विश्व रक्तदाता दिवस

रक्तदाताले रक्तदान गर्नु अघि के-के कुरामा ध्यान दिने ?



Download our app to get more features

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । ‘रक्तदान जीवनदान’ मूल मन्त्र अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ । रक्तदाताले रगत गरेपछि मात्रै मानिसको ज्यान जोगाउन सकिन्छ ।

रक्तदाताले रक्तदान गरेपछि कसैको जीवन जोगाउन सकिन्छ भने रक्तदातालाई रक्तदान गरेपछि विभिन्न फाइदापनि हुन्छ । 

मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमित रूपमा भइरहन्छ । त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा कुनै हानी हुँदैन । त्यसकारण पनि डाक्टरहरुले तीन÷तीन महिनाको अन्तरालमा रक्तदान गर्न सुझाव दिन्छन् । 

रक्तदाताले आफ्नो इच्छाले रक्तदान गर्न सक्छन् । त्यसका लागि रक्तदातालाई कुनै शुल्क भने तिर्नु पर्दैन । रक्तदान गर्नका लागि रक्तदान कार्यक्रम आयोजना हुँदै आएकोमा पछिल्लो समय कोरोना महामारीका कारण रक्तदान कार्यक्रम आयोजना हुन सकेको छैन । तर, रक्तदान गर्नका लागि कार्यक्रम नै आयोजना गर्नुभन्दा रेडक्रस सोसाइटी, अस्पताल, स्वास्थ्य चौकी लगायतमा गएर स्वास्थ्य सावधानी अपनाएर रक्तदान गर्न सकिन्छ ।

के-के कुरामा ध्यान दिने ?

  • रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ ।
  • रक्तदातामा मलेरिया, कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन । 
  • रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागूपदार्थ सेवन गरेको हुनुहुँदैन । रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन ।
  • रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ ।
  • गर्भवती, स्तनपान गराइरहेकी सुत्केरीको ६ महिनासम्म, महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन । 
  • रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । 
  • एकपटकमा केवल ३ सय ५० मिलिलिटर मात्र निकाल्ने गरिन्छ । जुन कुल तौलको २० औं भाग मात्र हो । रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरको तरल भागले भए पनि परिपूर्ति गर्छ । यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ ।
  • रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ । त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस खुवाउने चलन राम्रो हो ।
  • रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ । यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि कुनै थकाइ लाग्दैन । रक्तदानकै कारणले रगत कम हुँदैन ।
  • कोरोना संक्रमणपछि निको भइसकेका व्यक्तिहरुले एक महिनापछि रक्तदान गर्न मिल्छ ।

रक्तदान गरेपछि के फाइदा हुन्छ ?
हामीले गरेको रक्तदान कुनै सङ्घ/संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो । हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो । त्यसैले सबैभन्दा ठूलो उपलब्धी र आत्मसन्तोष रक्तदान गर्नु हो ।

साथै रक्तदाताहरूलाई रक्तसञ्चार सेवासंग आबद्ध सङ्घ–संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान गर्दछन् भने रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारिरीक रूपले पनि स्वस्थ रहेको शोध कार्यबाट पाइएको छ ।

Last modified on 2022-06-14 16:11:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts