डा. केसी र आमाको मौन सम्वादः बरु जाउ आमा रोप एकबोट तुलसी...



Download our app to get more features

एकाबिहानै समाचार आयो डा. केसीलाई भेट्न उनकी वृद्ध आमा शिक्षण अस्पताल पुगिन् । मौनतामै उनीहरु केहिछिन संवाद गरे । अनशनस्थलमा सन्नाटा छाउने गरि त्यो मौनता गर्जियो । त्यही मौनतामा भयो एउटा मातृपुत्र संवाद । एउटा गर्विलो र ममतापूर्ण संवाद । 
मनमनै आमैले भनिन्– कस्तो छ बाबु तलाई ? के का लागि आफ्नै ज्यान फाल्न लागिस् छोरा ? सबैले पागल भन्छन् तलाई के तँ पागल नै भएको होस् ? किन पौंठेजोरी खेल्छस् भोकभोकै यी शासकहरुसँग ? म मर्न लागि हालें तेरो पनि कतिदिन होला, नातिनातिना पनि छैनन् तेरो कीर्ति देख्न र जोगाउनलाई, भो छाड्दे छोरा यो अनकन्टार बाटो हिँड्न । 

सरकार, सत्ता र शक्तिका हुंकार अगाडि कहिल्यै कमजोर नदेखिएका फकिर डा. केसी आमाको ममता अगाडि मन थाम्नै नसकेर केही बूँद आँसुका कणहरु खेलाउँदै मौनतामै बोले – खोई आमा यहाँ दिनानुदिन एउटा सलाईनको बोत्तल नपाएर कतिले ज्यान फाले, एक पोका रगत नभएर कति आमाले सन्तान देख्न पाएनन्, कति सन्तानले आमा भन्न पाएनन् । अझै दूरदराजमा कति त हो कति नेपालीले डाक्टरै देख्नै नपाएर चोला फेरेका छन् । मेरो ज्यानको के पीर गर्छौ आमा ? न त मैले तिम्लाई पैसाको बिटो दिनसकें, न तिमीलाई तीर्थ डुलाउन सकें ? न, बुढेसकालमा सुसार गरिदिने बुहारी दिनसकें न त बुढ्यौलीको सन्नाटा बिर्साउने नाति नातिनाका शैशवधून दिनसकें । भो आमा तिमी ती आँशुहरुलाई भित्रै दबाऊ । २४ दिनदेखि नखाँदाको भन्दा बढि पीडा मलाई तिम्रा आँशुको गिरावटले दिन्छ । नगिराऊ एक बूँद आँशुपनि आमा । यहाँ तिम्रो हाम्रो आँशुहरु कुल्चने बूटहरुले परेड खेल्छन् । हाम्रा भावनाहरु मथि मजाक उडाउँछन् झण्डा बोकेका दस्ताहरुले । मेरो सत्यपथलाई पागलपन भन्छन्, मेरो इमान्दारितालाई हठ भन्छन् । शक्ति र सत्ताका प्याला पिएका र तिनको छिटालाई गंगाजल सम्झेर चाट्नेहरुले भोलि तिम्रो ममता र आँशुलाई पनि ढोंग भन्न बेर छैन । त्यसैले नदेखाउ तिम्रा भिजेका परेला ।  

आमा, बरु घर जाउ र रोप एकबोट तुलसी । आज हरिशयनी एकादशी । आज सुतेका हरि त हरिबोधनी एकादशीका दिन उठ्नेछन् पक्कै । तर, मेरो भर छैन आमा । म नउठ्न पनि सक्छु । मलाई उठ्नै नदिन शासकहरु षडयन्त्र बुन्दैछन् । त्यसैले मेरो सुर्ता छाड र घर जाऊ । 
हो, मैले म जन्मिएको दैलोमा पाउजुको आवाज गुञ्जाउन सकिनँ आमा, तर, म मुलुकका हरेक दैलोमा बज्ने पाउजुहरुको ममता ग्यारेन्टी गर्ने महाअभियानमा छु । जन्मने हरेक शिशुहरुले बिना भेदभाव खोप, पोषण र उपचार पाउने अवस्था बनाउने दौडमा तल्लिन छु । गाउँगाउँ गरिबका झुपडीमा गएर असहायहरुको नाडी छाम्ने डाक्टर बनाउने सपना बोकेर हिँडेको छु । पैसाका बिटो र सत्ताको मात अगाडी मेरो निराहार व्रत कतिदिन टिक्छ त मलाई थाहा छैन आमा तर, म नटिकेपनि मेरा सपनाहरुका लागि लड्ने सयौं गोविन्द केसी जाग्नेछन् र भत्काउनेछन् शासकहरुले बनाएका सिंगमरमरका किल्ला र लेख्नेछन् शिलामा यो देशमा गरिबले पनि डाक्टर बन्न पाउँछ र गरिबले पनि ओखतिमूलो पाउँछ ।  

त्यसैले, घर जाऊ र रोप एक बोट तुलसी र बिहे गराइदेउ हरिबोधनी एकादशीमा म सम्झिएर ।

Last modified on 2018-07-24 12:34:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts