बेलायतमा एक महिनाको अवधिमा १३ लाख सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइयो



Download our app to get more features

एजेन्सी, २२ पुस । युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । 

कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो । 

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपका लागि बेलायतमा अनुमति दिएको एक महिनाको अवधिमा १३ लाख नागरिकलाई खोप लगाइएको हो । 

बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले डिसेम्बर २ मा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरस विरूद्धको खोप ९५ प्रतिशत प्रभावकारी रहेको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले मुलुकमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखि सुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको बताए । 

उनले हालसम्म मुलुकमा १० लाखभन्दा बढी मानिस कोरोनाका कारण सङ्क्रमित भएको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएकाले जोखिम झन् बढ्न सक्ने भएकाले सबैलाई खोपको पहुँचमा पु¥याउनका लागि खोप अभियान सुरु गरिएको बताए । 

बेलायतमा कोरोनाको बढ्दो जोखिमका कारण मंगलवारदेखि लागू हुने गरि देशव्यापी लकडाउन जारी गरिएको छ ।

यसैबीच, बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । प्रधानमन्त्री जोनसनले अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताए । उनले यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने पनि उल्लेख गरे ।

Last modified on 2021-01-06 15:59:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts