‘दबाब आए पनि म सन्तुलित हुनेछु’



Download our app to get more features

नेपाल मेडिकल काउन्सिलले केही समयअघि नव निर्वाचित पदाधिकारी पाएको छ । तर, अहिले देशभरी प्रदेशसभा र प्रतिनिधिसभामा बाम गठबन्धनले जित हासिल गरेको छ । जसको असर मेडिकल काउन्सिलमा पनि समयक्रममा देखिएला । देशमा बाम सरकार बन्ने तरखरमा केही समयअघि काँग्रेस पक्षधर डा. नारायण विक्रम थापा काउन्सिलका उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रस्तुत छ काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष डा. थापासँग केही समयअघि हाम्रो डाक्टरले गरेको कुराकानी ।
 

काउन्सिलमा आएपछि कस्तो अनुभव गरिरहनु भएको छ । प्रतिबद्धता अनुसार काम सुरु गर्नु भयो त ?

चुनाव जित्नु अघि काउन्सिल बारे जे जति बुझेको थिए र यहाँ आएपछि फरक पाए । तर पनि म विचलित छैन । जे गर्छु भनेर आएको थिए त्यो सुरुवात गरिसकेको छु । यहाँ समूहमा काम गर्नु पर्ने भएकाले मैंले उठाएका एजेन्डा र मेरो मात्रै चाहना अनुसार काम नहुनु स्वभाविक हो । म नयाँ भएकाले पनि काउन्सिलको काम कारर्बाहीबारे बुझ्न अझै आवश्यक ठानेको छु । पहिले जे जति बुझेको थिए त्यो पर्याप्त नभएको अहिले अनुभव भइरहेको छ । सरकारद्वारा मनोनित पदाधिकारीहरूमा पनि केही राम्रो गरौं भन्ने भावना पाएको छु । त्यसैले उहाँहरूसँग मिलेर काम गर्ने हौसला मिलेको छ । सुरु देखि नै निरन्तर बैठकमा सहभागि भइरहेको छु । मैले चुनाव जित्नु अघि काउन्सिल निस्कृय छ भन्ने सुनेको थिए । अब सबै पदाधिकारी मिलेर सक्रियताका साथ काम गर्नुपर्छ भन्ने ठानेको छु । राम्रो काम गर्न सबैमा सकारात्मक भावनाको विकास हुनु जरुरी छ । सबै परिवर्तन एकै पटक हुँदैन । तर, परिर्वतनका लागि जग बसाल्न सकियो भने पनि उपलब्धीको रुपमा लिनेछु । 

चुनावका बेला चिकित्सकले गुणस्तरीय सेवा दिनबाट चुकेको र नियमनकारी निकाय भ्रष्टचारमा डुबेका छ भन्नु भएको थियो । त्यसलाई सुधार गर्न मलाई जिताउनु होला भन्नु भएको थियो । सुधारका काम अघि बढ्यो त ?

जनतामा ग्ुाणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि हामी लाग्नै पर्छ । त्यसमा मेरो भूमिका पनि अहम हुनेछ र आवाज उठाउन थालिसकेको छु । गुणस्तरीय स्वास्थ्य सेवाका लागि चिकित्सक बन्ने पहिलो चरणदेखि बिरामीले कस्तो सेवा पाए भन्ने विषयमाथि काउन्सिलले नियमन गर्नुपर्छ । स्वदेश र विदेशका मेडिकल कलेजहरूको शिक्षा, लाइसेन्सिङ परीक्षा जस्ता विषय गम्भीरतापूर्वक हेरिनु पर्छ । यस्तै स्वास्थ्य सेवा कस्तो छ र कसरी प्रवाह भइरहेको छ भन्ने अनुगमन गर्न र दोषी पत्ता लगाउन काउन्सिलको इथिलक कमिटिलाई अझै सक्रिय बनाउने हाम्रो योजना छ । सामान्य सेवा लिँन पनि उपभोक्ताले धेरैै नै दुःख पाएका छन् । म त्यस विषयमा गम्भीर छु । वास्तवमै मंैले चुनावका बेला भ्रष्टाचारको कुरा पनि उठाएको थिए । भ्रष्टाचार प्रत्यक्ष रुपमा देखिने कुरा होइन । त्यो विषयमा हामी सबै निर्वाचित पदाधिकारीहरू सजक भएर काउन्सिलका सबै काम कारर्बाही नजिकबाट निहाल्न थालिसकेका छौं । 

काउन्सिलका पदाधिकारी मध्ये पारदर्शी भएर काम गर्ने निकै थोरै हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ । तपार्इं पारदर्शी बन्नु हुन्छ भन्ने आधार के छ ? 

मैले चुनावको बेलामा नै भनेको थिए सबैभन्दा पहिले म नै पारदर्शी भएर काम गर्नेछु । म पादरर्शी भएर मात्र समस्या समाधान हुँदैन । कसैको कामको शंका लाग्नसाथ म त्यसविरुद्ध उभिने छु । जुन आगामी दिनमा देखिने नै छ । यस्तो विषयमा तत्कालै परिवर्तन आउँदैन । यो काम एक जनाले मात्रै परिवर्तन गर्न सकिन्न । यहाँ समूह खडा भएको छ । त्यो काम समूहले गर्ने हो । 

चिकित्सा शिक्षाको गुणस्तरमाथि ठूलो प्रश्न छ । विशेषगरी निजी मेडिकल कलेजले यसलाई व्यापार बनाएका छन् । यो समस्या समाधानमा तपार्इंको कस्तो भूमिका हुनेछ ? 

वास्तवमै नेपालमा यो समस्या विकराल बन्दैछ । चिकित्सा शिक्षाको स्तर राम्रो हुनुपर्छ । त्यसमा कुनै शंका नै छैन । तर, नेपालमा सबै कलेजले स्तरीय शिक्षामा ध्यान दिन सकेका छैनन । उनीहरूका पनि आफ्नै खाले बाध्यता होलान । मेडिकल कलेजको पूर्वाधार र सिटको विषयमा विवाद छ । यस विषयमा सबैभन्दा धेरै चलखेल भयो भन्ने आरोप छ । प्राडा गोविन्द केसीका कारण चिकित्सा शिक्षा अध्यादेश सरकारले अनुमोदन गरेको छ । यदि उक्त अध्यादेश कार्यान्वयन भयो भने चिकित्सा शिक्षा आयोग बन्ने छ । र, त्यसले  मेडिकल कलेजको सिट निर्धारण लगायतको अधिकार पाउनेछ । त्यसपछि काउन्सिलले त्यो काममा हात हालिरहनु पर्दैन र आफ्नो मुख्य काममा ध्यान दिन पाउनेछ । पहिले पहिले मेडिकल कलेजमा सिट दिने आधारहरू त्यति वैज्ञानिक थिएन । अहिले वैज्ञानिक बनाइदै गइएको छ । 

काउन्सिलका सदस्यहरू नै काउन्सिल भित्रको काम पनि निकै झन्झटिलो छ भन्छन् । सुधारका लागि के गर्नु पर्छ ?

उनीहरूको गुनासो एकदमै सही छ । काउन्सिलका धेरै काममा सुधारको आवश्यक छ । सबैभन्दा पहिले काउन्सिलको कामलाई ‘पेपरलेस’ बनाउने योजना बनाएका छांै । त्यसका लागि बहस र छलफल भइरहेका छन् । सानो कामका लागि सेवाग्राहीले दुःख नपाउन भन्ने हाम्रो उद्देश्य हो । लाइसेन्सिङ परीक्षा पनि अझै सशक्त रुपमा अघि बढाउने योजना छ । अनलाइन सिस्टममा काम गर्ने गरी हामीले तयारी थालेका छौं । 

चुनाव अघि तपाईंले चिकित्सकको गुमेको शाख फिर्ता गर्न लागि पर्नेछु भन्नु भएको थियो । त्यो काम कसरी गर्नु हुन्छ ?

नेपालमा चिकित्सकको शाख गुम्न थालेको मलार्इं पहिले देखि नै अनुभव भएको हो । करिब २० वर्ष पहिले मैले चिकित्सा सेवा सुरु गर्दा हामीहरूलाई हेर्ने दृष्टिकोण निकै सकारात्मक थियो । चिकित्सकको कामलाई सम्मान गर्नुपर्छ भन्ने आमनागरिकको धारणा थियो । पछिल्ला दिनमा चिकित्सकको संख्या पनि बढेको छ । त्यो सँगै चिकित्सकले आफ्नो आचार संहिता भुलेको पाइन्छ । म चित्सिक हुँ र मेरो पहिलो प्राथमिकता सेवा गर्ने हो भन्ने कुरा कता कता उनीहरुले भुलेको अनुभव भएको छ । र यो जनगुनासो पनि हो । यो गुनासो मेट्ने काम काउन्सिलको हो । काउन्सिलमा अब हामी पनि छौं । हामी सक्रियताका साथ अघि बढ्नु पर्ने छ । आचारसंहिता कार्यान्वयन गर्न सक्यौं भने धेरै हदसम्म यस्ता गुनासा हट्नेछन् । 

काउन्सिलले आफ्नो दायरा भन्दा बाहिर गएर काम गर्छ भन्ने आरोप छ ? किन यस्तो भएको होला ?

वास्तव मै काउन्सिलले दायरा नघेको पक्कै हो । जुन लुकाउनु पर्दैन । अबका दिनमा त्यस्तो काम काउन्सिलबाट हुनु भएन भन्ने मेरो मान्यता हो । त्यसमा म लगायत निर्वाचित र मनोनित पदाधिकारी सबै होसियार हुनुपर्छ । गलत काम भयो भने त्यसविरुद्ध बोल्न पनि सक्नुपर्छ । आजको दिनमा तपार्इं मलाई सोध्न आउनु भयो भने भोलिका दिनमा मैले कुनै समस्या देखँे भने त्यसबारे तपाईलाई उजागर गर्न लगाउँने छु । आफुले मात्र राम्रो काम गरेर हुन्न, अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्नुपर्छ र नगर्नेको विरोध पनि गर्न सक्नु पर्छ । सूचना र सञ्चारको सबैभन्दा ठूलो महत्व छ । सूचना प्रवाहमा काउन्सिल त्यति सक्रिय छैन । सूचना प्रवाहमा कमजोर हुँदा यहाँ भएका कतिपय राम्रा काम पनि मानिसले थाहा पाउन सकेका छैनन् । 

चिकित्सकले आचार संहितालाई बेवास्ता गर्दा उनीहरू र बिरामीबीच अविश्वासको वातावरण बढ्दै गएको पाइन्छ । त्यसलाई कसरी कम गर्ने ? 

आचार संहिता पालना गर्ने विषयमा चिकित्सक आफै पनि संवदेनशील नभएको पाइन्छ । यसको अर्थ सबै चिकित्सक खराब छन् भन्न खोजेको होइन । आफ्नो पेशाको धर्म विपरित काम गर्नेहरू बढेका छन् । आफ्नो ज्ञान र सीप भन्दा बाहिरको काम गरेर कमाउने चिकित्सक पनि छन् । उनीहरूलाई नैतिक शिक्षा दिनुपर्ने देखिन्छ । आचार संहिता पालना गर्न बाध्यकारी बनाउने काम काउन्सिलबाट हुनुपर्छ । त्यसमा काउन्सिलले ध्यान दिन नसकेको पक्कै हो । सेवाग्राहीले पनि आफुलाई परेको समस्याबारे काउन्सिलमा उजुरी दिँदैनन र उजुरी दिनुपर्छ भन्ने  धेरैलाई थाहा पनि छैन । चिकित्सकको संस्थाले चिकित्सकलाई जोगाउँछ भनेर पनि कतिपय सेवाग्राही काउन्सिलमा उजुरी नदिएर क्षतिपूर्तिका लागि अन्य  निकायमा जाने गर्छन । 

मेडिकल कलेज र काउन्सिलको साँठगाँठमा भ्रष्टाचार हुने गरेका घटना बाहिर आएका छन् । तपार्इं पनि निजी मेडिकल कलेजमा काम गरिरहेका बेला काउन्सिलको उपाध्यक्ष बन्नु भएको छ । आफ्नो अनकुलको काम गराउन दबाब त आउन थाल्यो होला ?

काउन्सिलमा भ्रष्टाचार हुन्छ भन्ने मेलंै पनि सुनेको हो । तर, मंैले अब बोल्नका लागि प्रमाण पनि जुटाउनु पर्छ । म यसमा सचेत छु । चुनाव जितेर आएकाले आफ्नो हितमा काम गरिदिनुहोस् भन्ने दबाब त आउँछ नै त्यो स्वभाविक पनि हो । भोट दिँदा सबैले एउटा न एउटा आकांक्षा राखेका हुन्छन् । त्यो पुरा होस् भन्ने चाहना उनीहरूको हुन्छ । तर, त्यो दबाब भन्दा माथि उठेर मंैले सन्तुलित भएर काम गर्नुपर्छ र त्यसमा म प्रतिबद्ध छु । अर्को कुरा म निजी क्षेत्रमा काम गर्छु तर कसैको नोकर नभई कामदार चिकित्सकका रुपमा काम गरिहेको छु । मेरो आफ्नै  विचार, सिद्धान्त र स्वाभिमान पनि छ । म गलतलाई गलत र सहीलाई सही भन्न सक्छु् । त्यसमा मलाई कुनै डर छैन । त्यसैले म राम्रो काम गर्न जहाँ बसेर पनि सक्छु । काउन्सिलको हित विपरित मैले कुनै पनि काम गर्ने छैन र अरुलाई पनि गर्न दिने छैन । 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2017-12-17 09:18:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts