फ्रान्समा गर्मीका कारण पछिल्लो दुई महिनामा झन्डै १५ सयको मृत्यु



Download our app to get more features

फ्रान्स । फ्रान्समा गर्मीका कारण पछिल्लो दुई महिनामा करिब १५ सय जनाले ज्यान गुमाएका छन् । 

अत्याधिक गर्मीका कारण गत जुलाईदेखि जुन महिनासम्ममा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरका रहेको जानकारी दिइन् । समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको उनले बताइन् । 

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो । थप ८ सय ६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ । १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ । 

गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो । गर्मीबाट बच्न विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो । सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts