रिहानको उपचारमा लापरबाही गर्ने ग्राण्डीलाई क्षतिपूर्ति दिन उच्च अदालतको आदेश



Download our app to get more features

काठमाडौं, १० जेठ । रिहान न्यौपानेको उपचारमा लापरबाही गरेको ग्राण्डी अस्पताललाई क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
 
बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै अभिभावक सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध मुद्दा दर्ता गराएका थिए । 

रिहानका अभिभावक सञ्जीवले ट्वीट गर्दै अदालतको फैसलाबारे जानकारी गराएका छन् ।

२०७५ असार १२ गते ग्रान्डी अस्पतालमा उनीहरूको शल्यक्रियाबाट बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो । पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको सङ्क्रमण भयो । 

बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरिएको थियो । झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले त्यसपछि मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहान निको हुन नसक्ने थाहा पाएका थिए ।

त्यसपछि उनीहरु उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै मेडिकल काउन्सिल पुगेका थिए । काउन्सिलले भने अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरणमात्र सोध्ने निर्णय गरेको  थियो । 

काउन्सिलको उक्त निर्णयविरूद्ध उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका हुन् । अस्पतालले लापरबाही गरेकाले पीडितलाई क्षतिपूर्ति दिलाउनु पर्ने उनीहरूको  माग थियो ।

आफूहरूले भोगेका बदल्न नसक्ने तर डाक्टरको लापरबाहीले अरू बच्चाहरूको अवस्था आफ्नो बच्चाको जस्तो नहोस् भनी लडेको रिहानका अभिभावकले बताएका छन् । 

रिहान आउँदो असारमा ४ वर्ष पुग्दैछन् । अहिले पनि उनको अवस्था सुधारोन्मुख छैन् ।

Last modified on 2022-05-25 11:13:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts