उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिएका कार्की भन्छन्ः अब स्वास्थ्य क्षेत्रको कुरा उठ्छ



Download our app to get more features

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । महासंघको नेतृत्व चयन समेतको महाधिवेशनमा ६४ पदका लागि हुने निर्वाचनमा १ सय २३ जनाले उम्मेदवारी दिएका छन् । १३ गतेसम्म हुने महाधिवेशनमा पहिलो पटक स्वास्थ्य क्षेत्रबाट बाबुकाजी कार्कीले प्रतिनिधित्व गर्दैछन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिबाट महासंघको कार्यकारिणी सदस्यमा एशोसिएटतर्फबाट कार्कीले उम्मेदवारी दिएका छन् । प्रस्तुत छ हस्पिटलका प्रबन्ध सञ्चालक कार्कीसँग उम्मेदवारी दिनुको कारण लगायतका विषयमा गरिएको कुराकानी :

उद्योग वाणिज्य महासंघमा विशेष गरि निर्माण क्षेत्र, अन्य उद्योग र उद्यमीले सँधै प्रतिनिधित्व गर्ने गर्छन् । तर, तपाईंले स्वास्थ्य क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । किन ? 
उद्योग वाणिज्य महासंघ भनेको देशभरको व्यवसायीलाई समेट्ने र राज्यको संयन्त्र पछाडिको सभन्दा ठूलो संस्था हो । जसले सबै व्यवसायीलाई समेट्ने र मुद्दालाई उठाउने काम गर्छ । तर, स्वास्थ्य क्षेत्रको मुद्दा निकै कम उठाइन्छ । त्यसकारण स्वास्थ्य क्षेत्रको मुद्दा उठाउन, स्वास्थ्य क्षेत्रमा रोजगारी उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गराउनु पर्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।

स्वास्थ्य क्षेत्रका तपाईंका मुद्दाहरु के के छन् ?
जसरी हामी सबैलाई थाहा छ कि निजी क्षेत्रले ७० प्रतिशत सेवा नेपाली नागरिकलाई दिँदै आएका छन् । त्यसरी नै निजी क्षेत्रको मुद्दा त्यसमा पनि स्वास्थ्य तर्फ निजी क्षेत्रका मुद्दा उठाउनु आवश्यक छ । निजी क्षेत्रले राज्यको पहुँच नभएको स्थानमा सेवा प्रवाह गर्ने काम गर्दै आएको छ । निजी क्षेत्रले सबैभन्दा धेरै कर तिर्ने गरेको छ, रोजगारी सिर्जना गरेको छ । तर, यति हुँदा हुँदै पनि राज्यले निजी क्षेत्रलाई सरकारले उचित तरिकाले नहेरेका कारण पनि त्यस्ता मुद्दा उठाउनु पर्छ । अर्को विषय भनेको निजी क्षेत्रले नेपाली जनतालाई सेवा दिँदै गर्दा पनि निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उचित तरिकाले नहेरेको कारणले राज्य र निजी क्षेत्रबीचमा रहेको ग्यापलाई परिपुर्ति गर्नु आवश्यक छ । साथै आर्थिक सम्वृृद्धिमा पनि कोरोना भाइरसले जुन धरायसी बनाएको छ यसलाई राज्यसँत समन्वयकारी भूमिका खेलेर अगाडि बढ्नु पनि मेरो चुनावी मुद्दा हो । 

निजी क्षेत्रका स्वास्थ्य संस्थाले मनपरि सेवा शुल्क लिने, निजी अस्पतालहरु लुटेरा हुन् जस्ता विषयहरु सुन्ने गरिन्छ । यस्ता विषयलाई कसरी महासंघबाट सम्बोधन गराउनु हुन्छ ?
निजी क्षेत्रलाई हेर्ने नजरिया नै फरक छ । बाह्य देशमा हेर्ने हो भने निजी क्षेत्रलाई सँधै उकास्ने, हौसला दिने काम गर्ने गरिन्छ भने नेपालको हकमा ठिक उल्टो छ । निजी क्षेत्रलाई सँधै आरोप लगाउने, लुटेरा हुन् भन्ने, जोखिम मोलेर व्यवसाय गर्दा पनि निजी क्षेत्रलाई हतोत्साहित गर्ने काम नेपालमा हुँदै आएको छ । 

व्यवसाय गर्नु भनेको राम्रो हो यसले मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्याउँछ भनेर भनेर नेपाली समाजले अझै बुझ्न सकेका छैनन् । व्यवसायिक वातावरण नेपालमा निर्माण हुन सकेको छैन । त्यो भनेको के हो भने नेपाली समाज जागिरे मनस्थितिको समाज हो । त्यसकारण मुलुकको समृद्धिका लागि, व्यवसाय विना आर्थिक समृद्धि ल्याउनका लागि, राजश्व संकलन गरेर सरकारले सकारात्मक रुपले उद्योग वाणिज्य महासंघमार्फत् समन्वय गरेर काम गर्नुपर्छ । जसमा स्वास्थ्य क्षेत्र नै पहिलो प्राथमिकतामा राखेर सम्बोधन गराउने प्रयास गराउँछु । 

निजी क्षेत्रका अस्पताल, स्वास्थ्य क्षेत्रको आ आफ्नै गुनासो छ । सरकारको निर्णयबाट असन्तुष्टिदेखि सरकारले निर्धारण गरेका मापदण्ड नमान्नेसम्मका हुन्छन् । यी विषय कसरी समाधान गराउनुहुन्छ ?
यी गुनासोहरु भनेको गुणस्तरीयता कायम गर्न र कुनै त्रुटी छ भने त्यसलाई सुधार गर्दै लानु हो । त्यसका लागि निजी क्षेत्रको गुणस्तरीयता कायमका लागि कुनै पनि किसिमको सम्झौता गर्नु हुँदैन । किनकी निजी क्षेत्रमा सेलेक्टेड बिरामी मात्रै उपचारका लागि आउने हुन् । त्यसका कारण निजी क्षेत्रको विषयमा महासंघले शुल्कका साथै गुणस्तरीयतको विषयमा राज्यसँग समन्वय गर्नका लागि मेरो भूमिका हुन्छ । 

अर्को कुरा भनेको म महासंघमा कार्यसमिति सदस्यको रुपमा हुन्छु । मैले यो क्षेत्रमा ठ्याक्कै यो परिवर्तन गर्छु भन्दा खासै प्रभावकारी पनि नहोला । म फाइनल डिसिजन मेकर पनि होइन । यो टीमवर्कबाट सम्भव हुने विषय हो । उद्योग वाणिज्य महासंघ सबै व्यवसायीको हक हितका लागि टिमवर्कमार्फत काम गर्ने संस्था हो । त्यसैले यो नै परिवर्तन गर्छु भन्ने हुँदैन तर स्वास्थ्य क्षेत्रमा भएका अहिलेका समस्याहरुको समाधानका लागि महासंघमा मेरो पहल सतप्रतिशत हुन्छ ।

महासंघको निर्वाचनमा विशेषगरि स्वास्थ्य वा भनौं अस्पताल क्षेत्र बाहेककाहरुले नै उम्मेदवारी दिँदै आएकोमा तपाईंको लागि चुनौती कतिको हुन्छ ?
महासंघ भनेको सबै खालका व्यवसायीलाई समावेश गर्ने संस्था हो । यदि मैले जिते भने अस्पताल क्षेत्रमा भएका हरेक समस्या महासंघमा उठाउन सक्छु । किनकी यसैपनि महासंघमार्फत् अस्पताल क्षेत्रका विषय निकै नगन्य सुनिन्छ । एउटा उदाहरण दिन सक्छु म, अहिले कै कार्यसमितिको क्रममा भारतबाट अस्पताल क्षेत्रको विषयमा टीम आएको थियो । जसका लागि महासंघमा कुरा राख्ने वा जानकारी दिने विषयमा कसैलाई थाहा नहुँदा मलाई बोलाइएको थियो । त्यहि बेला मलाई लाग्यो कि अस्पताल क्षेत्रको विषय उठानका लागि पनि मेरो उम्मेदवारी दिनु आवश्यक छ । म अस्पताल क्षेत्रमा भएका र हुने गरेका विषय र मुद्दालाई उठान गरेर राज्यसमक्ष राख्न सक्छु । त्यसकारण मेरो लागि ठूलो चुनौती होला जस्तो लागेको छैन । 

अहिलेसम्म महासंघमा मेडिकल क्षेत्रको कुनैपनि आवाज पुगेको छैन । मैले विजयी भएको खण्डमा मेडिकल क्षेत्रका समस्याहरुको पहिचान र त्यसको समाधान गर्नका लागि मेरो आवाज बुलन्द पार्नेछु । यसलाई सरकार समक्ष राख्ने काम गर्नेछु ।

Last modified on 2020-11-26 14:03:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts