कोरोना भाइरसविरुद्ध अक्सफर्ड यूनिभर्सिटीको खोप ७०% सुरक्षित



Download our app to get more features

बीबीसी, ९ मंसिर । यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने परीक्षणले देखाएको छ ।

यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो । तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए ।

"आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ," उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन् ।

यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ । 

परीक्षणले के देखायो ?
यो खोप परीक्षणमा २० हजांर स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए ।

दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १ सय १ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो ।

अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ ।

स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो । तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो ।

के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन ।

"हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ," प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बताए ।

उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ ।

अरू कुन खोप विकास भइरहेको छ ?
आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन् । ती यस प्रकार छन्:
क्यान्सिनो, चीन
गामालेया रिसर्च इन्स्टीट्यूट, रुस
जान्ससेन
बेइजिङ् इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
सिनोभाक र बुटानटान, ब्रजिल
वुहान इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
नोभाभाक्स, अमेरिका
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts