प्रधानमन्त्रीले आफू निकट मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रहमा बस्ने: डा.केसी

काठमाडौं, २७ जेठ । प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विरोध गरेका छन् ।
बिहीवार विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीले जबर्जस्ती भोलि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर मेडिकल कलेजलाई सम्बन्धनसम्बन्धी अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै विरोध जनाएका छन् ।
डा.केसीको जिज्ञप्तिमा प्रधानमन्त्रीको संरक्षणमा रहेका स्वघोषित डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हालै हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्कीसमेत दिएको भन्दै चिकित्सा शिक्षा आयाृगका पदाधिकारीहरुलाई समेत आक्रमण र हिंसाको धम्की दिने र घर अगाडि बम राख्नेसम्मका अपराध गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो नभएको विज्ञप्तिमा उल्लखे छ ।
आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् भन्दै डा.केसीले आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन उनले अनेक हथकण्डा अपनाएको विज्ञप्तिमा भनेका छन् ।
प्रधानमन्त्रीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण नगरेको भन्दै डा.केसीले चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने बताएका छन् ।
उनले अस्पताल सञ्चालन भए पनि शिक्षण संस्थाका रुपमा उक्त संस्थाको कानुनी अस्तित्व शुन्य रहेको र अर्कोतिर त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरुलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने पनि उल्लेख गरेका छन् ।
डा.केसीले हाल आफू द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने क्रममा रहेको र चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने नेपाल फर्कनासाथ त्यसको विरुद्ध सत्याग्रह पुनः सुरु गर्ने चेतावनी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts








































