विवाह र मनोरोग सम्बन्धी ३ सन्देश


Download our app to get more features
Birat Hospital

 

परिदृश्यः 
बिहानै सर्सर्ती सामाजिक सञ्जालका पोष्टहरु हेर्ने बानी नै भएको छ । आज एक आदरणीय अग्रजको लिंकमा गएर आँखा टक्क अडियो । समाज र जीवनलाई मार्ग निर्देश गर्ने सन्देस दिने गर्छन् उहाँका पोष्टहरु । उहाँ स्वयंले पनि उच्च मूल्यांकनका साथ शेयर गर्नुभएको थियो आजको लिंक । व्यस्तताको बावजुद उक्त बिचारोत्तेजक लेख नपढी सकिएन । आज वार्ड–राउण्ड, बहिरंग–सेवा अनि फेरि ग्राण्ड–राउन्ड । मेरो विषय मनोचिकित्सा । डेविड ब्रुक महोदयThree views of Marriage नामक लेखमा विवाहलाई हेर्ने मनोवैज्ञानिक, रोमान्टिक र नैतिक दृष्टिकोणबारे चर्चा गर्दै्थिए । मनमा लेखको असर ताजै थियो र आजका मेरा सेवाग्राहिहरुको प्रसंगले यो लेख लेख्न लगायो । 

vayoda

विवाह गरिदिए मानसिकरोग ठीक हुने विश्वासमा बेड नं. ३ की १७ वर्षीय कृष्णा (सबै नामहरु परिवर्तित) को रोगी हालमै भएको रहेछ । उन्माद वा ‘मेनिया’ले ग्रस्त तिनले विवाह मण्डपमै उधुम् मच्चाएपछि तिनको अवस्थाबारे अनभिज्ञ बेहुलापक्ष कुरा थाहा पाएपछि रिसाएर विवाह मात्र रद्ध गरेनन्, नोक्सानीको क्षतिपूर्ति माग्दै रहेछन् । मनमा कुरा खेल्दैथियो, ओपिडिमा आइपुगे ‘रिकरेन्ट डिप्रेसिभ डिसअर्डर’बाट यो पालि बल्लबल्ल तंग्रिएकी २७ वर्षीय सबनम् आफ्ना पिताजीसँग । विहेको कुरा आएको रहेछ विदेशमा काम गरी हालै घर फर्केका एक केटाको । तिनको मानसिक रोगमा दवाई खाइरहने सल्लाह भएकोले सल्लाह माग्न आएका । सबनम्का पिता अलमल्ल परे मेरो सवालले, ‘विहे गर्ने केटापक्षसँग छोरीको रोगबारे सल्लाह गर्नुभएको हो त?’ तिनलाई सम्झाउँदै थिएँ र जानेबेला सकारात्मक टाउको हल्लाउँदै गए । आजको दिनै विहे प्रसंगको भो, ग्राण्ड–राउन्डमा पनि दोहरियो विवाह–सन्दर्भ । प्रवीणता पढ्दै गरेकी तेइस वर्षीय छोरी सीताकुमारी यादवलाई पुर्नियाको खान्दानी केटा भनी विहे गरी दिएको, नशाको लतले बिग्रेका, परिवार पनि दहेजका मतियार परेछन् । हुनसम्म दुःख दिएका रहेछन् र बिचरी ‘सिभिएर डिप्रेसन’ भई विष सेवन गरेको हालमा इमर्जेन्सी ल्याएकीरहेछन् ।

विवाह र मानसिक समस्या सम्बन्धमा  
विवाह मानवजीवन र समाजको एक व्यापक चलन, प्रथा वा प्रक्रिया हो, र जीवन र जगतका धेरै पक्षहरुसँग यसको अन्तरक्रिया हुनेगर्छ । यस्तोविवाहलाई हेर्ने विविध कोणहरु हुनसक्छन् । लेखक डेविडले प्रचलित व्यावहारीक सहित आदर्श दृष्टिकोण पनि औंल्याएका रहेछन् । मनोवैज्ञानिक मत भन्छ,‘बिहे गर्ने व्यक्तिको स्वभाव, प्रवृत्ति र चरित्र हेर किनकि यो बदल्न सजिलो छैन । चञ्चल, अस्थिर, शंकालु, एकलकाँटे, घमण्डी, गैर–सामाजिक, नक्कले जस्ता प्रवृत्तिले घरवार चल्न गाहारो हुन्छ । सहनशील, मिलनसार, समझदार, सहज र समायोजनशील जीवनसाथी रोजस रुप, धन वा अरु होइन ।’ यो व्यवहारवादी मतलाई हल्लाउँदै रोमान्टिक मत पनि समाजमा व्यापक प्रभाव राख्छ । माया, प्रेम, स्नेह, करुणाले जस्तोसुकै मानिस, परिस्थिति वा समय पनि बदल्न सकिन्छ । सच्चा माया हुनुपर्छ, बस् ! यी मतको प्रभाव यति व्याप्त छ कि मानवसभ्यता र समाजको दिशा मतलब, स्वार्थ, व्यक्तिवादी र म मेरोतिर अभिमुख देखिन्छ । यस्तोमा तेश्रो मतको आवश्यकता औंल्याउँछन् लेखक महोदय नैतिक चस्माको । विवाहमा लिनेदिनेभन्दा पर सहयात्रा, परस्पर जीवनअर्थको खोजी र जीवन र जगतलाई मिलेर सुधार्ने चेष्टा हुनुपर्छ । यी तीन मत परस्परमा अन्तरबिरोधी हैनन्, खाली फरक हुन् । सफल र सुखद् वैवाहिक सम्बन्धका लागि यी तीनै पक्ष अपरिहार्य छन् ।    

समाजमा मानसिक समस्या व्यापक छन्, रोगकै रुपमा पनि सयकडा पन्ध्रको हाराहारीमा यसबाट पिडित हुन्छन् । परिस्थितिबस् मानसिक अवस्थामा बिचलन, परिवर्तन र लक्षण त झन् धेरै हुन्छ । जीवन र जगतका विविध पक्षहरुको मनमा प्रभाव, असर र छाप पर्ने नै भयो । अतः मानवजीवन र जगतका यी दुई व्यापक विषय बिवाह र मानसिक समस्याबीच विविध अर्थमा सम्बन्ध र अन्तरक्रिया हुने नै भयो । विवाहसम्बन्धी विविध जैविक, मनोवैज्ञानिक र सामाजिक आयामहरुले मानसिक समस्याहरुबाट बचाउन वा यी समस्याहरु बढाउनमा भुमिका खेल्नसक्छन् । अतः, माथि उल्लेखित परिघटनाहरुका आधारमा बिवाह र मानसिक समस्याका सम्बन्धमा ३ मूल सन्देसहरु यहाँ उल्लेख गर्न चाहन्छु । 

पहिलो, विवाह मानसिक पिडाको कारण नबनोस्
सीताकुमारी यादव काल्पनिक पात्र होइनन्, हाम्रो यथार्थता हो । धनदौलत, सानइज्जत, रुप, शारिरीक संटुष्टीका लागि मात्र गरिने विवाहले मनोवैज्ञानिक र सामाजिक रुपमा धेरै महिलाहरु सीताकुमारी जस्तै प्रताडित हुनपुग्छन् । शारिरीक–यातना, यौन–शोषण र अस्वस्थ सम्बन्ध तथा दुव्र्यसन जस्ता जैविकतत्वहरुले पनि मानसिक समस्या बढाउनमा सघाउ पु¥याउँछन् । फिल्ममा चित्रित हुने आदर्श मायाप्रिति र शास्त्रमा वर्णित नैतिक सम्बन्ध जीवन र जगत्मा पनि उपयुक्त हिसाबले अबलम्बन हुँदाभने मानसिक समस्याहरुबाट बच्न धेरै हदसम्म सघाउ पुग्नेगर्छ । विवाहबाट तनाव सृजना नहोस्, बरु यसबाट पतिपत्नी दुवैलाई साथसहयोग, आडभरोसा मिलोस् । विवाहले व्यक्तिलाई स्वस्थ जिविका, तनावबहन र रोग, शोक र पिडामा आवश्यक उपचार, व्यवस्थापन र स्याहारको वातावरण बनेमा बिवाह मानसिक समस्याको कारण होइन, रोकथामको बलियो आधार बन्दछ । केहि अति कडा मानसिक समस्याहरु वंशानुगत रुपमा सन्तानमा सर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर जेनेटिक काउन्सेलिंग महत्वपूर्ण हुनेगर्छ । तथ्य लुकाएर विहे गरी दिँदा पछि पिडित पक्षले स्वीकार्न नसक्दा मानसिक विचलन वा विक्षिप्त अवस्था आइपर्नसक्छ भन्ने पनि भुल्न मिल्दैन । मानसिक समस्या भएपनि नभएपनि, पहिले भएर अहिले ठीक भएको भएपनि सम्बन्धित सबैले सत्यतथ्य बुझेर, बुझाएर समझदारीमा डेविड महोदयले औंल्याएका मतहरुबाट शिक्षा लिएर विवाहसम्बन्धी निर्णय लिनसके मानसिक समस्या कम गर्न सघाउ पुग्ने देख्तछु । बास्तवमा, सुखद र सफल दाम्पत्य–सम्बन्ध मानसिक रोगै लाग्दा पनि सकारात्मक परिणति ल्याउन सहायक रहन्छ । 

दोश्रो, मानसिकरोगले वैवाहिक सम्बन्ध नटुटोस् 
धेरै मानिसलाई सताउने मानसिक समस्याले तपाईं, हामी जो कोहिलाई जहिले पनि सताउनसक्छ । रोगका कारण मानिसको व्यवहार, अनुभव, सोंच र अरु मानसिक क्रियाकलापहरुमा आउने परिवर्तनले व्यक्ति, घरपरिवार, नातागोता, साथी, सहकर्मिहरुसँगको सामाजिक व्यवहार र दैनिकीमा नराम्रो असर पर्नेगर्छ । वास्तवमा एक मनोरोगीको रोगका कारण कम्तिमा अरु तीनचार मानिसलाई प्रतक्ष्य रुपमा मनोवैज्ञानिक, भावनात्मक, सामाजिक, आर्थिक, शारिरीक वा अरु कुनै हिसाबले असर पर्नेगर्छ । सत्यतथ्य बुझेर यसको रोकथाम, उपचार र पुनस्र्थापनाका उचित उपायहरु अबलम्बन गर्नतिर सचेत हुनुपर्छ । यसोगर्दा, मनोरोगबाट सृजना हुने अस्वस्थता, विकलांगता, जटिलता र आत्महत्या सहित मृत्यूको सम्भावना घटाउन सकिनेछ । पतिपत्नी एकले अर्कोलाई अस्वस्थ अवस्थामा पुु¥याएको साथसहयोग, समझदारीले स्वस्थतातिर अभिमुख हुन त सघाउँछ नै, साथमा पवित्र वैवाहिक–सम्बन्ध अझ मजबुत र बलियो बन्नेछ । त्यसैले, आफ्ना प्रियजनमा आउनसक्ने मानसिक र मनोवैज्ञानिक परिवर्तन र लक्षणहरुबारे सुसुचित रहन, कुनै लक्षणको शंका लागेमा समयमै सम्बन्धित सेवासल्लाह लिन र अबिचलित भएर उपायउपचारतिर लाग्न आवश्यक हुन्छ । यस्तोमा बिरामीलाई गाली वा आलोचना पनि नगरी, लोलोपोतो पनि नगरी धैर्यपुर्वक समझदारीले उपयुक्त खालको व्यवहार गर्न जरुरी हुन्छ ।    

तेश्रो, मानसिकरोग र विवाहह सम्बन्धी भ्रममा नपरौं 
मानसिक समस्याको उपयुक्त उपचार गरौं । रोगले ग्रसित कृष्णालाई रोगी हालमा बेहुलापक्षलाई जानकारीसम्म नदिएर विहे गरिदिँदा सबैलाई नराम्रो भयो । विहे मानसिक रोगको उपाय होइन, यसमा उपचारको जरुरत हुन्छ । रोगअनुसार, दवाइ, मनोसामजिक परामर्श वा उपयुक्त उपायविधिहरु अपनाउनु आवश्यक हुन्छ । विवाहले तनाव र मानसिक रोगका खतराजन्य कारकतत्वहरु बढाएमा झन् मानसिक रोग हुने सम्भावना बढाउनेछ । सूझबुझ र समझदार जीवनसाथीले भने मानसिक रोगको रोकथाम र उपचार व्यवस्थापनका समस्त तहमा कवच्का रुपमा मानसिक समस्यासँग जुध्न सघाउँछ ।  

आम स्वस्थ मानिसका लागि उपयोगी हुने लेखक डेविडको विवाह दृष्तान्त मानसिक समस्याको छायाँमा परेका व्यक्तिहरुका लागि पनि उतिक्कै र अझ बढी उपयोगी हुने देखेकोछु । समझदारी, स्वीकारोक्ति, सहजीकरण, स्नेह, मायाममता र जीवन–उद्धेश्यले बिवाह सफल र सुखद हुन्छ । यी तिनै कुरा हुन् जुन मानसिक समस्यासँग जूध्ने हरेक तहमा हरेकका लागि आवश्यक छन् । यी कुराहरुले नै हाम्रो जीवन र समाजको गुणस्तर उचो बनाउन पनि सघाउ पुग्नेछ ।  

 

डा. धनरत्न शाक्य, एमडी वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ, एडिशनल प्रोफेसर ।

Last modified on 2018-05-06 07:00:45

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital