चिसोमा मुटु स्वस्थ राख्ने उपायबारे जानौं



Download our app to get more features

मुटुरोग पछिल्लो समय घातक र भयावह बन्दै गएकोछ। यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर काम गर्नु हो।

मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक ३० मिनेट हिँड्नुपर्छ। साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ। उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। यस्ता समस्या अचेल निकै बढेका छन्।

जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ। धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ। दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं। यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ। शाकाहारी दालभात स्वस्थ हुन्छ। नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ। मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ। माछा पनि लाभदायक मानिन्छ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ। बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ।

मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ। तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन। त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ।

ध्यान दिनुपर्ने कुरा :

- चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो। युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो। तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ।
- धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
- धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
- शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।
- धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।
- राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।
- दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।
- निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।
- जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु(याएर मुटुमा समस्या ल्याउँछन् ।

Hamro Doctor
Last modified on 2021-11-30 10:25:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts