस्थित भरुच शहरमा रहेको पटेल वेलफेयर अस्पतालमा बनाइएको कोभिड वार्डमा आगलागी हुँदा आईसीयूमा भर्ना भर्नाका १६ जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शुक्रबार राति साढे १२ बजेतिर अस्पतालमा आगलागी भएको र आईसीयूलाई आफ्नो चपेटामा लिएको थियो । घटनाबारे यकिन विवरण आउन भने बाँकी छ ।

यस्तै भारतमा आजबाट तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

कोरोना महामारीको दोस्रो चरणको लहरकाबीच भारतमा आजदेखि तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । आजबाट सुरु हुने कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान अन्तर्गत १८ वर्ष पूरा भएका र ४९ वर्ष ननाघेकाहरुलाई खोप लगाइने भारती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशैभर आजबाट खोप अभियान सुरु हुने भनिएपनि कोरोनाका कारण अति प्रभावित राज्यहरु उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात लगायतका राज्यमा खोप अभियान सुरु नुहने भएको छ भने केहि राज्य र शहरमा पनि खोप अभियान तत्कालका लागि स्थगित गरिएको छ । 

यसैबीच, अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

भारतमा कोरोना महामारीको दोस्रो लहरका कारण अमेरिकाले भारतको यात्रामाथि प्रतिबन्ध लगाएको हो । 

अमेरिकी व्हाइट हाउसका प्रवक्ता जेन साकीले भारतमाथिको प्रतिबन्ध ४ मेदेखि लागू हुने बताइन् । उनले कोरोना महामारीको दोस्रो चरणको लहरले भारतको अवस्था भयावह बनेको बेला यात्रा गर्दा जोखिम बढ्ने हुनाले यात्रा प्रतिबन्ध गरिएको बताइन् । तर, भारतबाट आउने व्यक्तिलाई भने अमेरिकी सरकारले निर्धारण गरेका मापदण्डको पालना गर्नुपर्ने उनले प्रष्टन पारिन् ।

साकीले प्रतिबन्धको क्रममा छुट समेत दिइएको बताइन् । उनका अनुसार यात्रा प्रतिबन्धमा छुट हुनेमा अमेरिकी नागरिक या स्थायी निवासी अथवा श्रीमान श्रीमति रहेका छन् ।

तर, उनीहरु अमेरिका प्रवेश गरेपछि कोरोनाको रिपोर्ट नेगेटिभ हुनु पर्ने छ । साथै अमेरिका आएको १ हप्तापछि पुनः कोरोना परीक्षण गर्नु पर्ने र कोरोना परीक्षण नगराउँदासम्म घरमै आफूलाई क्वारेन्टाइन गर्नुपर्ने हुनेछ ।

यसअघि, बेलायत, क्यानेडा, अस्ट्रेलिया र दुबई जस्ता मुलुकले पनि भारतमा कोरोनाको दोस्रो लहर बढेपछि भारतीय यात्रामाथि प्रतिबन्ध लगाइसकेको छ ।

Last modified on 2021-05-01 10:18:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts