स्वास्थ्य केन्द्रबाट शुरू भई केन्द्रीय अस्पताल, आज ५९ औँ वार्षिकोत्सव



Download our app to get more features

चितवन, २५ चैत । स्वास्थ्य केन्द्रबाट शुरू भएको चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो ५९ औँ वार्षिकोत्सव आज मनाउँदै छ । 

अस्पतालले आज (शुक्रवार) आफ्नो ५९ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागिएको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा शुक्रवार ओपिडी टिकट निःशुल्क हुने अस्पताल प्रशासनले जनाएको छ । 

बिहान बिरामीलाई निःशुल्क फलफूल वितरण गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । दिउँसो १ बजे उद्घाटन हुने वार्षिकोत्सव कार्यक्रममा आफ्नो डियूटी मिलाई उपस्थित हुन अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी एवम् सम्पूर्ण कर्मचारीहरूलाई अस्पताल प्रशासनले अनुरोध गरेको छ । 

बार्षिकोत्सव अन्तर्गतका वार्षिकोत्सव स्मारिका विमोचन,   खेलकुद प्रतियोगितामा तथा कविता वाचन एवम् वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान, सास्कृतिक लगायत थुप्रै कार्यक्रम रहने अस्पतालले जनाएको छ । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने छन् ।

गतवर्ष सामान्य कार्यक्रम गरे पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको कारण दुइ वर्षअघि अस्पतालले आफ्नो ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको थियो ।

यस्तो छ अस्पतालको विकास योजना 

यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ ।  अस्पतालको निर्माणाधिन ए र वि ब्लक भवन पुरागरि सि ब्लक भवन निर्माण शुरुवात गर्दै गुरुयोजनालाई पुरा गर्ने योजनामा रहेको अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले बताए । 

सिटि स्क्यान, एमआरआई, क्याथल्याव लगायतका आधुनिक उपकरणहरु जडान गरि सबै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाउने, ढल, फोहरमैला आदीको वैज्ञानिक तरिकाले व्यवस्थापन गरि सफा अस्पताल बनाईने उनले जनाए ।  

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्न तथा भविष्यमा अस्पतालको सम्भावनाको अध्ययन गरि रणनैतिक योजना बनाई आम नागरिकको लागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो अस्पतालको रुपमा विकास गर्न अस्पताल विकास समिति लागि परेको अध्यक्ष डा। अधिकारीले बताए । वार्षिकोत्सवको दिन अस्पतालका समग्र विकास निर्माणका केही नयाँ योजना समेत सार्वजनिक गरिने उनले जानकारी दिए । 

आफ्नै कोरोना प्रयोगशाला 

यसै अस्पताल मातहत रहेको कोरोना परीक्षण प्रयोगशाला भरतपुर–१० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको थियो । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला गतहप्तादेखि अस्पताल भवनमै सञ्चालनमा ल्याइएको छ । 

स्वास्थ्य केन्द्रबाट शुरू भएर अहिले केन्द्रीय अस्पताल 

यस अस्पतालको स्थापना वि।स २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि।स २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । 

वि.स २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ । 

१५ शय्याबाट शुरु गरि ६  सय शय्या भन्दा बढी सञ्चालनमा 

त्यस्तैगरी वि।स २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो । १५ शय्याबाट शुरु भएको यो अस्पताल वि।स २०६७ सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालन छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ ।  

विशिष्ट विशेषज्ञ सेवा सहितको केन्द्रीय अस्पताल

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ । 

मध्य नेपालको आशाको केन्द्र भरतपुर अस्पताल 

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय  अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Last modified on 2022-04-13 16:52:49

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts