गोदानका अध्यक्ष भन्छन्ः डा. केसीका केही मागमा असहमति भएपनि उहाँको जीवनरक्षाका लागि आन्दोलन गरेका हौं 



Download our app to get more features

काठमाण्डौ । चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १९ दिनदेखी आमरण अनसनमा रहेका प्राडा गोविन्द केसीको समर्थनमा सरकारी चिकित्सक संघ नेपालले आजदेखी अनिश्चित कालसम्मका लागि नेपालभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । यस विषयमा सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डा. दीपेन्द्र पाण्डेसँग डा. केसीका असहमति पनि छ भन्ने अनि सेवा चाहीँ किन बन्द गरेको नि भनेर सोधेका छौं । 
आजदेखि सरकारी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय गर्नुभयो, दुःख त जनताले पाए नि, यसको जिम्मेवारी कस्ले लिने ? 
यसको जिम्मा त सरकारले नै लिन पर्छ । डा.केसी आमरण अनसनमा बसेको १९ दिन बित्दा समेत दुईचार पटकका झारे वार्ता बाहेक सरकारले कुनै तदारुकता देखाएको छैन् । यसकारण बाध्य भएर हामी आन्दोलनमा उत्रिएका हौं । तर म जानकारी गराउन चाहन्छु की, आज आन्दोलनको पहिलो दिन भएकाले हामीले अस्पताल परिसरको खुल्ला ठाउँमा टेबल, कुर्ची राखेर त्यहीँबाट ओपिडी सेवा दिइरहेका छौं । जनताको दुःखलाई मध्यनजर राख्दै हामीले यसो गरेका हौं । भोलिबाट हाम्रो अन्दोलनको स्वरुप अझै परिर्वतन हुन सक्दछ । 
तपाईंहरु आफैं सरकारी चिकित्सक हो नी त  ।
हो हामी सरकारको नुन तेल खाएका चिकित्सक हौं । तर यसो भन्दैमा नराम्रो कामको विरोध र राम्रो कामको समर्थन गर्न नपाईने हुँदैन । हामी गणतान्त्रिक मुलुकका सरकारी चिकित्सक हौं यसर्थमा पनि जायज मागका लागि सरकारको विरोध गर्न हामी स्वतन्त्र छौं । हाम्रो देशको संस्कार नै यस्तै छ । कानो, लुलो सरकारलाई घच्घचाउन कडा अन्लोलनमा उत्रिनै पर्ने नत्र नर्टेर्ने परिपाटीका कारण पनि हामी आन्दोलनमा जान बाध्य भएका हौं । 
हिजोसम्म तपाईहरु नयाँ सरकारी प्रतिष्ठान खोल्न हुँदैन भन्नुहुन्थ्यो, डा. केसीले हरेक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने भनिएको छ, बाझिएको विचारबीच तपाईंहरुको समर्थन कसरी? 
हो हामीहरु अहिले पनि नयाँ सरकारी प्रतिष्ठान खोल्न हुदैन भन्ने अडानमा कायमै छौं । डा.केसीका सबै मागप्रति हाम्रो ऐक्यबद्धता होइन । डा.केसी र उहाँका पक्षधरहरु पनि यो माग उठाउनुहुदैन्थ्यो की भन्नेमा केही हदसम्म कन्भिन्स भएको हामीले पाएका छौं । अहिलेको हाम्रो मुख्य माग भनेको डा. केसीको जीवनरक्षा नै हो । डा. केसीले उठाएका अधिकांस मागहरु प्रत्येक नेपालीका माग हुन् । देश र जनताका लागि निस्वार्थ लडिरहेको एक सच्चा डा.अकालमा मर्नुहुदैन् भन्ने मै हामी अहिले लागिरहेका छौं, उहाँका कतिपय मागहरु बसेर लामो छलफलपछि मात्र यो वा त्यो भन्ने हाम्रो संघको तत्कालको निर्णय हो । 
दिनभर सरकारी अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरेर बस्ने अनि अरु बेला निजी अस्पतालमा सेवा दिन जाने त होला नी तपार्इंहरु ? 
हाम्रो आन्दोलन सरकारसँग जोडिएको आन्दोलन भएको हुँदा सरकारी अस्पतालमा ओपिडी सेवा बन्द गरेका हौं । सरकारी अस्पतालको समयतालिकाभित्र कुनै निजी अस्पतालमा गएर कुनै चिकित्सकले सेवा दिएको प्रमाणित हुने बित्तिकै हामी आफै नाम सार्वजनिक गर्छौं । अरु बेला निजी अस्पतालमा गएर सेवा नै नदिने भन्ने छैन । 

Last modified on 2017-08-11 15:48:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts