अप्रेशन थिएटरबाटै सामान हराएपछि...



Download our app to get more features

वीर, टिचिङ, सिभिल वा अन्य कुनै सरकारी अस्पतालमा यदि तपार्इंका आफन्त काम गर्छन् भने सो अस्पतालमा निजी अस्पतालमा पाउने सुविधा पाउनु हुन्छ । यस्तै तपार्इंको आफन्त निजी अस्पतालमा काम गर्नुहुन्छ भने सरकारी अस्पतालकै रेटमा उपचार र सुविधा पाउनुहुन्छ । अझ तपाईंका आफन्त अपरेशन थिएटरमा (ओटी) मा नैं काम गर्छन् भने ९० प्रतिशत अप्रेशनका सामान तपाईंले निःशुल्क पाउनुहुन्छ । 

यो काल्पनिक कुरा होइन । मेरो आफ्नै अनुभव हो । मेरो आफन्त त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइन्जेल मैंले त्यहि निजी अस्पताल सरह सुविधा प्राप्त गरें । हाम्रो सिस्टम र सोंचले गर्दा जहिले पनि मारमा पर्ने आमनागरिक र गरिब जनता नै हुन् । वीर, टिचिङ र सिभिल अस्पतालमा सामान्य मानिसले आइसियू सेवा पाउनु भनेको नेपालीलाई डिभी चिठ्ठा पर्नु बराबर हो । अझ सिभिल अस्पतालमा शय्या पाउनु मन्त्री र सचिवहरूको सोर्सफोर्स नभए मुस्किल छ । अलि अगाडि मेरै अघि स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकारले धेरै पहल गरेर शय्या मिलाउनु भो । त्यसरी पाउने शय्या पनि सामान्य मानिसलाई समय नैं नभई डिस्चार्ज गरेर वा अन्यत्र सारेर पाउने शय्या हो ।

म सँग वीर अस्पतालको ९० दिनको बसाइका क्रममा धेरै तिता मिठा अनुभव छन् । कतिपय लेख्न मिल्छ कतिपय लेख्न मिल्दैनन् । वीर अस्पतालमा सबैभन्दा डरलाग्दो कुरा त्यहाँका मेडिकल अफिसरहरूको ‘फ्रस्टेशन’ हो । भएभरको सम्पत्ती बेचेर एमबीबीएस त गरे तर त्यसपछिको पढाइको लागि न त उनीहरूका अभिभावकसँग पैसा छ न त उनीहरू आफैं कमाएर पढ्न सक्छन् । कोही कोही त कुलतमै फँसेको पनि भेटियो । बिरामीलाई बेहोस पार्ने औषधि चाहिने भन्दा धेरै  मगाई डाक्टरहरू आफैं सेवन गरेको पनि देखेँ । कोही निजी अस्पतालमा कमिसनका लागि डाक्टरले नै बिरामी बिक्री गर्थे । यसले के जनाउँछ भने आफ्नो आर्थिक अवस्था कस्तो छ त्यो हेरेर पढ्ने विषय रोजिएन भने ‘फ्रस्टेशन’ र कुलतको शिकार बन्नु पर्दोरहेछ ।

वीर अस्पतालमा महिनौंसम्म उपचार गराएर बसिरहेका बिरामी पनि भेटिए । अझ रोचक त के छ भने बिरामी कुरुवा कुरुवाबीच माया प्रेममा परेर बिरामी छोडि भागेको पनि भेटियो । माया प्रेमको प्रसंगले कहिले काही वार्ड नै रोमञ्चित बन्थ्यो ।

अनौठो कुरा, तपाईं वीर अस्पतालमा बिरामी कुर्दै हुनुहुन्छ र त्यहाँको कोही कर्मचारीले मेरो मान्छेको औषधि पसल छ म सस्तोमा मिलाइ दिन्छु भन्यो भने सम्झनुहोस्, तपार्इंलाई पर्ने मुल्य भन्दा १० प्रतिशत ज्यादा महंगो पर्छ । त्यहाँका मान्छेले फार्मेसीमा अनुहार देखाएको १० प्रतिशत कमिशन पाउँछ । वीर अस्पतालमा धेरै राम्रा र अनुभवी चिकित्सक र स्टाफ पनि छन् । तर, केही चिकित्सक र स्टाफका कारण अस्पताललाई नै बदनाम गराइरहेका छन् । अचम्म के पनि छ भने, केही मान्छेहरू त्यहाँका स्टाफ नै होइनन् । तर, उनीहरु रेगुलर अफिस टाइममा आउँछन्, बिरामी र बिरामीका आफन्तलाई ठग्छन् । र अफिस छुटेपछि घर फर्किन्छन् । अझ वीर अस्पतालका पालेहरूको दादागिरी त द्वन्द्वमा खटिएका सेनाले विपक्षीलाई देखाउने बर्बरता जस्तै छ । वीर अस्पतालमा प्रत्येक दिन केही न केही घटनाहरु भइरहन्छ ।

एक दिन मेरी छोरीको अप्रेशन थियो, छोरीलाई अप्रेशन कक्षमा लगेर म वार्डमा झरें । शर्त अनुसार मैले दुई लाख पचास हजार बुझाउनु पर्ने थियो । मसँग मात्र पचास हजार थियो । पैसा छैन भनुँ भने अप्रेशन नहोला, चीनदेखि चिकित्सक आएका छन् । केश अत्यन्त जटिल छ । दिउँ भने पैसा छैन । यस्तै सोचिहेको थिएँ । अकस्मात ओटीबाट फोन आयो । ओटीमा गएँ, डाक्टरले पैसा जम्मा गर्न भन्नु भयो । यसो सोचें, पैसा जम्मा भयो भने दिइहाल्छु, भएन भने छोरीको अप्रेशन भइहाल्छ देखाजाला । 

मेरो मनमा पनि पापी सोच आयो । पैसा पनि छैन, छोरी बाँच्ने आश पनि छैन । डाक्टरलाई बेलुकासम्म पैसा दिन्छु भनेर ढाटेँ । डाक्टरले पनि अन्कनाएर हुन्छ भन्नु भन्दा अर्को विकल्प थिएन । किनकी बिरामी ओटीभित्र छिराइ सकेकोे थियो । उनले हुन्छ भने । डाक्टरसँग बिदा भएर वार्डमा झर्दै थिएँ, एक जना शाह थरका रेजिडेन्ट डाक्टर भेटिए । उनी बहुतै ‘चालु’ थिए सबै कुरामा । उनले सोधँे, ‘कसलाई किन भेट्न आएको ?’ मैैंले पैसा जम्मा गर्नुपर्ने कुरा बताएँ । ‘तपाईंको छोरीको उपचार गर्न पैसा नैं लाग्दैन, उसले खान खाजेको हो, विचार गर्नुहोस्’ उनले भने । 

त्यसपछि म झन अचम्ममा परें । भारतबाट आउनेहरूले गरेको कहानी म आफ्नै  देशमा भोग्दै छु । मैंले केही सोच्नै सकिन । मैले चिनेका वीर अस्पतालका र मलाई माया गर्ने सबै जनालाई त्यो कुरा भनें । सबै जनाले पैसा नदिन सुझाए । छोरीको अप्रेशन हुँदै थियो, दिन बिस्तारै छिप्पिदै थियो । अरु त के मलाई घाँटीबाट पानी निल्न पनि मुस्किल भइरहेको थियो । यो उमेरसम्मको आफ्नो इमान्दारिता र आर्थिक अवस्था सम्झिरहेको थिएँ । लामो समयको संघर्षपछि एउटा राम्रो ठाउँमा जागिर पाएको थिएँ । पूर्खाको सम्पत्ती पनि टन्नै थियो । तर, मसँग पैसा भने थिएन । मैंले साथीभाई र आफन्त कमाएको रहेछु । मैले नमागिकन बेलुका ६ बजेसम्म करिब २८ लाख रुपैयाँ जम्मा भइसकेको रहेछ । 

राती करिब ११ बजे मोबाइलमा डाक्टरको फोन आयो । सूर्यजी, तपार्इंले पैसा जम्मा गर्नु भो ? डाक्टरको आवाजमा आवेग र आक्रोश थियो । उनलाई पनि सिनियर डाक्टरले च्यापेका रहेछन् । 

मसँग पैसा जम्मा भैसकेको थियो । तर मैले डा. शाहले भनेको कुरा बिर्सैको  थिइँन । मैंले जवाफ दिएँ, ‘सर, आज पैसा जम्मा भएन भोलि हुन्छ ।’ त्यसपछि उनले रिसाउँदै फोन झ्याप्प राखिदिए । मैंले एक जना रविन्द्रकाजी श्रेष्ठ नाम गरेका दाईलाई चिनेको थिएँ । उनले लामो समय वीर अस्पतालमैै फार्मेसी चलाएका थिए । उनका भाइ पनि वीरकै राम्रा डाक्टर थिए । उनको डा. प्रकाश विष्टसँग चिनजान थियो । रविन्द्र दाईले डा. विष्टसँग कुरा गर्नुभयो । त्यो पैसा मैंले दिनैं पर्ने रहेछ । मैंले नदिए डाक्टरहरूले नैं तिर्नुपर्ने रहेछ । म लज्जित भए र मलाई फोन गर्ने डाक्टरलाई फोन गरें र माफी मागें । पछि थाहो भयो, डा. शाहको ती डाक्टरसँग टसल रहेछ र मलाई भड्काएका रहेछन् । मलाई फोन गर्ने डाक्टर थिए केआईसिंह केसी । उनी बहुत अब्बल र सहयोगी थिए । डा. गोपालरमण शर्मा र डा. श्रीसन उनका चेला न परे । आजभोली न्यूरो सर्जरीमा उनी पनि चर्चित नै छन् । बुटवललाई कार्यक्षेत्र बनाएका छन् । कञ्चनपुरदेखिका बिरामी उनलाई भेट्न बुटवल आउँछन् । मेरो पारिवारीक सम्बन्ध छ । म बुटवल गएका बेला उनको मै खाना खान्छु । म एउटा बिरामीको भिजिटर, बिरामी डिस्चार्ज गर्दासम्म उनको साथी बनिसकेको थिएँ ।

एउटा रोचक घटना भयो त्यो बेला । अर्जेन्ट सामान ओटीबाटै चलाउनु र चाहिने भन्दा बढी सामान बिरामीका आफन्तलाई किनाउनु प्रायः सबै अस्पतालका ओटीहरूको धन्दा हो । नियमत प्रयोग हुने सामाग्री प्रयोग गरेर र बाँकी सामाग्री फिर्ता गर्नुपर्ने ओटीको नियम हो । र फिर्ता लिने हाम्रो अधिकार पनि हो । तर, वीर अस्पतालमा त्यस्तो हुँदो रहेनछ । फिर्ता हुने भनेको सलाइन र सिरिन्ज मात्रै जो देख्दा धेरै देखिने तर भ्यालुमा निकै कम हुन्छ । 

छोरीको अप्रेशनका बेला मलाई दुई वटा एनोरिजम क्लिप (मस्तिष्कको नशा फुल्न नदिने क्लिप) किन्न लगाइएको थियो । एउटा क्लिपको मुल्य ३२ हजार पाँच सय पथ्र्याे । अपत्यारिलो रुपमा छोरीको अप्रेशन सफल भएकोमा हामी गद्गद् थियौं । हामीलाई के सामान कति प्रयोग भयो थाहा हुने कुरै भएन । एक दिन मैले सिटी स्क्यान हेरें । त्यसमा एउटा मात्र क्लिप देखें । अर्को क्लिप कता लाग्यो होला भन्ने लाग्यो । वास्ता गरिंन । छोरीको  डिश्चार्ज गरेको पनि महिना दिन पुगिसकेको थियो । एक दिन उनै डा. केसीसँग चिया खाने मौका मिल्यो । मैले डराई डराई उनलाई सोधें ‘सर, छोरीलाई त दुई वटा क्लिप लगाएको होइन र ? मैले हेर्न जानिन कि के होे एउटा मात्र क्लिप देखें ।’ उनी मुसुमुसु हाँसे र भने, ‘एउटा तपार्इंलाई फिर्ता आएन ?’ उनको हसाँईबाट बुझिसकेको थिएँ, एउटा क्लिप कसैले ओटीमा भ्याइदियो । उनले भोलिपल्ट ओटीमा बबण्डर गरेछन् । कसले लुकाएको हो पत्ता लगाएछन् । मलाई बोलाएर फिर्ता गरिदिए । ‘सरी है, सूर्यजी यहाँ यस्तै हो ।’ उनले भने । म छक्क परें । एउटा पत्रकार, त्यसमा पनि मेडिकल बिट र धेरै डाक्टरहरू चिन्ने मान्छे त ठगिँदो रहेछ भने अरु सामान्य मान्छे जो पहिलो पटक अस्पताल टेकेका छन् तिनको हालत के होला ? हे मेरो देश ।

माथि उल्लेखित घटना काल्पनिक होइनन् । म छोरीको उपचारको क्रममा वीर अस्पतालमा ९० दिन बस्दाका अनुभव हुन् । म धेरै त्यस्ता अस्पतालका डाक्टर र स्टाफहरू चिन्दछु जो आफ्नो महिनाभरको तलब त्यहिँ आउने बिरामीको उपचारमा खर्चन्छन र महिना मरेपछि रित्तो हात घर फर्किन्छन् । मैंले त्यस्ता डाक्टर र स्टाफहरु चिनेको छु जसले त्यहि अस्पतालमा अप्रेशनको टाइम मिलाएर कमिशन खान्छन् र आईसियू बेड मिलाएर कमिशन खान्छन् । धिक्कार... छ ती कमिशन खोरहरूलाई जो मान्छे बेचेर पैसा कमाउँछन् । सम्मान छ ती डाक्टरहरू जो आफ्नो गाँस काटेर बिरामी बचाउँछन् । 

(लेखक नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष हुन् ।)  

यो पनि पढ्नुहोस्

डाक्टर सा’प मेरो छोरी मार्देउन !

Last modified on 2017-11-11 15:13:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. मा..क्नी मलाई यो पढेपछि किन रिस उठ्दै छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts