भारतसहित विश्वभर कोरोनाका कारण हुने मृत्युदर बढ्दै, ओमिक्रोनको सह प्रजाति थप सङ्क्रामक



Download our app to get more features

एजेन्सी, २० माघ । भारतमा कोरोनाका कारण हुने मृत्युदर बढ्न थालेको छ । कोरोना महामारीको तेस्रो चरणको लहरका कारण पछिल्लो १० दिनदेखि भारतमा लगातार ८ सयभन्दा बढीको मृत्यु हुन थालेको भारत सरकारले बताएको छ । 

भारतमा कोरोनाको तेस्रो लहर सुरु भएयता मङ्गलवार सबैभन्दा धेरै १ हजार ७ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । 

बुधवार मात्रै भारतमा ९ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५ लाख नजिक पुगेको छ । 

यस्तै भारतमा दैनिक कोरोना सङ्क्रमित थपिने दरमा भने कमी आएको छ । 

भारत सरकारका अनुसार पछिल्लो १ सातादेखि भारतमा २ लाखभन्दा कममा सङ्क्रमण पुष्टि भइरहेको छ । गत २४ घन्टामा विश्वभर १ लाख ७२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमण दरमा कमी आएपनि मृत्यु हुनेदर बढेपछि चिन्ता भने बढेको छ ।

भारत मात्रै नभई कोरोनाको तेस्रो चरणको लहरको सुरुवाति दिनमा विश्वभर मृत्यु हुनेदर ४ देखि ५ हजारको हाराहारीमा रहेकोमा पछिल्लो १५ दिनदेखि त्यो सङ्ख्या बढेर १२ हजार नजिक पुगेको छ । जसका कारण विश्व स्वास्थ्य सङ्गठनले सबै मुलुकलाई सावधानी अपनाउन पनि आग्रह गर्दै आएको छ ।

गत २४ घन्टामा विश्वभर ११ हजार ९ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जबकी ३० लाख २७ हजार ६ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

विश्वभर फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्टको सह प्रजाति स्टिल्थका कारण पनि विश्वभर सङ्क्रमण दर फेरि बढ्न थालेको सङ्गठनको भनाइ छ । सङ्गठनका अनुसार कोरोना भाइरसको सह प्रजाति बीए डट टु हालसम्म भारत, डेनमार्कसहित विश्वका ५७ मुलुकमा फैलिसकेको र यो ओमिक्रोनभन्दा पनि तीव्र गतिमा सङ्क्रमण फैलाइरहेको छ ।

Last modified on 2022-02-03 16:04:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts