कोरोनाको उच्च जोखिममा चितवन, एकसातामै ६ सय २६ प्रतिशतले संक्रमित थपिए



Download our app to get more features

चितवन, १ माघ । देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै चितवनमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । 

एकसातामै ६ सय २६ प्रतिशतले सक्रिय संक्रमित थपिको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार यो साताको पहिलो दिन आइतवार जिल्लामा सक्रिय संक्रमितको संख्या ८२ जना थियो । 

सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

साताको अन्तिम दिन आज शनिवार दिउँसोसम्म यो संख्या बढेर ५ सय ९५ पुगेको छ । निको भएकालाई छोडेर आइतवार भन्दा ५ सय १३ जना अर्थात् ६ सय २६ प्रतिशतले सक्रिय संक्रमित बढेको हो ।

शनिवार दिउँसोसम्म जिल्लाका सक्रिय संक्रमित मध्ये ५ सय ७७ जना होम आइसोलेसन र १८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् । जबकी, आइतवार दिउँसोसम्म जिल्लाका ८२ जना सक्रिय संक्रमित मध्ये ७५ जना होम आइसोलेसन र ७ जना अस्पताल भर्ना भई उपचाररत् रहेका थिए ।

अहिले जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २७ हजार ८ सय २५ पुगेको छ । जसमध्ये अहिलेसम्म २६ हजार ७ सय ९२ जना निको भइसकेका छन् । त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ३७ जनाको मृत्यु भएको छ ।

अस्पतालको प्रयोगशालामा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या लिएर परीक्षण गरेका अधिकांशमा कोरोना देखिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै उनले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने जस्ता स्वास्थ्यका नियमहरू राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-01-16 07:53:51

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts