डा. केसीलाई क्यान्सर बिरामीको प्रश्नः बिदेश पठाएर कमिशन लिने डाक्टरविरुद्ध बोल्नुहुन्छ ?



Download our app to get more features

डाक्टर गोविन्द केसी ज्यू नमस्कार । म जगन्नाथ ढकाल । क्यान्सरको बिरामी । तपाईं १६ औ पटक अनशनमा हुनुन्छ भन्ने समाचार मैले दिल्लीको अस्पतालको बेडमा रहँदा थाहा पाएँ । त्यो बेडमा रहँदा मैले मृत्युलाई धेरै नजिकैबाट नियाल्ने मौका पाएँ र अहिले पनि यही मृत्युसँग जुधिरहेको छु , मलाई पुर्ण रुपमा विश्वास छ यस युद्धमा मेरो जीत हुनेछ । हरेक व्यक्तिका लागी जीवनमा एक सेकेण्डको पनि कति मुल्य हुन्छ भन्ने कुरा शव्दमा व्याख्या गर्न सकिँदैन । तपाईं बिरामीलाई अन्तिम प्रयाससम्म पनि जोगाउने भगवानको रुपमा डाक्टर भएर उभिनुभएको छ अनि तपाईं जस्तै अरु डाक्टरको निगरानीमा रहेर जीवन जोगाउने प्रयासमा रहेको बिरामी म । बिरामीको नाताले मेरो स्वास्थ्यमा देखिएको समस्या,उपचार पद्धतिमा भएको कमजोरीले जीवन र मरणको दोँसाधमा आईपुगेको म र तपाईंको अनसनप्रति केही लेख्न मन लाग्यो । यसलाई अन्यथा नलिईदिनुहोला ,यो मेरो सामान्य बिरामीको हैसियतले नितान्त व्यक्तिगत धारणा र जिज्ञासा हो । मेरो भोगाईप्रति तपाईले सुक्ष्म रुपमा वुझ्नुहुन्छ होला भन्ने अपेक्षा राखेको छु । 

डाक्टर साव । सर्वप्रथम एक बिरामीको अपेक्षा के हुँदो रहेछ भने डाक्टरलाई जतिसक्दो छिटो भेट्न पाए आफुमा भएको स्वास्थ्य समस्या चट्टै भईहाल्छ । त्यस्तै बिरामीले सहज,सरल सुलभ र व्यवस्थित ढंगवाट दक्ष डाक्टर र सही प्रविधिवाट उपचार होओस् भन्ने चाहाना पनी स्वभाविक रुपमा राख्छ । यस्तो विश्वसनीय पद्धतीवाट सरकारी अस्पतालबाट नै सेवा सुविधा लिन पाईयोस् वा भनांै राज्यले नै सम्भव भएसम्म निःशुल्क वा त्यो पनि नभए एकदम न्युनतम शुल्कमा डाक्टरको मुस्कान सहित सेवा देओस् । र आधा रोग नै निको भईसकेको जस्तो अनुभुति दिलाई छिटो ,छरितो र विश्वसनिय उपचार भईदिएहुने थियो भन्ने चाहाना तिव्र हुने रहेछ । यदी यी दुवै सम्वभ नभए आफ्नै खर्चमा तर सरकारको स्वामित्वमा नै रहेको अस्पतालवाट उपचार गर्न पाए हुन्थ्यो भन्ने चाहाना प्राय धेरैको हुनेगर्छ  । र मेरो पनि त्यस्तै थियो र छ । यसो हुनुमा एक बिरामीले उपचार गराईरहँदा राज्यलाई अभिभावक ठानी गौरव महशुस हुनेरहेछ । मैले दिल्लीको राजीव गान्धि क्यान्सर अस्पतालमा उपचार गराईरहँदा यस्तो अनुभव गर्न पाईन किनकी म त अर्काको भूमिमा थिए । अर्काको भूमिमा गएर उपचार गराउनु मेरो बाध्यता थियो,यसभन्दा अघिका १० वर्ष सम्म त मैले नेपालकै विभिन्न अस्पतालहरुमा स्वास्थ्य जाँच गराए तर एउटा समस्या अर्काे उपचार भईरह्यो । यसको परिणाम मैले भोग्नुपर्यो,बेलैमा संवेदनशिल भएर उपचार भएको भए सायद म क्यान्सर हुनबाट जोगिन्थेँ र त्यो मेरो पोलिव उही बेला निकालिन्थ्यो होला । र मेरो उपचारमा अहिले तीसौ लाख रुपिया लाग्ने पनि थिएन होला । 

म सधैं राज्यलाई सम्मान गर्छु र राज्यले दिएको सुविधा उपभोग गर्नमा आत्मसन्तुष्टि हुने मेरो बाल्यकाल देखीकै बानी हो । यही मान्यता अनुसार रगतमा दिशा देखिएपछि १० वर्ष जति अगाडी म शिक्षण अस्पताल महाराजगञ्ज गएँ, जहाँ वर्षाैंदेखि तपाईले पनि बिरामीको सेवा गरिरहनु भएको छ । मलाई पायल्स भएको भनेर औषधि दिनुभयो डाक्टरले । २ वर्ष अगाडी मात्रै पनि म त्रिवि मातहतमै रहेको आयुवेर्दिक अस्पतालका डाक्टरले आफ्नो क्लिनीकमा बोलाएर पायल्स हो । तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेर मलाई झण्डै मारिदिएको । म मनमोहन मेमोरियल अस्पताल गएर देखाउँदा यो पायल्स होईन, यो पोलीव वा क्यान्सर पनि हुनसक्छ यसका लागी क्रोनोस्कोपी गर्नुपर्छ भनेर डाक्टरहरुले झस्काए । तर मैले यहाँका डाक्टरलाई तत्कालै विश्वास गरिन उसैपनि तपाईंको  हरेक पटकको अनशनले यस अस्पताललाई विवादित र बद्नाम बनाईरहेकोे थियो । त्यहाँका डाक्टरले भनेका कुरामा विश्वास गर्न नसक्नुमा मलाई तपाईको अनशनले मलजल गरेको थियो । तर सबैले हेक्का के राख्न पर्ने रहेछ भने अस्पतालको नाम होईन त्यहाँको प्रविधि र डाक्टरको दखलता नै महत्वपुर्ण हो । मनमोहनका डाक्टरको विश्वास नलागेपछि फेरी म तपाई कार्यरत अस्पताल जुन देशकै सुविधा सम्पन्न र प्रविधियुक्त अस्पतालमा गनिन्छ । तर, दोस्रो, तेस्रो त्यसपछि परिक्षणका लागी अनगिन्ती पटक आएँ ।  फेरीपनि शिक्षण अस्पतालका डाक्टरले पायल्स नै हो sigmoidoscopy गरौं भन्नुभयो । २ वटा अस्पतालको मत बाझिएपछि म मेडिसिटीमा अस्पतालमा गए । तर त्यहाँपनि डाक्टरले मेरो मलद्धारमा औलो एवं प्रोटोष्कोप हाली परिक्षण गरे र त्यसपछि पायल्स नै भएको र तुरुन्तै stapled hemorrhoidectomy विधिबाट सर्जरी गर्नुपर्ने पायल्स हो, पायल्सको आकार हेर्न पहिला sigmoidoscopy गरांै अनि अप्रेशनको तयारीमा लागौ भनेर बजेटसम्मको जानकारी दिईयो । sigmoidoscopy  नै गर्दा त पायल्स नै नभएको रिपोर्ट आयो, त्यसपछि वायोप्सी गरे र थाहा भयो मलाई पायल्स होईन क्यान्सर भएको रहेछ । यो थाहा भएपछि मैले पायल्सका बारेमा धेरै  ईन्टरनेटमा अध्ययन गरें, त्यसपछि थाहा पाएँ पायल्स त औलो एवं प्रोटोष्कोप हाली परीक्षण गर्दा नै थाहा हुने रहेछ । तर मेरो हरेक पटकको परीक्षणमा यो विधीद्वारा जाँच भयो तर मलाई किन पायल्स हो मात्र भनिरहे डाक्टरहरुले ? यसले डाक्टरको दखलतामा प्रश्न गर्ने स्थान राखेको छ कि छैन ? मैले मेरो यो वृतान्त तपार्इंलाई किन जानकारी गराएँ भने तपाईंको अनसनले म र म जस्ता अरु बिरामी जो डाक्टरको लापर्वाहीले पीडित हुनु परिरहेको छ उनीहरुलाई सम्वोधन गर्छ त ? अबका दिनमा म र मेरा आफन्त परीक्षणका लागी शिक्षण अस्पताल जाने  कि तपाईंले माफीया भन्ने गरेको मनमोहन अस्पताल जाने ? कि अत्याधुनिक मेडिसिटी जाने ? अस्पतालमा त विश्वासको वातावरण नै रहेन नी डाक्टर साव बिरामीका लागी न्युनतम खाँचो पर्ने डाक्टरको दखलता र अस्पतालको प्रविधि सुधारमा तपाईको अनसनले सम्बोधन गर्छ कि गर्दैन ? 

मैले पालैपालो गरी नेपालका अस्पतालबाट ठक्कर खाएपछि मेरो मनमा कसैप्रति विश्वास रहेन र दक्ष डाक्टर र उच्च प्रविधिको खोजीमा भारत पुगें । त्यहाँ पुगेपछि पनि मेडिकल माफियाहरुको अनुभव गर्ने मौका पाएँ भारतको चर्चित अस्पतालमा पर्ने गंगाराम अस्पतालका जि आई सर्जन डाक्टरलाई भेट्दा त मलाई खसी–बोका बजारमा हुने गरेको मोल मलाई जस्तो अनुभुति भयो । नेपालवाट पठाएको डाक्टरको नाम मागियो ।  मैले मेरो उपचार महत्पुर्ण हो छिटो गर्न अनुरोध गर्दा, मलाई सुरुमा नै ४ लाख भारु डिपोजिट गर्नुस् अनि नेपालवाट पठाएका डाक्टरसँग कुराकानी गरेर के–के परीक्षण गराउन पर्ने हो गरौंला भनियो । मैले मेरो आफ्नो उपचारको सम्पुर्ण प्रक्रिया थाहा नपाई उपचार नगर्ने अडानका साथ फर्किएँ । पछि थाहा भयो मलाई नेपालकै डाक्टरसँग सल्लाह गर्छु भनेको भारतीय डाक्टरको भनाई अनुसार त कमिशनको खेल पो रहेछ । मैले नेपालको डाक्टरको नाम बताउँदा, यहाँका डाक्टरलाई मैले उपचार बापत् वुझाएको रकम मध्ये २० देखी ३० प्रतिशत रकम कमिशन आउने रहेछ । डाक्टर सावले भन्नुभएको मेडिकल माफीयाको खेल त भारतसम्म पुग्ने रहेछ । डाक्टर साब तपार्इंको यो अनशनले यो समस्याको सम्बोधन गर्छ की गर्दैन वा नेपालमा खोलिने भनिएको मेडिकल कलेजको माफीयामा मात्र सीमित छ ? हामी जस्तो सर्वसाधरणलाई प्रत्यक्ष रुपमा फाईदा पुग्छ कि पुग्दैन वा डाक्टरी पढ्नेहरुलाई मात्र सम्बोधन गर्छ ?

त्यसपछि म भारतकै अर्काे राजीव गान्धी क्यान्सर अस्पतालमा गएँ । त्यहा मेरो विल्कुलै फरक अनुभव रह्यो । त्यहाँ मेरो नेपालको अन्तिम रिपोर्ट, बायोप्सीको रिपोर्ट हेरियो र हिस्ट्री पनि सोधियो । क्यान्सर उपचार सहि तरिकाले हुनुका साथै त्यहाँ र नेपालमा लाग्ने खर्च जायज लागेर करिब ४ महिनाको उपचार एवं operation गराई २ दिनअघि मात्रै नेपाल फर्किएको छु । यो मेरो भोगाईका साथै तथ्यांक हेर्दा वर्षेनी करिब १० अरब रुपिया नेपालीले उपचारका लागि विदेशमा खर्च गर्दा रहेछन् । त्यहाँका हरेक अस्पतालमा ५–१० प्रतिशत बिरामी नेपाली नै हुने रहेछन् । नेपालीलाई नै लक्षित गरि अस्पताल नजिकै भाडामा बस्ती नै निर्माण भएको रहेछ । अव मेरो जिज्ञासा डाक्टर सावलाई के रह्यो भने नेपाल मै सुविधा सम्पन्न एवं दक्ष जनशक्ति सहितको अस्पताल बनाएर वार्षिक अरवौ रुपिया जोगाउन हामी किन पहल वा बहस गर्दैनौं ? किन निर्माण भएका सुविधा सम्पन्न अस्पताल पनि बन्द गरिनुपर्छ भन्दै हिड्छौ ? मेरो प्रश्न मेडिकल कलेज वा अस्पतालको संख्यामा र मुल्यमा त कुरा भयो गुणस्तरीयको कुरा कहिले हुन्छ ? म जस्ता बिरामी आफ्नो रोग निदानका लागी नेपालको कति ओटा अस्पताल धाउनुपर्ने हो ? अस्पताल धाउँदा –धाउँदा महिनौ बित्छ र पनि निराश भएर फर्कनुपर्छ । अस्पतालमा पटकै पिच्छे दिशा र पिसाव गरेको समेत पैसा तिनुपर्छ हाम्रो देशमा । जतापनि जे गर्दा नि झमेला र दुखमात्र पाउनुपर्छ हामी बिरामीले । म जस्तो लाखौ बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने आयुवेर्दिक डाक्टर रामआधार यादवजस्ता डाक्टरलाई कार्वाही गर्न तपार्इंको अनशनले काम गर्छ कि गर्दैन ? हरेक पटकको अनशनमा तपार्इंको माग थपिराखेको पढिरहेको छु लापार्वाही गर्ने डाक्टरलाई कार्वाही हुनुपर्छ भन्ने माग कहिले उठ्छ ? उपचारका लागी देश बाहिर गएका बिरामीबाट कमिशन लिने नेपाली डाक्टरविरुद्ध कहिले बोल्नुहुन्छ ? अनि तपार्इं यसरी अनशनमा बसिरहदा तपार्ईं अनि तपाईका समर्थकले बेला –बेलामा स्वास्थ्य सेवा पनि बन्द गरिरहनु भएको छ, यसको असर त म जस्ता बिरामीले भोग्नुपर्छ । तपाई जस्तो डाक्टर जो धेरैको प्रिय पनि हुनुन्छ, यसरी पटक पटक अनशन वसेर आफु सेवामा नगईरहँदा तपाईंबाट सेवा लिने हजारौ बिरामी त फर्किरहेका छन् नी ? के तपाईको अनशनका कारण बिरामीको रोग निदान हुन ढिला त हुँदैन  ? अहिले त फेरी तपार्इंको विरुद्ध विजय थापा पनि अनशनमा हुनुन्छ रे । तपाईहरु पालैपालो सेवा ठप्प गर्दै अनशन बसिरहँदा मर्का त हामीलाई पर्यो नि ? तपाईहरुको जीवन संरक्षणका लागी केन्द्रित भईरहँदा तपाईंहरुका कारण हजारौं बिरामी सेवाबाट बञ्चित हुनुपरिरहेको छ भन्ने तपाई दुवैलाई लाग्दैन ? तपाईलाई त सरकारी खर्चमा हेलिकप्टर मार्फत उपचारमा ल्याईन्छ तर हामी त आफ्नै खर्चमा पनि वर्षाैदेखि रोग पालेर बस्नुपरिरहेको छ । तपाईहरुको अनशनका कारण स्वास्थ्य सेवा चौपट भईरहेको जानकारी तपाईंले पाउनु भएको छ की छैन ? हाम्रो स्वास्थ्य सेवाको नैसर्गिक अधिकारमा तपाई, विजय थापा, सरकार  अनि तपाईले भन्ने गरेको माफीया तथा माफीयाको संरक्षक भन्नेहरुको लडाईमा म जस्तै बिरामीले पीडा बोध गरिरहने हो ? रोग पत्ता नलाग्नुमा डाक्टरको मात्र गल्ति होईन भनेर डाक्टर समीर लामाले जस्तै लेखेर बिरामीको समस्यावाट पञ्छिन खोज्नु  त हुँदैन ? अनि अर्काे प्रश्न,डाक्टर साब तपार्इं  नि यति पर्ने औषधि यतिमा किन्नुपर्छ बिरामीले भन्नुहुन्छ तर तपाईंले पनि बिरामीलाई प्रिस्क्राईव गर्दा ती औषधिहरु लेख्नुहुन्छ की हुदैन ?

डाक्टर साव, विदेशमा नेपालीले उपचारमा गर्ने गरेको खर्चले अस्पताल बनाई राज्यले देशका बिरामीलाई उपचार गर्न विदेश जानबाट रोक्न साथै विदेशी बिरामी नेपालमा उपचार गर्न आउने वातावरण वनाउन सकिन्छ कि सकिँदैन ? कि बिरामी बाहिर पठाउँदा वा विद्यार्थी पठाउँदा आउने कमिशन लिने माफीयाको उक्साहटमा पो पर्नुभयो ? तपाईंले कमिसन लिनुहुन्छ भन्ने मलाई लाग्दैन तर तपाईं थाहै नपाई कमिशन खोरको जालोमा पर्नुभयो कि ? विचार गर्नुहोला डाक्टर साव ?

म एक क्यान्सर बिरामीको जिज्ञासाको समाधान तपाईंले दिनुहुन्छ भन्नेमा आशावादी छु । 

Last modified on 2019-01-22 10:46:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts