ब्लड क्यान्सर पीडित रुबीको दुखेसोः मलाई क्यान्सर छ भन्दा डक्टरले उल्टै गाली गर्थे...



Download our app to get more features

क्यान्सर रोगीलाई हौसला दिने, उनीहरूलाई रोगसँग लड्न मद्दत होस् भनेर उनीहरूलाई साथ र सहयोग दिनुपर्ने हुन्छ । तर, ललितपुर सानेपाकी रुबी रजक क्षेत्रीसँग ठीक उल्टो भयो । जब उनमा क्यान्सर देखियो । 

क्यान्सर रोग आफैले लाग्ने रोग हो । यो कोही कसैबाट सरेर लाग्ने रोग होइन । तर, उपचारका लागि अस्पताल पुग्दा रुबीलाई डक्टरले नै गाली गरेर पठाइदिए । 

४६ वर्षीया रुबीलाई आजभन्दा ४ वर्ष अघि क्यान्सर देखिएको थियो । ४२ वर्षको उमेरमा  क्यान्सरका विभिन्न लक्षणहरू देखिएको सम्झना रहेको उनले आफ्नो क्यान्सर देखेपछिको पीडा यसरी सुनाइन् ।

२०१४ फेब्रुवरी २४ मा धेरै ढाँड दुख्ने, राति पसिना आउने, ज्वरो आउने भएपछि म अस्पताल पुगे । तर, अस्पतालमा मलाई कुनैपनि रोग नभएको भन्दै घर पठाइयो । 

त्यतिबेला केही औषधिहरू सेवनपछि मलाई सञ्चो त भयो । तर, त्यो समस्या बारम्बार दोहोरिन थाल्यो । मैले नेपालको प्रायः सबै अस्पताल धाए । तर, रोग पत्ता लागेन । कत्ति डक्टरहरुले त मलाई नाटक गरेको भनेर पनि गाली गरेझै गरे । 

रोग पत्ता नलागेपछि मैले आफैले ती लक्षणहरु राखेर गुगलमा हेर्न थाले । प्राय सबै लक्षणहरु ब्लड क्यान्सरसँग मिल्दोजुल्दो थियो । त्यसपछि म आफैले डक्टरहरुलाई मलाई ब्लड क्यान्सर भएको छ भनेर भने । तर, उहाँहरुले मलाई गाली गरेर पठाउनुभयो । 

एकदिन मलाई निकै गाह्रो भयो । श्वास फेर्न समेत नसक्ने अवस्थामा पुगे । त्यसपछि म उपचारका लागि भारतको राजीवगान्धी अस्पताल गए । त्यहाँ मलाई डा. ऐके गुप्ताले हेरेका थिए । त्यसपछि मलाई २०१४ डिसेम्बर ११ मा ब्लड क्यान्सर भएको भन्ने कुरा पत्ता लाग्यो । 

जब मलाई ब्लड क्यान्सर भएको छ भन्ने थाहाँ भयो, म त अब मर्छु भन्ने लागेको थियो । मेरो दुईवटा छोराहरु छन् । त्यतिबेला ठूलो छोरा ८ कक्षामा पढ्थ्यो भने अर्को यु केजीमा । सानै थिए छोराहरु त्यसैले निकै तनाव भएको थियो । मेरो रोगका कारण मेरो सानो छोरालाई मानसिक असर समेत परेको थियो । त्यसको असर अझैसम्म पनि उसमा छ । 

ब्लड क्यान्सर भारतमा पत्ता लागेपनि बाँकी उपचार भने मैले नेपालको नेशनल क्यान्सर अस्पतालमा गरे । उपचारका लागि भारत जान नसकिने भएकाले मैले डक्टरलाई नेपालमा नै रेफर गरिदिन भनेको थिए । उपचारका लागि नेशनल क्यान्सर अस्पतालमा राम्रो वातावरण थियो । 

नेपाल क्यान्सर अस्पताल नेपालको क्यान्सर उपचारका लागि राम्रो अस्पताल हो । किनकी मैले त्यहाँ उपचार गर्दा सबै अत्याधुनिक उपकरण र दक्ष चिकित्सकले उपचार गर्छन् भने बिरामीसँग नर्स र डक्टरले गर्ने व्यवहार पनि निकै सरल र राम्रो छ ।

मलाई ब्लड क्यान्सर भयो भन्दा समाजले निकै नराम्रोसँग हेथ्र्यो । कतिले त कति वर्षको भयौं, बच्चाहरु सानै छन्, अब तिम्रो श्रीमानले के गर्छ होला, अर्को विहे गर्छन् कि गर्दैनन् जस्ता कुराहरुपनि सुनाउन भ्याएका थिए । समाज र छरछिकेका यस्ता कुराले मलाई नेपाली समाजदेखि घृणा लागेर आउँछ । 

ब्लड क्यान्सर हुँदा मलाई मेरो परिवारले राम्रै साथ दियो । सायद म मेरो परिवारको माया कै कारण बाचे होला जस्तो पनि लाग्छ । मेरा लागि मेरो परिवार भगवान हो । परिवारको सहयोग पाए जुनसुकै रोगलाई सजिलै जित्न सकिने रहेछ भन्ने कुरा मलाई विश्वास छ । 

ब्लड क्यान्सरको उपचार गर्दा मेरो २० देखि २५ लाखसम्म सकियो होला । तर, उपचार गर्न भारत जानुभन्दा पहिले नै मेरो ४/५ लाख ५ जति सकिसकेको थियो । 

अहिले त म नर्मल भइसके । कोरोना सङ्क्रमणका कारण मेरो श्रीमानको मृत्यु भयो । दुई वटा छोराहरुको लालनपालन, घरखर्च चलाउने म आफैले गरिरहेको छु । अहिले समाजले तिमी त साहसी महिला हौ भनेर मेरो साथ दिन्छन् । योसब देखेर म निकै खुशी हुन्छु ।

क्यान्सर भएरपनि बाँचेकी म अहिले क्यान्सरविरुद्धको सचेतना अभियानमा संलग्न छु । हामीले नेपाल क्यान्सर सर्भाइभर सोसाइटीबाट क्यान्सर सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।

सबैलाई म के भन्छु भने रोग सबैलाई लाग्छ तर रोग लाग्यो भन्दैमा डराउनु हुँदैन । रोगसँग लड्न उपचार सँगसँगै मनोबल पनि आवश्यक पर्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरो, क्यान्सर लाग्दैमा समाजले उसलाई घृणा गर्ने, अनावश्यक तनाव दिने भन्दा पनि साथ र सहयोग दिनुपर्छ र उसको मनोबल बढाउने काम गर्नुपर्छ । बिरामीले केही समस्या सुनायो भने उसको कुरा सुनेर डक्टरहरूले परामर्श दिनुपर्छ । गाली गर्ने, हेप्ने जस्ता गतिविधिले बिरामीको मनोबल कमजोर हुने र ऊ मृत्युको मुखमा जान सक्छ । त्यसकारण सबैको साथ र सहयोगले यो रोग जित्न सकिन्छ ।

Last modified on 2021-09-26 11:05:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts