नेपाली औषधिको बजार आकार बढ्यो तर हिस्सा बढेन



Download our app to get more features

नेपाली औषधिले बजारको कति प्रतिशत हिस्सा ओगटेको छ ?
नेपाली बजारको करिब आधा हिस्सा नेपालमै उत्पादन भएका औषधिले लिएको छ । ५–७ वर्षदेखि करिब ४५ प्रतिशत हिस्सा नेपाली औषधिले ओगटेको छ । अहिले पनि त्यति नै हिस्सा ओगटेको छ । यसमा खासै ठूलो प्रगति भएको जस्तो मलाई लाग्दैन । तर, बजारमा पोजेटिभ सन्देश भने गएको छ ।
समग्रमा भन्दा नेपाली औषधिको बजार निरासाजनक पनि छैन र उत्साह मान्नु पर्ने अवस्था पनि छैन् । राजनीतिक अस्थिरताले गर्दा तत्कालै धेरै आश गर्ने स्थिती पनि छैन् । बजारको साइज बढेको छ तर, नेपाली औषधिले बजार हिस्सा बढाउन नसक्दा विदेशी औषधिको आक्रमक उपस्थिती यथाबत छ । 

नेपाल आफ्नै उत्पादनको औषधिबाट कहिलेसम्म आत्मनिर्भर हुन सक्ला ?
आत्मनिर्भर हुनको लागि नेपाली औषधि उद्योगले चाहेर मात्र हुँदैन । यो नीतिगत तहको कुरा हो । जबसम्म राजनीतिक नेतृत्वमा देशमा औषधि उद्योग जरुरत छ, यसले रोगजारी श्रृजना गर्छ, कर तिर्छ, समृद्ध बनाउँछ र पैसा बिदेशीनबाट रोक्छ भन्ने चेतना आउँदैन तबसम्म आत्मनिर्भर हुँदैनौं । अहिलेसम्म राजनीतिक नेतृत्वमा सत्ता चलखेल बाहेक अन्य केही भएको छैन । विकास भन्ना साथ ठूलो उद्योग व्यवसायको कुरा आउँछ । स्वास्थ्य क्षेत्र उनीहरूको प्राथमिकता मै छैन । त्यसैले अन्योलपूर्ण स्थिती छ । कहिलेसम्म आत्मनिर्भर हुन्छौं भन्ने एकिन छैन । सरकारले कस्तो नीति ल्याउँछ भन्ने कुराले अ‍ेपाली औषधि उद्योग आत्मनिर्भर हुने नहुने निर्देशित गर्छ । सरकारले हाल ३० प्रकारका विदेश औषधि रोक्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन हुने हो भने हाम्रो बजार हिस्ता ४५ बाट ५० प्रतिशतमा तुरुन्तै उक्लन्छ । 

३० प्रकारका बिदेशी औषधि नआए पनि नेपाली कम्पनीले धान्न सक्छन् ? 
सहजै सक्छन् । ती ३० प्रकारका औषधि सामान्य औषधि हुन् । जस्तै प्यारासिटामोल, एन्टिबायोटिक, रुघाखोकीलगायतका औषधि हुन् । तर, आयात बन्द गर्न खोजेको औषधि के के हुन् सरकारले सार्वजनिक गरेको छैन् । नेपाली उद्योलले ती औषधिको क्षमताले धान्न सक्छ । अहिले भएकै उद्योगले पुरा गर्न सक्छौ । यसमा हामी स्पष्ट छौं ।

कस्ता प्रकारका औषधिमा परनिर्भर हुनु परेको छ ?
सामान्य खालका औषधिहरूमा हामी आत्मनिर्भर भइसकेका छौं । सरकारको तर्फबाट हामीले संरक्षण मात्रै खोजेका हौं । तर, जटिल खालका औषधि जस्तंै भ्याक्सिन, क्यान्सरसँग सम्बन्धी, एन्टिभाइरल औषधिमा परनिर्भर हुनु परेको छ । सामान्यतया ठूलो मात्रामा प्रयोग हुने औषधिमा आत्मनिर्भर भइसकेका छौं ।
 
जटिल प्रकारका औषधिमा आत्मनिर्भर हुने सम्भावना कत्तिको छ ?
अहिले टेक्नोलोजीका कारण हामी धेरै अगाडी बढिसकेका छौं । कुनै बेला अमेरिकामा बनेको औषधि नेपाल आइपुग्न २० वर्ष लाग्थ्यो । तर, अहिले ट्रान्सपोर्ट छिटो छ ।
विश्वमा सबैभन्दा धेरै औषधि खपत भारत र चीनमा हुन्छ । उनीहरूले संसारभर बजार फैलाएका पनि छ । त्यसैले चीन र भारतमा औषधि उत्पादनमा प्रयोग भएका प्रविधी नेपालमा ल्याउन नसक्ने भन्ने होइन । प्रविधीका साथसाथै जनशक्ति पनि ल्याउन सक्छांै । तर यो सबैमा सरकारले ल्याउने नीतिमा भर पर्छ । औषधि उद्योगका लागि निश्चित क्षेत्र तोकेर योजनाबद्ध रुपमा अघि बढे जटिल औषधि उत्पादन गर्न पनि सकिन्छ । तर सरकारले वातावरण श्रृजना गरिदिनु पर्छ । 
नेपालमा सम्भावना धेरै छ । नेपाल, भारत र चीन बिचमा ‘ल्याण्ड लक’ भएर बसेको छ । ‘ल्याण्ड लक’ मात्रै होइन ‘ल्याण्ड लिंक’ पनि हुनुपर्छ । नेपाल विश्वको दुई ठूला अर्थतन्त्र भएको देशसँग सिधा जोडिएको छ । त्यसैले नेपालमा खाँचो भिजनको मात्रै हो । ‘एन्टी स्नेक भेनम’ को भारतमा नै ठूलो बजार छ । उसले बनाउन सकिरहेको छैन । त्यसको एउटा यूनिट नेपालमा भए भारत र चीनमा पठाउन सकिन्छ । सरकारले निजी क्षेत्रलाई यसको जिम्मा दिए गर्न सक्षम छ । 
जटिल प्रकारका २–४ प्रतिशत औषधि नेपालमा उत्पादन गर्न नसकिएला । अरू सबै औषधि नेपालमै उत्पादन गर्न सकिन्छ । तर, यो सबै सरकारले बनाउने नीतिमा भर पर्छ ।
 
बजार सानो तर लगानी ठूलो गर्नुपर्ने हुँदा सरकार डराएको त होइन ?
होइन । होइन । एन्टी स्नेक भेनम नेपालमा उत्पादन गर्ने हो भने त्यो नेपालको लागि मात्रै हुँदैन । यसको माग संसारभर छ । यो निर्यात गर्ने सकिने औषधि हो । हामीले नेपाली बजारलाई मात्रै लक्षित गरेर औषधि बनाउने होइन । नेपाल भित्रका लागि मात्रै उत्पादन गर्न यहाँका औषधि उद्योगले फड्को मार्ने स्थिती छैन । त्यसैले हामीले संसारको बजार ताकेर उत्पादन सुरु गर्नु पर्छ । सानो बजारमा पनि सरकारको सहयोग रहेमा यहि बजारमा राम्रो रोजगारी श्रृजना गर्न सक्छौं । औषधि व्यवस्था विभागको भूमिका पनि उद्योगलाई सहयोग गर्ने किसिमको छैन ।  

औषधि बनाउन आवश्यक कच्चा पदार्थको सम्भावना नेपालमा कस्तो छ ? 
नेपालमा यसको प्रचुर सम्भावना छ । औषधिका लागि आवश्यक कच्चा पदार्थ नेपालमा धेरै छ । औषधिका लागि अबश्यक कच्चा पदार्थ संकलन र उत्पादन बढाउन पनि सकिन्छ । 

म्याग्नस फर्माका उत्पादनको बजार कस्तो छ ?
म्याग्नस फर्माको लक्ष नै भारतसहित अन्य देशबाट आयात भएका औषधि उत्पादन गर्ने हो । नेपालमा पहिले नै उत्पादन भइरहेका औषधि उत्पादन हाम्रो प्राथमिकतामा छैन । नेपालमा उत्पादन नै नभएका औषधि उत्पादन गर्दै आएका छौं । हाम्रा ८० प्रतिशत उत्पादन नेपालमा पहिलो पटक उत्पादन भएका छन् । गुणस्तरको कुरा गर्दा ७-८ वर्षमा बजारमा काम गरे अनुसार ७५ वटै जिल्लाका चिकित्सकहरुले म्याग्नसका औषधिहरू ढुक्कसँग सिफारिस गर्न थाल्नु भएको छ । यसबाट पनि स्पष्ट हुन्छ की म्याग्नसका उत्पादन गुणस्तरी छन भनेर ।  नेपाललाई आफ्नै उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ हामी लागि परेका छौं । नयाँ नयाँ औषधि बनाउने कोशिस गरिरहेका छांै । छिट्टै ५०-६० करोडको नयाँ प्रोजेक्ट पनि सुरु गर्दैछौं । देशको अवस्था राम्रो नभए पनि हामी लागि रहेका छौं । 

Last modified on 2017-09-13 17:44:17

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts