डाक्टर–बिरामी सम्बन्ध



Download our app to get more features

 

‘ल यो औषधि लिएर एक महिनासम्म खानुहोस् । एक महिनापछि फेरि आउनुहोस् है’ 
‘हस् डाक्टर सा’ब’
‘ल... नमस्ते आमा ।’
‘कस्ता फरासिलो डाक्टर रहेछन् । कुराकानीबाटै आधाउधी रोग सन्चो भएझै भएर आयो...।’ हजुरआमाले भन्नुभयो ।
करिब ४–५ वर्ष अघि एक जना डाक्टरकोमा हजुरआमालाई चेक गर्न लैजादाको कुराकानी हो यो । त्यतिबेला देखिनै डाक्टरको मिठो बोली हुनुपर्छ, बिरामीलाई राम्रोसँग रोगको बारेमा जानकारी दिनुपर्छ भन्ने सोचाइका साथ हिडिरहेको म आफ्नो दैनिक परिवेशमा त्यसलाई लागू गर्न कोशिस गरिरहेको छु ।

डाक्टर–बिरामी सम्बन्ध
मेडिकल साइन्समा डाक्टर–बिरामी सम्बन्ध भन्ने एउटा पाटो हुन्छ । यसमा बिरामी तथा बिरामीको आफन्तसँग गरिने व्यवहार, उपचारमा काउन्सिलिङ तथा बिरामी र आफन्तलाई रोगको बारेमा दिइने जानकारी आदि पर्छन । यी कुराहरूले बिरामीको उपचारमा ठुलो भूमिका निभाउँछ ।  
बिरामी र डाक्टरको सम्बन्ध रोग र त्यसको निदान गर्ने केही औषधिमा मात्रै सिमित हुनु हँुदैन । बिरामीको रोगका धेरै पाटाहरू हुन्छन । रोगले पर्ने असर शारीरिक मात्र नभएर मानसिक र सामाजिक दृष्टिकोणले समेत हेर्नुपर्ने भएकाले विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषामा यी तीन ओटै विषयलाई समेटेको छ । आफ्नो रोगको बारेमा जान्न पाउने बिरामीको अधिकार हो । त्यसैले बिरामीलाई उसको रोगको उपचार प्रक्रियाबारे जानकारी दिनु, विभिन्न उपचार प्रक्रियाहरूको फाइदा, बेफाइदा बताउनु र बिरामीलाई नै बुझाएर विभिन्न उपचार पद्धति छान्न लगाउनु आवश्यक छ । बिरामी आफ्नो रोगको बारेमा प्रष्ट भइ उपचार प्रक्रिया बारेमा जानकार भएर सन्चो भएमा मात्र उपचार सफल भएको मान्न सकिन्छ ।

सम्बन्ध बिग्रदा दुर्घटना
डाक्टर र बिरामीबीच फाटो देखिनुको प्रमुख कारण बिरामीलाई दिने परामर्शको कमी पनि एक हो । यसमा हामी डाक्टरहरूको पनि केही कमजोरी रहेको स्वीकार नगरिरहन सकिन्न । बिरामीको अवस्था र रोगको प्रगतिको बारेमा दैनिक रुपमा बिरामी र आफन्तलाई यथार्थ जानकारी दिन आवश्यक छ । जस्तैं मानौं पक्षघातको कारण आइसियुमा भर्ना भएको बिरामीको अवस्था कतिपय स्थितिमा सुधार हुँदै जान्छ भने कतिपय स्थितिमा निमोनिया लगायतको संक्रमणले झन बिग्रदै जान सक्छ । बिरामीका आफन्तलाई हरेक दिनको उपचारमा प्रगतिको बारेमा यथार्थ जानकारी भएन र स्थिति बिग्रेपछी मात्र जानकारी गराइयो भने त्यसले नराम्रो घटना निम्त्याउन सक्छ । 

बिरामीको चाप
सरकारी अस्पतालहरूमा बिरामीको चाप अत्याधिक हुने गर्छ । ओपीडीमा दिनको एक सय जनासम्म बिरामीलाई एक डाक्टरले हेर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा बिरामीलाई आफ्नो रोग बारे राम्रोसँग बुझाउन, उपचार प्रक्रिया बारे जानकारी दिन चाहेर पनि कुनै डाक्टरले सक्दैन । यसले डाक्टर बिरामी सम्बन्ध राम्रो हुन दिदैन । सिमित साधन श्रोत र जनशक्तिमा यसरी काम गर्दा बिरामीको उपचारको गुणस्तरमा त कमी आउँछ । यसले कालान्तरमा नराम्रो घटना ननिम्त्याउला भन्न सकिन्न । त्यसैले आवश्यक जनशक्ति र साधन श्रोत यथेष्ट मात्रामा उपलब्ध गराइदिनु सरकार र सम्बन्धित निकायको जिम्मेवारी हो ।

बिरामी, बिरामीमका आफन्त र चिकित्सकबीच पछिल्लो समय देखिएको अविश्वासको खाडललाई कम गर्न बिरामीलाई दिने समय र परामर्शको पाटोलाई सुधार गरि डाक्टर–बिरामी सम्बन्धलाई थप मजबुत बनाउनुको विकल्प छैन । यसको निम्ती हामी चिकित्सकहरू, अस्पताल प्रशासन र बिरामीहरूले सौहार्दपुर्वक काम गर्ने वातावरण बनाउदै अघि बढ्न जरुरी छ ।

 

(हाम्रो डाक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-08-20 13:26:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts