सुदूरपश्चिममा क्रोनिक बन्दै कुपोषण

नौ जिल्लामा तीन पोषण पुनस्र्थापना केन्द्र


Download our app to get more features
Spark_health_home Birat Hospital

डडेल्धुरा, १४ भदौ ।  सुदूरपश्चिम प्रदेश भन्नासाथ आमनेपालीको नजरमा पिछडिएको क्षेत्र भन्ने दृश्य आउँछ । हुन त यो दृश्य बिस्तारै परिवर्तन हुँदै छ । दश वर्षअघि जुन विषयलाई समस्याका रूपमा हेरिन्थ्यो ती विषय प्रायः समाधान भइसकेका छन् । तर, कतिपय विषय भने दश वर्षअघि जस्तो थियो त्यसमा खासै सुधार हुन सकेको छैन । तिनै विषयमध्येको एक हो कुपोषण ।

सुदूपश्चिम प्रदेशको नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर र डडेल्धुरामा मात्रै पोषण पुनस्र्थापना केन्द्र छ । आर्थिक वर्ष ०७५/७६ को तथ्यांक हेर्ने हो भने तीनवटै पुनस्र्थापना केन्द्रमा कडा खालको कुपोषणको उपचार गर्न आउनेको संख्या हरेक वर्ष बढिरहेको छ ।

vayoda

bp_ad

आर्थिक वर्ष ०७५/७६ मा कैलालीको धनगढीस्थित पोषण पुनस्र्थापना केन्द्रमा एक सय ४७ जना कुपोषित बालबालिका भर्ना भएका थिए । यस्तै कञ्चनपुरको पोषण पुनस्र्थापना केन्द्रमा एक सय ४३ बालबालिका भर्ना भएका थिए ।

डडेल्धुराको पुनस्र्थापना केन्द्रमा एक सय १४ कुपोषित बालबालिका भर्ना भएका थिए ।

यसरी हेर्ने हो भने सुदूरपश्चिममा गत आर्थिक वर्षमा चार सय चारजना कुपोषित बालबालिकाले उपचार पाएका छन् । तर, पोषण पुनस्र्थापना केन्द्रमा पायक पर्ने स्थानका बालबालिका मात्रै उपचार गर्न जाने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बाँकी ६ जिल्लाका बालबालिकालाई त यो सुविधासमेत छैन । 

डोटीकी पार्वती साउदले सबै जिल्लामा पोषण पुनस्र्थापना केन्द्र नभएका कारण कैयौँ बालबालिकाले ज्यानै गुमाइरहेको बताइन् ।

उनी पनि कुपोषित छोरालाई उपचार गराउन डडेल्धुरास्थित पोषण पुनस्र्थापना केन्द्र आएकी हुन् । डोटीको दिपायल–सिलगढी नगरपालिका–३ मा बस्ने उनलाई त्यहाँको स्वास्थ्य संस्थाले डडेल्धुरा जान सुझाब दिएको थियो ।

पुनस्र्थापनागृहमा सित्तैमा उपचार हुने थाहा पाएपछि डडेल्धुरा आएको उनले बताइन् । ‘म घरायसी काममा व्यस्त हुने गर्थे, घरमा छोराको ख्याल भएन, कुपोषण भएछ,’ उनले भनिन्, ‘त्यति टाढाबाट यहाँ आएको छु, ठीक त हुँदै छ, तर यस्तो स्वास्थ्य संस्था त्यतै भएको भए निकै सहज हुने थियो ।’

सुदूरपश्चिमको त्रास कुपोषण
नेपालमा कुपोषित बालबालिकामध्ये ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । साथै नेपालका ५३ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको कुपोषणबाट पीडित हुने गरेका छन् ।

त्यसमध्ये ५० प्रतिशतको ज्यान जाने गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाको अध्ययनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर एकैसाथ जन्मने तीनजना बालबालिकामध्ये एकजनामा कुपोषण देखिने गरेको छ ।

पोषण अवस्था सन् ०१६ का अनुसार नेपालमा कुपोषणदर ३५ दशमलव ८ प्रतिशत छ । समग्रमा नेपालमा ३६ प्रतिशत बालिका र ३५ दशमलव ७ प्रतिशत बालक कुपोषित रहेको तथ्यांकले देखाएको छ । हुन त यो समस्या सुदूरपश्चिमसहित देशभर बढ्दै गएको तथ्यांकले देखाएको छ ।

एक तथ्यांकअनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५.९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या छ । ३९.३ प्रतिशत महिलामा रक्तअल्पता, २८.१ प्रतिशत कम तौल, ७.७ प्रतिशत बढी तौलको समस्या छ ।

सुदूरपश्चिम प्रदेशको नौ जिल्लामा ९.३ प्रतिशत बालबालिकामा ख्याउटेपन छ भने १.२ प्रतिशतमा मोटोपन छ ।
नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेका र उनीहरू कुपोषणको सिकार भइरहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) ले जनाएको छ । 

तौल सामान्य नहुँदै फर्किन्छन् बालबालिका
सुदूपश्चिमका कुपोषण भएका बालबालिका उपचार नपाउने मात्रै होइन, उपचार भइरहेको अवस्थाबाट फिर्तासमेत हुने गरेका छन् । अभिभावकले उनीहरूको पूरा उपचार नगर्ने गरेको पाइएको हो । पोषण पुनस्र्थापना केन्द्र डडेल्धुराका संयोजक कल्पना भट्टका अनुसार कुपोषित बालबालिकाको तौल सामान्य नहुँदै अभिभावकले घर लग्ने गरेका छन् । 
पुनस्र्थापना केन्द्रले बच्चाको तौल सामान्य नहुँदासम्म उपचार गर्छ ।

यो अवधिभर आमा पनि पोषण पुनस्र्थापना केन्द्रमा बस्नुपर्ने हुन्छ । घरायसी काममा व्यस्त हुने हुँदा बच्चाको तौल सामान्य नहुँदै उनीहरू घर फर्कने गरेको भट्टले बताइन् । उनले भनिन्, ‘अहिले डडेल्धुराका विभिन्न ठाउँमा कुपोषित बालबालिकाको तथ्यांक हेरिरहेका छौँ ।

उनीहरूको ट्रिटमेन्ट गर्न बच्चाको तौल जतिबेलासम्म नर्मल हुँदैन, त्यतिबेलासम्म आमा र बच्चालाई खान–बस्नका साथै उनीहरूको हरेक उपचारका व्यवस्था गरिरहेका छौँ ।’

बालबालिकालाई पोषण पुनस्र्थापना केन्द्रमा ल्याउँदा आमाहरूले मात्रै सँगै बस्नुपर्ने हुन्छ, तर आमाहरू घरको अन्य काम गर्न बाध्य भएकाले काम छुट्छ भनेर केन्द्रमा नबसेर बच्चालाई घरमा लैजाने गरेको उनले बताइन् ।

डडेल्धुराको पोषण केन्द्रमा बैतडी, बझाङ, दार्चुला, डोटीबाट कुपोषित बालबालिका आउने गर्छन् । पुनस्र्थापना केन्द्रमा एक महिनाभन्दा बढी समय बस्नुपर्ने भएकाले टाढाका अभिभावक त्यति धेरै बस्न नमान्ने गरेको भट्टले बताइन् । 

केन्द्रमा कुपोषित बालबालिकालाई पोषणयुक्त खानाका साथै उपचार तथा उनका परिवारलाई पोषणबारे जानकारी गराइन्छ । केन्द्रमा जन्मेदेखि १४ वर्षका बालबालिकाको उपचार हुने गरेको छ ।

कुपोषणको प्रमुख कारण अशिक्षा
डडेल्धुरास्थित पोषण पुनस्र्थापना केन्द्रमा २० वर्षीया सुनीता जैरू १५ महिनाकी कुपोषित छोरीको उपचार गर्दै छिन् । १४ वर्षमा बिहे गरेकी उनलाई कुपोषणबारे कुनै जानकारी छैन । श्रीमान्ले छाडेको बताउने उनले ५ कक्षासम्म मात्रै अध्ययन गरेकी छिन् ।

‘दैनिक ज्यालामा मजदुरी गर्न जानुपथ्र्यो, छोरीलाई हेरचाह गर्न पाइनँ र उनी कुपोषणको सिकार भइछन्,’ उनले भनिन्, ‘मैले त जानकारी नपाएर दुःख भोग्नुपर्यो, तर यसबारे सबैले शिक्षा पाए धेरै बच्चा कुपोषणबाट बच्थे ।’
कुपोषणका आर्थिक–सामाजिक कारण पनि छन् । गरिबी, खाद्य असुरक्षा, चेतनाको कमीका साथै धेरैले व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन सक्दैनन् । हरिया सागपात र पहेँला फलफूल खान जान्दैनन् । माछामासु, अन्डा खान सक्ने अवस्था हुँदैन ।

यीलगायत कारणबाट कुपोषण हुने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका पोषण स्रोतव्यक्ति प्रेम ऐर बताउँछन् । सुदूरपश्चिमका कतिपय आमालाई कुपोषणबारे चेतना नै नभएको उनी बताउँछन् । दुर्गम पहाडी क्षेत्रमा पोसिला खानेकुरा नहुँदा कुषोषण भइरहेको छ भने तराई र सहरबजारमा जंकफुडको बढ्दो प्रयोगले कुपोषणदर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

स्तनपान गराउने आमा घट्दै
सुदूरपश्चिम प्रदेशमा स्तनपान गराउने आमाको संख्या पनि घट्न थालेको छ । शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमा निकै कम भेटिन्छन् । कतिपय महिलाले सुत्केरी भएपछि नै बच्चालाई स्तनपान नगराउने गरेको पाइन्छ । तर, चिकित्सकले भने बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधबाहेक अन्य पेय पदार्थ नपिलाउन अनुरोध गरिरहेका छन् । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा ६ महिनासम्म स्तनपान गराउने पाँच दशमलव दुई प्रतिशत आमा रहेका छन् । देशभरिका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा चार दशमलव पाँच प्रतिशत र सहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको संख्या तीन दशमलव नौ प्रतिशत रहेको छ ।

तीन महिनासम्म स्तनपान गराउने ७२ दशमलव दुई, पाँच महिनासम्म स्तनपान गराउने ४० दशमलव नौ प्रतिशत रहेका छन् । सर्वेक्षणअनुसार सन् २०११ मा ५३ प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्ण रूपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्ण रूपमा स्तनपान गराउने आमाको संख्या घट्दै जान थालेको छ ।

आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा घरायसी काममा तथा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैँसी वा बट्टाको दूध खुवाउने गरेको छ । गाईभैँसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको पोषण पुनस्र्थापना केन्द्र डडेल्धुराकी संयोजक कल्पना भट्टले बताइन ।

उनले भनिन्, ‘आमाले बच्चालाई राम्रोसँग स्तनपान गरायो भने मात्र कुपोषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।’ 

के भन्छ स्वास्थ्य निर्देशनालय ?
सुदूरपश्चिम प्रदेशमा नेपाल सरकारका कुपोषणसम्बन्धी बहुक्षेत्रीय पोषण योजना कार्यक्रम, सहारा कार्यक्रम, मातृ शिशु पोषण कार्यक्रमलगायत अन्य कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य निर्देशनालय डोटीका बाल स्वास्थ्य कार्यक्रमका फोकलपर्सन केशरबहादुर साउदले बताए ।

सामान्य कुपोषण भएका बालबालिकाका लागि स्वास्थ्य संस्थाले नियमित रूपमा अनुगमन तथा बच्चाहरूको पोषणको स्थिति जाँच गर्ने गरिरहेको उनले बताए ।

‘स्वास्थ्य संस्थाले गाँउघरमै बच्चामा भएको कुपोषणको अवस्थाबारे जाँच गर्छन्, परामर्श दिन्छन्,’ उनले भने, ‘हल्का खालको कुपोषणका लागि इमाम कार्यक्रमले समुदायस्तरमै पोषणयुक्त पौष्टिक खानेकुरा खुवाएर ठीक गर्छ, तर कडा खालको कुपोषण छ भने त्यस्ता बच्चालाई उपचारका लागि पोषण पुनस्र्थापना केन्द्रमा पठाउने गरिन्छ ।’

स्वास्थ्य चौकीहरूले पोषण कार्यक्रमअन्तर्गत भिटामिन, जुकाको औषधि खुवाउने कार्यक्रमसमेत गरिरहेको उनले बताए । 
 

Last modified on 2019-09-02 12:19:59

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts