भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि बेडको अभाव, बिरामीलाई भुइ र बेन्चमा राखेर उपचार



Download our app to get more features

अर्घाखाँची, २५ भदौ । अर्घाखाँची जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

अस्पतालका अनुसार ओपीडीमा अहिले दैनिक रुपमा २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक  १०० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेका छन् ।

१५ शैया मात्र रहेको अस्पतालमा बिरामी चाप ह्वात्तै बढेपछि बेडको अभाव भएको छ । बेड अभावले बिरामी राख्ने ठाँउ नहुँदा गल्लिमा राखेर उपचार गर्न बाध्य रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

दैनिक बिरामीको संख्या २०० सम्म बढ्दै जान थालेपछि बेड अभाव हुनुका साथै बिरामीको व्यवस्थापन गर्न कठिनाइ पर्न थालेको तिवारीले बताए ।

अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५०देखि ८० जना बिरामी उपचारका लागि आउने गरेका थिए । तर, अहिले यो संख्यामा चार गुणाले बढेको छ ।  अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उनले जानकारी दिए।

जिल्लाका सरकारी अस्पताल मात्र होइन निजी अस्पतालमा पनि बिरामीको चाप बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन् ।

जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल जवरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए ।

बर्षात र गर्मी मौसम हुनु, प्रदुषित पानी पिउनु, मौसम परिवर्तन र बर्षाको कारण बाढी फोहोरवस्तु बगाउने र दुर्गन्ध फैलिने गरेको कारणले पनि  अहिले भाइरलको प्रकोप बढी रहेको अस्पतालले जनाएको छ ।

Last modified on 2019-09-11 19:44:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts