भारतमा कोरोना विरुद्धको खोप लगाएकामध्ये ४ सय ४७ जनामा साइड इफेक्ट



Download our app to get more features

भारत, ५ माघ । भारतमा कोरोना विरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा साइड इफेक्ट देखिएको पुष्टि गरेको छ । 

मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरि १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो ।

मन्त्रालयले १६ र १७ जनवरीमा ४ सय ४७ जनाको एडभर्स इवेन्ट फ्लोइंग इम्युनाइजेशन (एइएफआई) रिपोर्टमा उनीहरु बिरामी भएको पाइएको पनि पुष्टि गरेको छ ।

स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले साइड इफेक्ट देखिएकाहरुमा यस्तो प्रभाव देखिनुलाई सामान्य रहेको बताएका छन् । उनले यदि खोप लगाइसकेपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा त्यसलाई गम्भीर भन्न सकिने उल्लेख गर्दै हालको अवस्थामा जम्मा ३ जनालाई मात्रै अस्पताल भर्ना गरिएकाले यसलाई गम्भीर भन्न नमिल्ने बताए ।

खोपको साइड इफेक्टको बारेमा उनले भने, ‘खोप लगाएकाहरुमा ज्वरो, टाउको दुख्ने र मन आत्तिने जस्ता समस्या देखिएका छन् । जुन खोप लगाएपछि देखिने सामान्य अवस्था हो । यसमा आत्तिनुपर्ने कुरा छैन ।’
 
स्वास्थ्य सचिव अगनानीका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ । 

भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् एक लाख ५२ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

भारतको सिरम इन्स्टीच्यूट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेन्काको सहकार्यमा कोरोना विरुद्धको खोपको उत्पादन गरिरहेको छ । 

भारतमा विकास गरिएको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोपलाई भारत सरकारको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भारतमा उत्पादित कोभिडशिल्ड खोपलाई लिएर विवाद उत्पन्न भइसकेको छ । खोपको एफिकेसी रेट ६२ प्रतिशत मात्रै हुँदा यसलाई तत्काल प्रयोगमा ल्याउन नहुने भारतकै विभिन्न वैज्ञानिकहरुले चेतावनी दिएका थिए ।

Last modified on 2021-01-19 06:52:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts