शिवरात्रीमा व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

आज महाशिवरात्री पर्व, भगवान शिवको पूजा अराधना गरी मनाइँदैछ । भगवान शिवको जन्मदिनको अवसरमा शिवरात्री पर्व मनाइने गरिन्छ । आजको दिन व्रत बस्ने परम्परा पनि रहेको छ । तर, व्रत बस्नेले आफ्नो स्वास्थ्यको ख्याल गरेन भने विभिन्न समस्या देखिन सक्छ । जस्तै, रिङ्गाटा लाग्ने, बेहोस हुने, शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुने, रगतमा चीनिको मात्रा कम हुने, रक्तचाप कम हुने आदी । त्यसकारण, शिवरात्रीमा व्रत बस्दा ध्यान दिएर तथा आफ्नो स्वास्थ्यको अवस्था हेरेर मात्रै व्रत बस्नु उचित हुन्छ । 

व्रत बस्दा कतिपय निराहार पनि बस्ने गर्छन् भने कतिपयले आफ्नो स्वास्थ्य अवस्था हेरेर फलफूल खाएर पनि व्रत बस्ने गर्छन् । यसैपनि सातामा एकदिन व्रत बस्नुलाई फाइदाजनक मानिन्छ । तर, भगवानका नाममा दिनभर पानी समेत नखाइ व्रत बस्नु स्वास्थ्यको लागि राम्रो होइन । आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ । 

चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नु भन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो । व्रतले मानव शरीरमा गर्न फाइदा र बेफाइदा बारे डा. रक्षा गौतमको भनाइ यस्तो छ :

नियमित व्रत बस्दाका फाइदा :

  • व्रत बस्दा तौलमा नियन्त्रण हुन्छ ।
  • तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ ।
  • उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ ।
  • पाचन प्रक्रियाले आराम पाउँछ । 
  • रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
  • शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ ।

तर, पानी पनि नपिइ निराहार व्रत बस्नु स्वास्थ्यलाई हानिकारक मानिन्छ । पानी नपिउँदा शरीरमा पानीको कमी भई डिहाइड्रेसनजस्ता समस्या निम्तन्छ । त्यसतर्फ ख्याल गर्नुपर्छ । व्रतका बेला घरमै बस्दा समस्या नहुन सक्छ । तर, निराहार व्रत बसेका बेला धेरै परिश्रम गर्ने, चर्को घाममा हिँडडुल गर्दा  शरीरमा पानीको कमी हुन जान्छ । यस्तो अवस्थामा चक्कर लाग्ने, कमजोरी महसुस हुने तथा ब्लड प्रेसर घटबढ हुनसक्छ । शरीरमा पानीको मात्रा कमी भए त्यसको असर मिर्गौलामा पर्छ । त्यसकारण व्रत बस्दा निराहार भन्दा पानी र फलफूलको सेवन गर्नु फाइदाजनक हुन्छ । 

त्यसैगरी धेरै धपेडी गर्नु पनि उचित होइन । लामो समयसम्म लाइनमा बसेर पानी पनि नखाँदा त्यसले रिङ्गाटा लाग्ने, बेहोश हुने हुन्छ । त्यसकारण ५० एमएल, सय एमएल पानी खाइरहनु पर्छ । दीर्घ रोग जस्तै मधुमेह, मुटुरोगी, गर्भवति, औषधि सेवन गरिरहने व्यक्तिहरू सकेसम्म व्रत नबसेको राम्रो हुन्छ ।
 

Last modified on 2022-03-02 07:37:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts