यस्तो छ स्वास्थ्य क्षेत्रमा बालेनको योजना  



Download our app to get more features

काठमाडौं,१३ जेठ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । उनी निर्वाचित भएसँगै काठमाडौंको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु अगाडि सारेका छन्  । 

बालेनले महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्ने साथै वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्ने बताएका छन् । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्ने उनले बताएका छन् । 

कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने उनको भनाई छ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउने उनको विश्वास छ । यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्ने उनी बताउछन् ।  

नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्ने । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिने र शारीरिक सक्रियतामार्फत रक्तचाप र मधुमेह नियन्त्रणमा लिन सहयोग पुग्छ भनेर चिकित्सकहरुको भनाइ छ । उद्यानमा बिहान बेलुकी हिँड्न, कुद्न पायो भने निश्चिय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यससँगै सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेको उनी बताउछन् । 

विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था रहेको र  त्यसलाई रोक्न के कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्ने उनको भनाई छ ।  ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएर चिकित्सकहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिने पनि उनको भनाई छ । 

सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बीमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिने उनी बताउछन् ।  त्यसो गर्दा नागरिकलाई कर तिरौँतिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बन्ने उनको बिश्वास छ । 

Last modified on 2022-05-29 10:20:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts