नुवाकोटको शिवपुरीमा नि:शुल्क अल्ट्रासाउण्ड परीक्षण



Download our app to get more features

नुवाकोट, ११ मंसिर । नुवाकोटको शिवपुरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको छ । गत वर्ष तलाखु स्वास्थ्य चौकीबाट सुरु गरेको अल्ट्रासाउण्ड कार्यक्रम यस वर्ष विस्तार गरि शिवपुरीमा रहेको आठ वटै स्वास्थ्य चौकीमा विस्तार गरिएको छ ।

शिवपुरी गाउँपालिकाको थानापती स्वास्थ्य चौकीमा बुधवार, स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै औपचारिक उद्घाटन गरिएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम विहिवार सुनखानी स्वास्थ्य चौकीमा र शुक्रबार समुन्द्रादेवि स्वास्थ्य चौकीमा स्थानीय गर्भवती महिलाको गर्भजाँच गरि सुरु गरियो ।

मातृशिशु सम्वन्धी काम गरिरहेको वान हर्ट वल्डवाईज नामक गैरसरकारी संस्था र शिवपुरी गाउँपालिकाको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गरिएको शिवपुरी स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए। वान हर्ट वल्डवाईज संस्थाले अल्ट्रासाउण्ड मेसिन र गाउँपालिका ले तलाखु स्वास्थ्य चौकीका एक अनमी, स्टाफ नर्स सुशिला तामाङलाई तालिम उपलब्ध गराए संगै ग्रामिण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएको हो । यो सेवा प्रत्येक महिना एक दिन एउटा स्वास्थ्य चौकीमा घुम्ती सेवाको रुपमा संचालन गरिने जानकारी गराइएको छ।

गाउँमा नै अल्ट्रासाउण्ड सेवा संचालनमा आए संगै विशेषत ग्रामिण क्षेत्रका गर्भवति जॉच गराइरहेका महिलाहरु लाभान्वित भएका छन् । गर्भवति महिलाले गर्भ रहेको १२ हप्तामा पहिलो पटक, २८ हप्तामा दोस्रो पटक तथा ४० हप्तामा तेस्रो पटक गरी तिन देखि चार पटक सम्म अल्ट्रासाउण्ड गर्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् तर यस अघि अल्ट्रासाउण्ड सेवा गाउँमा नहुँदा गर्भवती महिलाहरु परीक्षणका लागि जिल्ला सदरमुकाम तथा राजधानीका अस्पतालमा जानु पर्ने बाध्यता थियो ।

एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै परीक्षणको प्रविधिको रुपमा रहेको अल्ट्रासाउण्ड विशेषत पेटमा रहेका अंगहरू किड्नी, कलेजो, प्यानक्रियाज, प्रस्टेस्टलगायतका अंगहरू, थायराइडको परीक्षण, छातीको परीक्षण बच्चाको टाउको परीक्षण, आँखाको नानीको, घाँटीका ग्रन्थीहरुको परीक्षण गरि धेरै जसो रोग पत्ता लगाउन सहयोग पुग्ने भरपर्दो प्रविधि भएपनि संचालीत घुम्ती अल्ट्रासाउण्ड कार्यक्रमले हाललाई बर्थिङ सेन्टरमा गर्भवति जॉच गराइरहेका महिलालाई मात्र समेटिने शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

शिवपुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ कार्यक्रम संचालन गर्दै रहदाँ शिवपुरी वासिन्दाहरुको स्वास्थ्यमा पहुँच बढ्दै गएको छ । शिवपुरी स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख उद्धव कार्कीका अनुसार शिवपुरीमा रहेको सबै स्वास्थ्य चौकीमा निःशुल्क टि टि खोप, शिवपुरी आधारभूत अस्पतालमा निशुल्क रेविज भ्याकसीन, विमा नगरेको कर्मचारीहरुलाई कोभिड संक्रमण भए पचिस हजार आर्थिक सहयोग, शिवपुरी गाउँ पालिका भित्रका वासिन्दाहरुको कोभिड संक्रमण भए पॉच हजार पोषण खर्च तथा मृत्यु भए बिसहजार किरिया खर्च, उपलब्ध गराउदै आएको पालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुन नसक्ने गर्भवती महिलालाई काठमाडौं सम्म निशुल्क एम्बुलेन्स सेवा दिनुका साथै गर्भवती महिलालाई निशुल्क क्याल्सियम र आइरन वितरण गर्दै आइरहेको छ ।

अहिले शिवपुरीमा दुईवटा सामुदायिक स्वास्थ्य इकाई, एकवटा आधारभूत अस्पताल तथा आठवटा स्वास्थ्य चौकीले नागरिकलाई स्वास्थ्य सेवा दिदै आएको छ ।

गाउँपालिका प्रदान गरिएको यस्तो सेवाले गर्भवती महिलाहरुलाई सहजता त भएकै छ तर अल्ट्रासाउण्ड गर्दा छोरा–छोरी पत्ता लाग्ने भएकोले कतिपए अवस्थामा यसको दुरुपयोग भइ भ्रुण हत्या समेतको खतरा देखिएको ले यसमा भने सजकता अपनाउनु पर्ने देखिन्छ ।

Last modified on 2021-11-28 07:24:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts