चितवनमा अस्पताल भर्ना भएका सबै संक्रमित अक्सिजनको भरमाः अध्यक्ष डा. अधिकारी

संक्रमित बढेसँगै आजदेखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी



Download our app to get more features

चितवन, १७ वैशाख । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा भर्ना भएका शत प्रतिशत  कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी अक्सिजनको भरमा छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन लगाउनुपरेको छ । अझै दुःखको कुरा, हाई फ्लो अक्सिजनको सपोर्टमा समेत बिरामीले श्वासप्रश्वासमा समस्या भएको र अक्सिजन नपुगेको गुनासो गरिरहेका छन् । यस अस्पतालमा अहिले ८० जना हाराहारी बिरामी भर्ना छन् । अन्य अस्पतालमा भर्ना भएका बिरामीको पनि अवस्था यस्तै छ ।

उनका अनुसार गतकेही दिनयता दैनिक २०–२५ जनासम्म नयाँ संक्रमित यस अस्पतालमा भर्ना हुने गरेका छन् । आगामी ४८ घण्टामा पनि यही अवस्था कायम रहे, प्रसूति सेवा, आईसीयू, एनआईसीयू, अप्रेशन सेवा, पोष्टअप र डायलासिस सेवा बाहेक पुरा अस्पताल कोरोनामय हुने छ । स्वास्थ्यका सबै मापदण्ड पालना गर्न र हेल्चेक्र्र्याइ नर्गन सबैलाई अध्यक्ष डा. अधिकारीले अनुरोध गरेका छन ।

अक्सिजन पु¥याउन हम्मे हम्मे
अस्पतालमा भर्ना भएका शत प्रतिशत संक्रमित बिरामीलाई अक्सिजन दिनुपर्ने भएपछि कहिलेकाहीँ सबै बेडमा सिलिन्डर पु¥याउन हम्मे हम्मे पर्ने गरेको अस्पतालका अक्सिजन टेक्निसियन अमित अघिकारीले बताए । अस्पतालका केही बेडमा पाईप जडान गरिएका भएपनि केहीमा भने सिलिन्डर मार्फत नै अक्सिजन लानुपर्ने बाध्यता छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन अभाव हुन नदिन अस्पतालले सक्दो प्रयास गरेको जनाएको छ ।

आजदेखि निषेधाज्ञा 
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनमा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बिहीबार राति १२ देखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

आजदेखि यही ३१ गते राति १२ बजेसम्मका लागि यो निर्णय लागू गरिएको छ ।

निषेधाज्ञामा के के गर्न पाइन्छ ?
निषेधाज्ञाका बेला स्वास्थ्य, शान्ती सुरक्षा, विद्युतु, दूरसञ्चार इन्टरनेट सेवा समेत, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस तथा पेट्रोलियम पदार्थ, तरकारी फलफूल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धि सेवा तथा कार्यहरु सञ्चालन गर्न पाइने भएको छ । उद्योग तथा कलकारखानाहरुको हकमा कामदार लगायत सबैले जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्ने । कर्मचारी तथा कामदारका लागि उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्ने । त्यो सम्भव नभएमा उद्योगले नै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

एम्बुलेन्समा बिरामी बाहेक दुई जना कुरुवासमेत, शवबहान, दमकल, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारीसाधन, कुटनीतिक नियोगका सवारीसाधन, मालबहाक सवारीसाधन, निर्माण सामाग्रीका ढुवानी गर्ने साधनहरु तथा अत्यावश्यक सेवा तथा सरकारी कामका लागि प्रयोग हुने सवारीसाधनहरु सञ्चालन गर्न पाइनेछ । बैंकको एटिएम सञ्चालनमा प्रयोग हुने सवारी साधनहरु, समाचार संकलनका लागि सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनहरु, कृषि उपज तथा औजार ढुवानी गर्ने सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनहरु सञ्चालन गर्न दिइने भएको छ ।

निषेधाज्ञामा के के गर्न पाइँदैन ?
निषेधाज्ञाको क्रममा अत्यावश्यक काम बाहेक कोही घर बाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्ने, सबै प्रकारका सभा सम्मेलन गोष्ठी, सेमिनार, तालिम, जात्रा, महोत्सव सचालन गर्न नपाउने डिसीएमसीले निर्णय गरेको छ । 

त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेष्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेश सेन्टर, जिमखाना, हेल्थ क्लब, स्पा, व्युटी पार्लर, शैलुन, टेलरिङ, स्वीमिङ पुल, फुटपाथ पसल तथा सेवा तथा कार्य संचालन गर्न नपाउने, अनलाईन बाहेकका शैक्षिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, विवाह व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्न नपाइने निर्णयमा जनाइएको छ । 

घरमा सञ्चालन गर्ने यस प्रकारका कार्यक्रममा १५ जना नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नेगरी मात्र गर्न पाइने भएको छ ।

मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्थामा सवारीसाधन प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने जनाइएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने, धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने, चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा हुने सबै प्रकारका जङ्लग सफारी तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने डिसीएमसीको निर्णय छ ।

अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने, खाद्य सामग्री, तरकारी फलफूल दूध डेरी, ग्याँस पसल, पेट्रोलपम्प लगायतका अत्यावश्यक वस्तु वा सेवा आपूर्ती गर्ने बाहेक अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने जनाइएको छ ।

कोरोना लाग्न नदिन यसो गरौं
अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई विज्ञले अनुरोध गरेका छन् । उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Last modified on 2021-04-30 09:45:42

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts