सिक्कल सेल एनिमिया 'ब्रेक' गर्ने अठोट बोकेका 'थारु मेयर'सँग एकछिन्...

२० हजार थारुमा सिक्कल सेल परीक्षण गरिँदै


Download our app to get more features
Spark_health_home

थारु समुदायले अभिशापकै रुपमा लिने रोग हो सिक्कल सेल एनिमिया । यो रोगले उक्त समुदायका प्रभावितहरुमा शारीरिक रुपले मात्र पीडा दिएको छैन । यसले रोग भएकाहरुको परिवारकै मानसिक, सामाजिक, आर्थिक पाटोमा पनि असर गरेको छ । असली धर्तिपुत्र भनिएपनि आदिवासी थारु समुदाय सदिऔंदेखि शोषण, अन्याय र असमानताको शिकार भयो । राजनीतिक परिवर्तनहरुले विस्तारै थारु समुदायलाई सशक्त बनाउँदै लगेको छ । 
जसरी बहुसंख्यक थारु लामो समयकालसम्म सीमान्तकृत रुपमा रहे त्यसरी नै सिक्कल सेल एनिमिया पनि सदिऔंदेखि बाई लागेको (भूत वा बान लागेको भनेजस्तै) भनेरै बुझियो । सिक्कल सेल एनिमिया पहिचान नहुँदा स्थानीय धामी झाँक्रीले गरिबका घरको धेरै कुखरा र बोका खाए । 

खास प्रसंग बर्दियाको बारबर्दिया नगरपालिकाको हो । जहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले बृहत रुपमा थारुहरुको रगत संकलन गरिरहेको छ । सिक्कल सेल एनिमिया र यसका विविध वंशाणुगत पक्षहरुमाथि अध्ययन गरेर रोग न्यूनिकरणको उपयुक्त नीति निर्माण गर्नभन्दै सरकारले उक्त नगरपालिकाको एकवर्ष उमेरदेखि २९ वर्षसम्मका मानिसको रगत संकलन गरेर प्रयोगशाला परीक्षण गरिरहेको छ । २० हजार नमुना संकलन गर्ने उद्देश्य सहित चलिरहेको कार्यक्रमको अवलोकन एवं समाचार संकलन गर्न अघिल्लो साता हामी उक्त नगरपालिकामा पुगेको थियौं । 

बर्दियाको सबैभन्दा कान्छो तर सबैभन्दा ठूलो भूभाग ओगटेको नगरपालिका रहेछ बारबर्दिया । ६८ हजार जनसंख्या रहेको बारबर्दियामा करिब ७५ प्रतिशत आदिबासी थारुको बसोबास छ । बर्दियाको टन्टलापुर घामका बीच हामी त्यहाँका जनप्रतिनिधिलाई भेट्न नगरपालिका पुग्यौं । दुर्गाबहादुर थारु 'कविर' त्यस नगरका प्रमुख रहेछन् । माओवादीका तर्फबाट नगरप्रमुख निर्वाचित कविर माओवादीको शसस्त्र विद्रोहकालदेखि नै सक्रिय रहेछन् । त्यस नगरको ११ वटा वडामध्ये ९ वटामा तत्कालिन माओवादी केन्द्रले जितेको रहेछ । देख्दैमा मिजासिला कविर वाचाल त छँदै थिए, उस्तै विनम्र पनि । उनको हाउभाउ र बोलिचालीमा देखिएको कन्फिडेन्स तारिफ गर्न लायक थियो । कुराकानीका क्रममा उनले विशेषतः सिक्कल सेल एनिमिया न्यूनिकरणमा गरिरहेको कार्यहरुको प्रगति र भावी योजना सुनाए । 

सिक्कलसेललाई 'ब्रेक' लगाउने तीन सुत्र
मेयर कविरले सिक्कलसेललाई ब्रेक गर्न तीनथरी योजनाहरुमाथि काम गरिरहेका रहेछन् । माध्यमिक स्तरको पाठ्यक्रममा अनिवार्य सिक्कलसेल एनिमियाको आधारभूत जानकारी राखेर यही शैक्षिकसत्रबाट पढाई सुरु हुनलागेको उनले जनाए । कक्षा ९ को सामाजिक शिक्षामा सिक्कलसेलको जानकारी समेटिएको र शिक्षकहरुलाई पनि अभिमूमिकरण कार्यक्रमहरु थालिएको पाठ्यक्रमका मस्यौदाकार तथा सिक्कलसेल एनिमिया सोसाइटी नेपालका अध्यक्ष प्रभू चौधरीले बताए । यो तरिका अपनाउने बारबर्दिया पहिलो नगर बनेको छ । सिक्कलसेल एनिमिया र यसको जोखिमका बारेमा सामान्य जानकारी भए किशोरकिशोरी विवाह पूर्वै सचेत हुने भन्दै नगरले यो अभियान सुरु गरेको कविरले बताए । 

स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा ६ वटा वडाको नमूना संकलन 
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बारबर्दिया गाउँपालिकाका ६ वटा वडा (१,२,३, ९, १०, ११ ) का १ देखि २९ वर्ष उमेर समुहका २० हजारको रगत परीक्षण गरिरहेको छ । यो अभियानले गर्दा स्थानीय थारु समुदायमा खुशी छरेको नगरप्रमुख कविरले बताए । उनले भने ‘यो अभियान भर्खरै सुरु भएको छ । यसलाई विस्तारै सबै वडामा विस्तार गरेर सबैको परीक्षण सुरु गर्छौंं ।’ स्थानीय मानिसमा सिक्कलसेलका बारेमा विस्तारै चेतनास्तर बढ्न थालेको उनले बताए । ‘यहाँका थारु समुदायलाई बल्ल सिक्कलसेल एनिमिया वंशानुगत रोग हो । यो रोग भएकाहरु बीच बिहावारी हुँदा बच्चा पनि रोगी नै जन्मन्छ भन्ने थाहा हुन थालेको छ ।’ उनले सुनाए । 

बारबर्दिया न.पा. वडा नं २ मा रगत संकलन गरिँदै

परीक्षण गरिएकालाई ग्रीन, एल्लो र रेड कार्ड 
सिक्कल सेललाई ब्रेक लगाउन बारबर्दियाले रगत परीक्षण पश्चात सबैलाई कार्ड वितरण पनि सुरु गरेको छ । जस अनुसार अहिले परीक्षण भइरहेका र पहिला नै पहिचान भैसकेका बिरामीलाई वर्गिकृत गरिएको छ । जसअनुसार सिक्कलसेल प्रभावितलाई रातो कार्ड, आफु निरोगी तर वंशानुगत रुपमा बाहक हुनसक्नेलाई पँहेलो कार्ड र पूर्ण निरोगीलाई ग्रीन कार्ड दिने गरिन्छ । रातो कार्ड भएकाहरुले रातोसँग बिहे गर्न हुन्न । पहेंलो कार्डवाला सँग बिहे गर्दा बच्चामा सिक्कलसेल एनिमिया हुने सम्भावना २५ प्रतिशतमात्र रहन्छ । कार्डका कारणले अर्को पुस्तासम्म पुग्दा सिक्कलसेल पीडित घट्ने कविरको विश्वास छ । 

नगरमै सिक्कलसेलको अस्पताल
बारबर्दियाका 'क्रान्तिकारी' मेयरले अर्को योजना बनाएका छन्–नगरमै सिक्कलसेलको अस्पताल खोल्ने । बारबर्दियामा रहेको प्राथमिक स्वास्थ्यचौकीको पक्की भवनमा पहिले सिक्कलसेल युनिट खोल्ने र विस्तारै त्यसलाई सिक्कलसेलकै अस्पताल बनाउने गरी कार्यक्रम अघि बढाइएको उनले बताए । नगरमै सिक्कलसेल एनिमियाको परीक्षण गर्न घरघर परीक्षण अभियान चलाइने उनले बताए । स्वास्थ्य अनुसन्धान परिषद्ले थालेको अभियानलाई निरन्तरता दिने उनले बताए । 

कसरी भैरहेको छ परीक्षण अभियान 
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले झण्डै एकदर्जन कर्मचारी बारबर्दियामा नै राखेर नमुना संकलन गरिरहेको छ । जसको हेमोग्लोविन परीक्षण फिल्डमै गरिन्छ भने त्यसमा पोजेटिभ आएकाहरुको बाँकी परीक्षण राजधानीको वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गराइरहेको परिषद्का सदस्य एवं फिजिसियन डा. श्याम बिकले जानकारी दिए । 

‘यहाँ संकलन गरेका नमूनाको हेमोग्लोबिन जाँच (सिबिसी) यहीँ नगरपालिकामा मेशिन राखेर भइरहेको छ । यसमा हेमोग्लोबिन कम पाइएकाहरुको काठमाण्डौमा एचडी इलेक्ट्रोफोरोसिस र वंशानुगत अध्ययनका लागि पीसीआर टेष्ट गरिरहेका छौं ।’ उनले थपे । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झाले हालसम्म करिब २ हजार ५ सय नमूना परीक्षण भैसकेको जनाए । डा. झाले थपे ‘अहिलेसम्मको परीक्षण रिपोर्ट हेर्दा सिक्कलसेल एनिमियाको अवस्था भयानक आउनेवाला छ । बाँकी रिपोर्ट २० हजारको परीक्षण पछिमात्र थाहा हुन्छ ।’ 

Last modified on 2018-05-23 07:52:14

  1. Uddhav Raj Bhetuwal

    Chief Editor at hamrodoctor

    View Other Stories by Author >>
bnc bathrog

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital