नेपालीले खान पनि जानेका छैनन्


Download our app to get more features
Birat Hospital

दशैं तिहार जस्तो चाडबाडका बेला हामी नेपालीले अन्य काम भन्दापनि बढि जोड खानपानमा दिने गरेका छौं । जसको प्रत्यक्ष असर तपाईंको स्वास्थ्यमा पर्न जान्छ । दशैं जस्तो चाडको बेला के खाने? कति मात्रामा खाने भन्ने कुरामा भने कसैको ध्यान जाँदैन । प्राध्यापक डाक्टर उमा कोइरालासँग गरिएको कुराकानीका केही अंश

नेपाली समाजको खानपानमा पछिल्लो समय धेरै परिर्वतन आएको छ । यो परिर्वतन परम्परागत खानपानकै विस्तारित रुप हो या फेसन मात्रै ?

अहिले आएका सबै चिज नराम्रो पनि भन्न सक्दैनौ । कतिपय चिज राम्रा पनि भएर आएका छन् । संसार एक हत्केलामा अटाउने भएको छ । त्यसले नयाँ नयाँ कुरा कसरी खाने कुन समयमा खाने के के खाने सबै सिकाउने भएको छ । तर, यती हुँदाहुँदै पनि केही कुरामा अली बढी नक्कल पनि भएको पक्कै छ ।

अलिकती सम्पन्नता प्रदर्शन गर्न खोजिएको, अलिकती चाडपर्व भड्किलो हुँदै गएको पक्कै हो । हामी कता कता विकृति तर्फ गइरहेका छौं कि जस्तो लाग्छ । सँस्कृतिको कुरा गर्दा धर्मलाई पनि हेर्नुपर्छ । धर्मले काटमार नै गर पनि भनेको छैन । तर, सँस्कृतिक रुपमा दशैं भनेपछि मासु नै चाहिन्छ भन्ने मान्यता छ । हाम्रो सँस्कृतिमा स्विकार्य भइसेको छ । वास्तवमा भन्ने हो भने धर्म, रिस, राग, बैमनस्यता जस्ता कुराको बली देऊ भनेको हो । अपव्याख्या भएको छ । खानपानकै कुरा गर्ने हो भने केहि मात्रामा सुधारिएको पनि छ ।

मासु खादा पनि उसिनेर खाने, पहिले पहिले जस्तो एकैपटक धेरै मासु थुपारेर गनाउन्जेल खाने भन्दा पनि बजारबाट थोरै थोरै ल्याएर खाने गर्न थालिएको छ । हामी सानो छँदा गोरखामा एक जना पुजारी हुनुहुन्थ्यो । अष्टमी सिधिएपछि घर आउँदा बोकाको टाउको लिएर आउनुहुन्थ्यो । उहाँको घरमा बोकाको टाउको पाकाउँदा अन्य खानेकुरा पनि खान सकिदैन थियो । त्यो मासुमा किरा नै परिसकेको हुन्थ्यो । अहिले त्यस्तो छैन । तर, तडकभडक चाही बढी हुन थालेको छ ।  

पहिले पहिले मान्छेहरू कहिले काही मात्रै मासु खान्थे । तर अहिले जति बेला मन लाग्यो त्यति बेलै खाइरहेका छन् । तर, पनि किन दशैं भन्ना साथ मासुकै कुरा ?  

अहिलेका मानिसलाई बहाना मात्र चाहिएको छ । दशैं मात्र हैन अन्य सामान्य चाडबाड पनि हेर्नुहोस् महिनौदेखी तडकभडक सुरु हुन्छ । साउने सक्रांती होस् या तीज दशैं सबैमा खानपान स्वादमुखी बन्दै गएको छ । सबै चाडमा मासु अनिवार्य हुन थालेको छ । पहिले पहिले खसी काटेर खाने भनेको दशैं पर्खनु पथ्र्यो । अघिपछि खाने ज्यादै न्यून हुन्थ्यो । अहिले त दैनिक दशैं जस्तै भएको छ । तर, पनि दशैंमा दुई तीन वटा खसी काट्नै पर्ने, भव्यताका नाममा बिहानदेखी बेलुकासम्म मासु खानै पर्ने, रक्सी खानै पर्ने यस्तो सस्कार बढ्दै गएको छ ।  

खानेकुरा भनेको पोषणको लागि खाने हो । तर, कहिले पेट कसेर बस्ने, पाएको वेला चौबिसैं घण्टा खाएर कस्तो पोषण प्राप्त हुन्छ ?

जुन कुरा नियमित रुपमा खाइरहेकाहुँदैनौं र कुनै विशेष अवसरमा अत्यधिक सेवन गर्छौ त्यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । कहिल्यै खानै नपाएकोले दशैंमा मासु पायो र प्रशस्त खायो भने उसलाई आत्मासन्तुष्टि त हुन्छ, तर शरीरले नपचाउँन सक्छ । वर्षदिनमा दुई दिन खाएर शरीरलाई खासै फाइदा पुर्याउँदैन् । हामीलाई जुन कुरा नियमित चाहिरन्छ त्यो कुरा वर्षमा दुईदिन सप्लाइ गरेर हुँदैन । सधै खानेले धेरै खायो भने शरीरलाइ नराम्रो असर गर्छ । माछामासु भनेको प्रशस्त  प्रोटिन, चिल्लो हुने चिज हुन् । तिनीहरू अत्याधिक सेवन गरियो भने शरीरले पचाउँन सक्दैन । त्यसको सिधा असर हाम्रो कलेजो, पेट र मिर्गौलामा पर्छ । त्यहाँ बोझ पर्न जान्छ । बोझ परिसकेपछि यी अंगले थाम्न सक्दैन र काम गर्न सक्दैन । अनि मिर्गौलाको बिरामी, पत्थरी, कलेजोले काम नगर्ने टक्सिन जम्ने, पेटमा गडबडी जस्ता समस्या हुन्छन् । अत्यधिक सेवन पनि राम्रो होइन र खादै नखानु पनि राम्रो होइन ।  

भनेपछि नेपालीले खान नजानेकै हो ?

ठोकुवाका साथ भन्न सक्छु नेपालीहरू खान जान्दैनन । किनकी कसैले सिकाएकै छैन । राज्यको तर्फबाट खानपानमा जती जानकारी र जनचेतना बढाउनुपर्ने हो त्यो पटक्कै पुगेकै छैन । दुरदराजमा मात्र हैन काठमाडौंकै उच्च घरघर घरान र शिक्षित परिवारमा पनि यो कुरामा ध्यान पुगेको छैन । गाउँको त कुरै छोडौ । यसमा धेरै काम गर्न बाँकी छ ।

राज्यले प्राथमितामा नराखेर यस्तो भएको हो ?

यसमा राज्यले दायित्व लिनै पर्छ । आफ्नो जनताको जिम्मेवारी लिनुपर्छ । राज्यले चाहेमा धेरै काम गर्न सक्छ । पाठ्यपुस्तकमा समावेस गरेर जनचेतना फैलाउन सक्छ । नियमित कार्यक्रम बनाएर घरदैलोसम्म जानुपर्छ । कम्तीमा एउटा घरको भित्तामा यो खान हुने यो नहुने, यो यति मात्रामा खाने भन्नेर एउटा ब्यालेन्स डाइटको चित्र मात्र झुण्डाउने हो भने पनि धेरै चेतना जाग्छ । त्यसो भन्दैमा सबै कुरा राज्यले मात्र गर्नुपर्छ भन्ने हैन । राज्यले नागरिक समाज र अन्य समुदायलाई पनि परिचालन गरी कार्यक्रम संचालन गर्नसक्छ । पछिल्लो समय एनजिओ, आइएनजिओले पनि केही गरिरहेका छन् तर प्रर्याप्त छैन ।

खानपान नमिलेकै कारण नेपालीको अस्वस्थमा कस्तो आसर पुगिरहेको छ ?

 नीति निर्माणदेखि तल्लो तहसम्मका मानिसमा पेट भर्न पाए पुगिहाल्यो नी भन्ने मानसिकता छ । तर खान पाउने कसरी र के खाने भन्ने कला नजानुन्जेलसम्म त्यसको उपदेयता हुँदैन । यो खान पाउने कुरा मात्र नभएर मानिसको स्वास्थ्य सँग जोडिएको विषय पनि हो । अब हामीले सोच्ने बेला आएको छ सहि समयमा सहि तरीकाले खाएर रोगै लाग्न नदिने बनाउने कि खान पाएकै छ भनेर रोगी बनेर उपचारको लागि तयार भएर बस्ने । बिरामी नै हुन नदिने प्रयत्नमा लाग्नुपर्छ । राज्यले जनता रोगी हुँदैछन् भन्ने कुरा थाहा हुँदाहुँदै त्यसलाई रोकथाम गर्ने नीति तयार गर्नुपर्छ ।  

हाम्रै घरमा भएका खानेकुरालाई सन्तुलन गरी प्रयोग गर्ने सम्भावना छ कि छैन ?  

मेरो विचारमा छ । जस्तो जुम्ला, बाजुरा जस्ता विकट भनिएका स्थानमा पनि म पुगेकी छु । त्यहाँ उत्पादन भएका खाद्यन्न राम्ररी प्रयोग भएका छैनन् । उत्पादन राम्रो छ । हामीले ५० वर्षदेखि भाते सँस्कृतिको विकास गरिदियौं । यही सँस्कृतिका कारण चामल मात्रै खाद्यवस्तु हो अरु सबै अखाद्य वस्तु हुन भन्ने ‘कन्सेप्ट’ विकास गरिदियौं । यही कारण अन्य अमुल्य खाद्यवस्तु लोप हुँदै गए । चामलको सँस्कृतिलाई हटायौं भने खाद्य अभाव र भोकमरी हाम्रो देशमा कहिल्यै हुँदैन ।  

पोषण सम्बन्धी सरकारको नीति कस्तो छ र अब त्यसमा के परिमार्जन गर्नुपर्ने देख्नुहुन्छ ?

अहिले आएको बहुक्षेत्रीय पोषण आयोजना र विभिन्न पोषणका स्तरउन्नतिका कार्यक्रम छन् । तिनीहरूले कन्सेप्ट राम्रै ल्याएका छन् । त्यसलाई लागू कसरी हुन्छ भन्ने कुरा हो । राम्ररी कार्यान्वयन गर्न सक्यौं भने राम्रो प्रतिफल दिन्छ । तर, त्यसलाई देशभर व्यापक बनाएर लान भने सकिएको छैन ।

स्थानीय खाद्यवस्तु प्रयोग गर्नेगरी यो नीतिले समेट्छ ?

पहिले थिएन, अहिलेको नीतिमा केही परिर्वतन गरी स्थानीय खानालाई बढवा दिने, प्रोत्साहन गर्ने भनेर सम्बोधन गर्न खोजीएको छ । बहुक्षेत्रीय पोषण आयोजनाको दोस्रो चरण पनि सुरु हुँदैछ । दोस्रो चरणको नीतिमा पनि यो कुरालाई समावेस गरिएको छ । सन् २०१३ देखी यसको लागू हुँदा देखी धेरै यस्ता कुराहरु आएको थियो । त्यसमा स्थानीय खानपानलाई नसमेटेको भनेर कुरा आएको थियो । अब सन् ०१८ बाट सुरु हुनेमा त्यसलाई समेटेको छ । खाद्य प्रविधि ऐनले पनि यसलाई समेटेको छ ।   

Last modified on 2018-10-21 15:48:17

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital