जाडोमा बच्चालाई संक्रमणबाट जोगाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



Download our app to get more features

जाडो मौसमका कारण देशभरका नागरिकको जनजीवन प्रभावित भइरहेको छ । पछिल्लो २ वर्षदेखि कोरोना महामारीसँगको लडाईंका साथै अन्य रोगको संक्रमणको जोखिमकाबीच कसरी सुरक्षित रहनेमा सबैको ध्यान केन्द्रीत भएको छ । 

सरकारले कोरोना महामारीबाट जोगिनका लागि पछिल्लो समय १२ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । तर, १२ वर्षभन्दा मुनिका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्् । त्यसकारण उनीहरु कोरोनाका साथसाथै अन्य रोगको जोखिमबाट पनि बालबालिकालाई जोगाउनु चुनौतीपूर्ण छ ।

बालबालिका भनेको यसैपनि अन्य व्यक्तिको भन्दा नाजुक र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका हुन्छन् । त्यसकारण पनि उनीहरुमा जाडो मौसम सुरु हुनासाथ विभिन्न संक्रमण र समस्याले सताउन थाल्छ । 

उसो त जाडो मौसममा विभिन्न उमेरका मानिसलाई संक्रमणले आक्रमण गर्न सक्छ । तर, चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकालाई नै गर्छ । किनकी यो मौसममा भाइरस र ब्याक्टेरिया निकै तिव्र गतिमा फैलिने हुँदा बालबालिकालाई आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । 

जस कारणले उसलाई सर्दी, रुघाखोकी, नाक बन्द, श्वास फेर्नमा गाह्रो हुने, घाँटीमा इन्फेक्शन, भाइरल डायरीया, निमोनिया, ज्वरो जस्ता समस्या हुन सक्छ । त्यसैले जाडो मौसममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ । चिसोबाट बालबालिकालाई जोगाउन बालरोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरको सुझाव यस्तो छ ः

जाडो मौसम बालबालिकाको ख्याल कसरी राख्ने :
१. चिसोबाट बच्चालाई जोगाउन धेरै कपडा लगाउनुको सट्टा उसको पैताला, हत्केला, कान र टाउको न्यानो कपडाले छोपेर राख्नु पर्छ । किनकी शरीरको यी भागमा सबैभन्दा बढी तापक्रम कम हुन्छ र चिसो पस्ने डर सबैभन्दा बढी हुन्छ । त्यसैले बालबालिकालाई आवश्यक मात्रामा टोपी, मोजा र पन्जा लगाइदिनुपर्छ ।

२. घाम स्वास्थ्यका लागि राम्रो हुन्छ । आफ्नो बच्चालाई विहानको समयमा केहि समय घाममा राखेर सन बाथ गराउनु पर्छ । यसले ताजा हावाको साथै भिटामिन डी पनि शरीरलाई प्राप्त हुन्छ ।

३. बच्चाको छेउछाउमा रूम हिटरको प्रयोग गर्नु हुँदैन । किनकी हिटरबाट निस्कने सूक्खा हावा बच्चाको स्वास्थ्यको लागि राम्रो मानिदैन ।

४. जाडो मौसममा बच्चालाई नियमित नुहाउनु हुँदैन । बरु मन तातो पानीमा तौलिया भिजाएर बच्चाको शरीरलाई सफा गर्नुपर्छ । यसले चिसो पस्दैन र उसको शरीर सफा पनि हुन्छ ।

५. बच्चालाई नुहाउनु भन्दा पहिले हल्का तातो तेलले उसको मालिस गर्नु राम्रो हुन्छ । 

६. प्रायजसो सुत्ने समयमा बच्चाले कम्बल वा सिरक हटाइदिने गर्छन् । जसले गर्दा उसलाई सर्दी लाग्ने हुन्छ । त्यसैले बच्चा सुत्नु भन्दा पहिले नै उनको ओछ्यानमा पातलो न्यानो ओछ्यान विछ्याएर त्यसमाथि हट वाटर बोटल राख्नाले ओछ्यान तातो हुन्छ । साथै बच्चालाई तातो न्यानो कपडाको साथै उसले बनेको टोपी र मोजा लगाइदिनु पर्छ । जसले गर्दा बच्चाले सिरक हटाए पनि उनलाई सर्दी लाग्दैन । 

७. यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनु पर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ ।

८. बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ । 

९. बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ ।

१०. जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ । 

११. कोरोनाबाट बालबालिकालाई जोगाउनका लागि अभिभावक र घरका अन्य सदस्यले बाहिरबाट आउँदा राम्रोसँग हात खुट्टा धुने, मास्कको सुरक्षित तरिकाले व्यवस्थापन गर्ने गर्नुपर्छ ।

१२. सकेसम्म बालबालिकालाई घरबाहिर लिएर नजाने, किनकी उनीहरु मास्क लगाउन सक्ने अवस्थामा नहुँदा अरुको संक्रमण उनीहरुमा सर्न सक्छ । त्यसकारण बालबालिकालाई विशेष ध्यान राखेर जोगाउनुपर्छ ।

Last modified on 2021-12-05 10:08:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts