भरतपुर अस्पताल सुधार संघर्ष समितिको माग पूरा, अब फार्मेसी स्टोरमा फर्मासिष्ट नै रहने



Download our app to get more features

चितवन, १ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको फार्मेसी स्टोर प्रमुखमा फर्मासिष्टनै हुनुपर्ने फर्मासिष्टहरूको माग पूरा भएको छ ।

सोही अस्पतालमा कार्यरत फर्मासिष्ट भोला अधिकारीलाई फार्मेसी स्टोर प्रमुखको जिम्मेवारी दिइएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेले जानकारी दिए । यसअघि लामो समयदेखि फार्मेसी स्टोर प्रमुखमा गैर फर्मासिष्ट रहेका थिए ।

भरतपुर अस्पताल सुधार संघर्ष समिति र अस्पताल प्रशासनबीच यहि जेठ १३ गते झन्डै २ घण्टा छलफल चलेको थियो । छलफल पछि अस्पताल प्रशासनले जेठ मसान्तसम्म माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको थियो । सोही अनुसार सोमवार सो माग सम्बोधन गरेको हो । फार्मेसी प्रमुखको जिम्मेवारी भने फर्मासिष्ट सविनराज लामिछानेलाई नै दिइएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्दै आएका संघर्ष समितिले अस्पतालको लिखित प्रतिवद्धता आएपछि केही समयका लागि आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका थिए । निर्धारित समयमा नै अस्पतालले फर्मासिष्टका यी जायज मागहरू पुरा गरेको भन्दै नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य एवम् संघर्ष समितिका संयोजक अजामिन ढकालले धन्यवाद व्यक्त गरे । 

यसैबीच, संघर्ष समितिले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल समक्ष स्थानीय निकायमा समेत फार्मेसी जनशक्तिको दरबन्दी खुलाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।

‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विश्वव्यापी नाराको अक्षरशः कार्यान्वयन गर्नुपर्ने, फार्मेसी व्यवस्थापनका लागि प्रमुख मेसु समक्ष पेश गरिएको भ्रमण अध्ययन प्रतिवेदन तत्काल लागू गर्नुपर्ने, अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा नन–फर्मासिस्ट राख्न नपाइने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मवारी तत्कालै दिनुपर्ने लगायतका विभिन्न माग राखी भरतपुर अस्पतालमा कार्यरत फर्मासिष्टहरु शान्तिपूर्ण आन्दोलनमा थिए । 

फार्मेसी सञ्चालन निर्देशिका ऐन, नीति, कार्यविधि विपरित हुने कुनै अन्य पेशाका पेशाकर्मीलाई फार्मेसी जस्तो संवेदनशिल शाखामा राख्नु गैर कानूनी रहेको उनीहरूको ठहर थियो ।

क्लिनिकल फर्मासिष्ट डा. बसेलको सरुवा

यसैबीच, फार्मेसी स्टोरमा गैर फर्मासिस्टलाई राख्नु हुँदैन भनेर अभियानमा लागेका भरतपुर अस्पतालका क्लिनिकल फर्मासिष्ट डा.शैलेश बसेललाई सरुवा समेत गरिएको छ ।

फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण धर्ना कार्यक्रमका संयोजक डा. बसेललाई सरुवा गरिएको हो । उनले आफूहरूको माग सम्बोधन भएकोमा खुशी व्यक्त गरे । आफू जहाँ रहेपनि आफ्नो पेशागत हकहितको निम्ति लागि रहने बताए । उनलाई भरतपुर अस्पताल फार्मेसीमा कार्यरत फर्मासिष्टहरूले सोमवार एक कार्यक्रमका बीच बिदाइ गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ (संशोधनसहित) बमोजिम भरतपुर अस्पतालको फार्मेसी अधिकृत सातौं तह (करार) मा कार्यरत डा.बसेललाई स्वास्थ्य सेवा विभागले कामकाजमा खटाउने गरि सरुवा गरेको हो । आफूलाई बिना जानकारी सरुवा हुँदा डा. बसेलले शंका व्यक्त गरेका छन् । सो सरुवाको अहिले पनि चौतर्फी विरोध भइरहेको छ ।

Last modified on 2021-06-15 10:21:04

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts