मुसहर बस्तीमा निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

महोत्तरी, १९ माघ । महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पहिलोपटक औषधिसहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

मङ्गलबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सो समुदायका १ सय २५ जनाले स्वास्थ्य परीक्षण गराए । 

पछिल्लो तीन दिनयतादेखि तराईमा बढेको कठ्याङग्रिँदो जाडोले गर्दा स्थानीयको जनजीवन कष्टकर भएपछि रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा राकेश यादवको टोली बस्तीमा पुगेको थियो । 

सो शिविरमा न्यानो स्पर्श, बर्दिबास अस्पताल र जनसेवा हस्पिटल बर्दिवासले स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधि उपलब्ध गराएका थिए भने ४० प्रकारका औषधि स्वास्थ्य परीक्षण गरेर वितरण गरिएको बर्दिवास सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेनले बताए । 

वैशाखसम्म चल्ने सो बस्तीको निर्माण कार्य अवधिभरमा हप्तामा एक दिन मुसहर बस्तीमा निःशुल्क औषधि र स्वास्थ्य परीक्षणका लागि डाक्टर पठाउने व्यवस्था मिलाइएको बर्दिवास सरकारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विधानचन्द्र झाले बताए । 

करिब ६७ वर्षदेखि बर्दिवासमा बसोबास गर्दै आएका सो मुसहरको बस्तीमै स्वास्थ्यकर्मी पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेर निःशुल्क औषधि वितरण गरेको यो पहिलोपटक भएको सामाजिक अभियन्ता एवम् पत्रकार राजकरण महतोले बताए । 

स्वास्थ्य उपचारपछि चिसोमा ज्यान जोगाउन सहज हुने भन्दै मुसहर हर्षित भएको महतोले प्रतिक्रिया दिए । रासस
 

Last modified on 2017-06-29 13:41:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts