बाध्यतामा इण्डोक्राइनोलोजिष्ट बनेका विशेषज्ञ



Download our app to get more features

फूटबल र क्रिकेटका सौखिन डा. अंशुमाली जोशी पछिल्लो समय मधुमेह उपचारका लागि चलेको नाम हो । कार्डियोलोजी, न्यूरोलोजी वा साइक्याट्रीको डाक्टर बन्ने धुनमा पढाई थालेका डा. जोशीको अगाडी आज इन्डोक्राइनोलोजिष्ट थपिएको छ । इण्डोक्राइनोलोजी अर्थात हर्मोनको विशेषज्ञता । सन् २००७ मा त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट इन्टरनल मेडीसिनमा एमडी गरिसकेपछि डा. जोशीलाई कार्डियोलोजिष्ट बन्ने हुट्हुटी चल्यो । उनले एमडी गर्दागर्दै सँगैका साथी डा. ओममूर्ति अनिलले भारतको अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा डिएम कार्डियोलोजीमा नाम निकाले । देखासेखी मै उनले पनि सो इन्स्टिच्यूटमा आवेदन दिए । तर उनले कार्डियोलोजी अर्थात मुटु विशेषज्ञ अध्ययन गर्न पाएनन् । कार्डियोलोजी पढ्न नपाएपछि इन्डोक्राइनोलोजी पढ्नु पर्ने बाध्यता भयो । नपढौं भने त्यत्रो दुःख गरेर निकालेको नाम । पढ्नलाई कार्डियोलोजीको कोटा छैन । दोधारमा परेका जोशीले अन्त्यमा इन्डोक्राइनोलोजी नै पढ्ने निर्णय गरे । उनले भने ‘मलार्इं फिजिसियन हुनु थियो सर्जन होइन । बिरामीलाई परामर्श दिनुमा मलाई बढी खुशी मिल्छ ।’ 

विवाहले धकेलियो पढाई
२०६० सालमा डा. जोशीको विवाह भयो । पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबीबीएस सकेका उनको विवाहकै कारण इन्टरनल मेडिसिन पढाइ सुरु गर्न एकवर्ष ढिला भइसकेको थियो । काठमाण्डौकी सिर्जना कर्माचार्य (आँखारोग विशेषज्ञ) सँग विवाह बन्धनमा बाँधिएका डा. जोशीको आइओएममा काउन्सिलिङ छुटेका कारण पढाई एक वर्ष ढिला भएको रहेछ । काउन्सिलिङको अघिल्लो दिन पोखरामा आफ्नै विवाहको रिसेप्सन भएकाले भोलिपल्ट १० बजेको प्लेनमार्फत काठमाडांै काउन्सिलिङमा आउने सुरमा थिए । तर, अन्तिम समयमा उडान रद्द भइदियो । जसले गर्दा एक साल पढाइ ढिला भयो । 

फेरी पनि दोधारमा हुँदा समय खेर जाने देखेपछि जोशीले एम्समा पाएको सिटमा इण्डोक्राइनोलोजीमा डीएमको पढाई थाले । आफ्नो उद्देश्य अनुरुप नभए पनि उनको विस्तारै इण्डोक्राइनोलोजीमा ‘प्रेम’ बस्यो । ‘त्यो बेलासम्म पनि इण्डोक्राइनोलोजी भने पछि मधुमेह र थाइराइडको मात्र उपचार गर्ने डाक्टर भनेर बुझिन्थ्यो । मलाई पनि त्यसै लागेको थियो । तर, हर्मोन सम्बन्धी रोगको पढाइ हुने इण्डोक्राइनोलोजी त अथाहा रहेछ ।’ जोशीले अनुभव सुनाए । 

सन् २०११ मा डीएम सक्काउँदासम्म डा. जोशीले उपचार मात्र होइन । बिरामीलाई परामर्श गर्ने तरिकासम्म सबै सिके, भोगे, अभ्यास गरे । जसको प्रतिफल आज प्राक्टिस थालेको पाँच वर्षमै ७५ जिल्लाबाट बिरामी उनीसम्म आइपुगेका छन् । इण्डोक्राइन डाक्टरले मधुमेह र थाइराइडमात्र नभएर उचाइ कम वा बढी हुने, महिनावारी तथा प्रजनन सम्बन्धी समस्या, निःसन्तानपन, प्याराथाइइराइड, हड्डी सम्बन्धी डिसअर्डरको पनिउ पचार गर्छन भन्ने जानकारी विस्तारै मानिसमा पुग्दँैछ । 

हिजोआज त बिरामीहरू धरै हदसम्म जानकार भएर विशेषज्ञ नै खोज्न थालेका छन् । त्यसो त नेपालका सबै मधुमेहका बिरामीलाई इण्डोक्राइनोजीका डाक्टरले हेरेर भ्याउने अवस्थ छैन । हर्मोन विशेषज्ञको नै पढाइ गरेका डाक्टर त जम्मा ६० जनाको हाराहारीमा होला । 

बसाइसराइ, बढ्दो शहरीकरण र परिवर्तित जीवनशैलीका कारण हिजोआज प्रायः हरेक घरमा मधुमेहका रोगी भेटिन्छन् । त्यसमाथि मधेमेह निर्मुल हुने समस्या होइन । रोकथामात्मक मात्रै यसको उपाय हो । विश्वभर र नेपालमा पनि मधुमेहीको संख्या दिनप्रतिदिन बढिरहँदा डा. जोशीलाई भ्याइनभ्याई हुने नै भयो । मधुमेहको उपचार टिमवर्क भएको डा. जोशीले बताए । ‘बिरामी र समस्याको जटिलता अनुसार यसमा टिमवर्क चाहिन्छ । जस्तंै, न्यूरो, अर्थोपेडिक, इएनटी सर्जन, डाइटिसियन, अप्थाल्मोलोजिष्ट, गाइनोको पनि साथ चाहिन्छ ।’ उनले थपे । 

ल्याबका कारण गुणस्तरी उपचारमा चुनौति 
डा. जोशी पछिल्लो समय च्याउ जसरी खुलेका ल्याबहरूबाट असन्तुष्ट छन् । उनले ल्याबमा सुधारको आवश्यक्ता औंल्याए । एउटै नमूनाको फरक फरक ल्याबमा फरकफरक रिपोर्ट आउँछ । यसलाई समाधान गर्न राज्यले कडा निर्देशिका लागू गर्नुपर्यो । गुणस्तरी जाँचलाई प्रत्याभूत गर्न उनको सुझाब छ । ल्याब रिपोर्ट गलत हुँदा उपचार नै गलत हुने हुन्छ । 

आफ्नै स्वास्थ्य
दिनहँु दर्जनौं बिरामीलाई नियमित व्यायाम, गुणस्तरी भोजन र तनाव व्यवस्थापनको परामर्श दिने जोशी आफंै पनि फिट एण्ड फाइन छन् । ‘मैंले आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेको छु ।’ उनले भने । उनले हरेक दिन व्यायाम र सन्तुलित भोजन गर्ने गरेको दावी गरे । 

सुझाब
डा. जोशी काठमाडांै बाहेक महिनाको एक पटक जन्मथलो पोखरा र तीन महिनामा एक पटक पुख्र्यौली थलो झापासम्म बिरामी जाँच्न पुग्छन् । मधुमेहको गुणस्तरीय उपचारका लागि उनी मुलुकका हरेक क्षेत्रमा पुग्न कोशिस गर्ने बताउँछन् । यसका लागि उनले ग्रामीण तहसम्म बसेर काम गर्ने एमबीबीएस चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मधुमेह उपचार र रोकथामका विषयमा व्यापक तालिमको आवश्यत्ता रहेको बताए । 

मधुमेहको समयमै सही उपचार नपाउँनुमा रेफरल प्रणाली पनि सुधार्नु पर्ने उनको सुझाब छ । ‘स्लो पोइजन’का रुपमा लाखौंको ज्यान लिइरहेको मधुमेह रोकथामका लागि राज्यले नै ठोस कार्यदिशा लिनुपर्ने डा. जोशीको सुझाब छ । 


(हाम्रो डक्टर मासिक पत्रिकाबाट)
 

Last modified on 2018-01-06 17:44:49

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Jhapa kaha aaunu hunxa , address Pau na


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts