डेंगु सङ्क्रमण: काठमाडौं उपत्यका र अन्य जिल्ला पनि उच्च जोखिममा



Download our app to get more features

काठमाडौं, ३ भदौ । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेंगु रोग काठमाडौं उपत्यकासहित मलुकका विभिन्न स्थानमा देखा परेको छ। डेंगु भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाडौंमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन् । 

तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा मात्र आधारित भएकाले त्यो सङ्ख्या झन बढी हुन सक्ने अनुमान गरिएको छ।

विषेशत:उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमाडौं उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको सरकारी अधिकारीहरू बताउँछन् । 

फैलिनुका कारण के हुन् ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगसम्बन्धी घटनाहरू विश्वव्यापी रूपमै बढ्दो क्रममा छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि डेंगुलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।

काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको डेंगुबारे अनुसन्धान गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन् । 

सुनसरी जिल्लामा एकै गाउँमा यो वर्ष मात्रै तीन हजार भन्दा बढी व्यक्तिलाई डेंगुको सङ्क्रमण भएको पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

भर्खरै दक्षिणपूर्वी एशियासम्बन्धी मामिला हेर्ने विश्व स्वास्थ्य सङ्गठनको एउटा टोलीले काठमाण्डूका विभिन्न स्थानको अवलोकन गर्दा डेंगु रोग सार्ने लामखुट्टेको फुल र लार्भा प्रशस्त भेटिएको महाशाखा प्रमुख डाक्टर विवेक कुमार लालले जानकारी दिए।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन् ।

उक्त रोग दिनको समयमा टोक्ने लामखुट्टेबाट सर्ने हुँदा रातको समयमा झुल टाँगेर सुत्ने वा लामखुट्टे मार्ने धूप बाल्दैमा त्यसबाट बच्न नसकिने भुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीवविज्ञानकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन् ।

डेंगुको लक्षण कस्तो हुन्छ?
उच्च ज्वरो डेंगु रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ।

केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ।

'बेहोस हुने तथा उच्च रक्तस्राव हुने जस्ता लक्षण पनि कतिपयमा देखिन्छ,' डा. लालले भने।

'विश्व स्वास्थय सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्यु दर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।' बिबिसी

Last modified on 2019-08-20 16:41:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts