जब वीर अस्पतालमा हजुरबुबाको उपचार गराउन 'पावर' लगाएँ... 


Download our app to get more features
Birat Hospital

यतिबेला जताततै बजेटकै बहस छ । बजेटको पक्ष र विपक्षमा विभिन्न टिप्पणी आइरहेका छन् । स्वास्थ्य क्षेत्रमा पनि बजेटले समेटेका र नसमेटेका विषयहरुलाई लिएर फरकफरक टिप्पणी व्यक्त भएका छन् । २०४६ सालयताकै सबैभन्दा शक्तिशाली र अत्याधिक बहुमतको सरकारले ल्याएको बजेटलाई लिएर आएका प्रतिक्रिया स्वभाविक छ । यो बजेटले स्वास्थ्यमा पनि केही परिवर्तन र प्रगतिको सपना देखेको छ । स्वास्थ्य बीमा विस्तार गर्ने, स्वास्थ्य सेवा कर खारेज गर्ने, सुत्केरी भत्ता वृद्धि गर्ने, सबै स्थानीय निकायमा विशेषज्ञ चिकित्सकसहित अस्पताल निर्माण गर्ने इत्यादी । 

के यी सब विषय कार्यान्वयनमा जाला त ? यो बहसको अर्को पाटो हो । तर, यतिबेला म देशकै जेठो र ठूलो सरकारी अस्पताल वीर अस्पतालको एउटा दारुण चित्रलाई व्याख्या गर्न खोजिरहेको छु । देशभरका निमुखा निम्नमध्यम वर्गीय मानिसको भरोसाको केन्द्र हो वीर अस्पताल । चुस्त व्यवस्थापनको अभाव एवं तीव्र राजनीतिकरणका कारण वीर अस्पताल सुध्रन सकेन भन्ने विषय त्यति नयाँ होइन । यसअघि बनेका थुप्रै अस्थायी सरकार र यो सरकारका अधिकारीहरुले पनि वीर अस्पताललाई आफ्नो राजनीतिक मुद्दा बनाएकै छन् । सबैले वीर अस्पताललाई यस्तो बनाउने र उस्तो बनाउने भनेर समाचारका विषय बनेका छन् । 

vayoda

अझै वर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीले त वीर अस्पताललाई भित्र र बाहिर दुवै किसिमबाट सफा बनाउने भनेर सफाइ अभियानकै सुरुवात गरेकी छिन् । चर्चित कलाकार सिताराम कट्टेल लगायतको समूहले अहिले वीर अस्पतालमा सफाई र रंगरोगनको अभियान थालेका छन् । तर, बाहिर जति नै रंगरोगन गरेपनि वीर भित्रका समस्याहरु भने ज्यूका त्यूँ नै छन् भन्ने  एउटा दलील यहाँ पेश गर्दैछु । 
                                                                              ..............

केहीदिन पहिले म हजुरबुबालाई लिएर वीर अस्पताल पुगें । नाइटोमुनी लगातार मन्दरुपमा पोल्ने समस्या भएका ७६ वर्षका बुबालाई जँचाउन वीरको जेरियार्टिक वार्ड(वृद्धवृद्धा उपचारकक्ष) मा लिएर गएँ । ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क जाँच्न स्थापना गरिएको उक्त कक्षमा पुग्न नपाउँदै एकजना चिकित्सक मित्रले बुबाको समस्या अनुसार जेरियार्टिक भन्दा मेडिसिन विभागमै जान सुझाए । त्यहि अनुरुप मैले मेडिसिनमा एमडी गरेका एकजना चिकित्सकलाई देखाएँ । उहाँले प्रारम्भिक जाँचपछि केही परीक्षण गराउन लगाए । नाइटोमुनी पोल्ने सम्भावित कारणहरु बताउँदै उनले केही औषधि पनि लेखिदिए । 

चिकित्सकको सल्लाह अनुरुप एक्सरे, भिडियो एक्सरे र रगत तथा पिसाव जाँच गराउनुपर्ने थियो । एक्सरे त उतिबेलै भयो तर भिडियो एक्सरे गर्नका लागि भने खाली पेटमा बुबालाई अस्पताल ल्याउनुपर्ने भयो । त्यसका लागि मलाई भोलिपल्ट बिहान ९ः३० बजे अस्पतालमा बोलाइयो । म तोकिएकै समयमा अस्पताल पुगें । रगत परीक्षणका लागि बुबाको रगतको नमूना निकालेसँगै हामी भिडियो एक्सरेको टोकन लिने ठाउँमा पुग्यौं । चारदिन देखि भोको बसेझैं मुद्रामा एकजना महिला कर्मचारी टोलाएर बसेकी थिइन् । उनलाई मैले आज भिडियो एक्सरेका लागि बोलाए अनुसार हजुरबुबालाई खालीपेट अस्पतालमा ल्याएको जनाउँ दिँदै डाक्टरले लेखेको कागजमा तोक लगाइदिन आग्रह गरें । 

मलाई त्यतिबेला चिडचिड पसिना आयो जतिबेला उनले आजको कोटा सकिएको जानकारी दिइन् । मैले केहीबेर उनलाई मनाउनका लागि वृद्ध मान्छे भोको पेट ल्याएको छु, बोलाएकै समयमा ल्याएको छु भनेर आग्रह गरें । तर, उनले मेरो कुरा सुन्न समेत जरुरी ठानिनन् र नमिल्ने रटान लगाइरहिन् । हामीसँगै अर्को एकजना वयोवृद्ध पनि कोटा सकिएको जवाफले रनभूल्ल परिरहेका थिए । उनले ती कर्मचारीलाई आफु पाँचदिनदेखि अस्पताल धाइरहेको तर समय नपाएको गुनासो गर्दैथिए । तर, उनले त्यो वृद्धले गरेको अनुनय विनय पनि सुनिनन् । 

ममा उस्तै छटपट थियो । एकातिर बुबालाई भोकै अस्पताल ल्याइएको छ, अर्कोतिर कोटा सकिएको जवाफ ।  उनले भिडियो एक्सरेको एउटा मेशिन बिग्रिएको र एउटाले मात्र गर्नुपर्दा थप गर्न नसकिने कारण प्रस्तुत गरिन् । बिहानैदेखि भोको बुबाको अनुहारमा मैले म प्रतिको अपेक्षा महसुस गरें । 'स्वास्थ्य पत्रकार भनेर ठूला कुरा गर्ने' मैले भोकोपेटमा ल्याइएका बुबाको भिडियो एक्सरे गराउन नसक्नु उहाँको सामुन्ने मेरो क्षमता र प्रतिष्ठाकै विषय भैसकेको थियो । किनभने मैले स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दैदेखि कतिपय मित्र, आफन्तहरुलाई अस्पतालमा आवश्यक्ता अनुरुप सकेको सहजीकरण गराउँदै आएको थिएँ । भनसून गर्दा राम्रो सेवा पाइन्छ नगर्दा राम्रो पाइन्न भने आममानसिकताका कारण पनि मलाई त्यस्ता आग्रहहरु आउँछन् । त्यो सब 'मिडियाप्रेमी' मेरो हजुरबुबालाई राम्रोसँग थाहा छ । 

बल्ल, मैले सरकारी अस्पतालमा किन 'भनसून' चाहिने रैछ भन्ने आफै महशुस गरें । मैले अस्पतालका एकजना प्रशासकलाई फोन गरें । उनले काउन्टरमा बस्ने उक्त कर्मचारीलाई फोन दिन भने । ती कर्मचारीले ३० सेकेण्ड प्रशासकसँग कुरा गरेर नसक्दै अर्को हातले हामिले दिएको भिडियो एक्सरेको पुर्जिमा छाप लगाइदिइन् । मैले उक्त प्रशासकलाई धन्यवाद दिएँ । त्यो उनले मप्रति देखाएको सद्भाव थियो । त्यसपछि भिडियो एक्सरे गर्ने कोठाभित्र पुगें । त्यहाँ टोकन बाँडिएको थियो । मलाई ७३ नम्बरको टोकन पर्यो । तर, एक्सरे १० बजेतिर बल्ल सुरु हुँदै थियो । सायद टोकन ४–५ नम्बरमा पुगेको थियो । 

काउन्टरको कर्मचारीले एउटा मेशिन बिग्रेको भनेपनि त्यहाँ दुइवटै मेशिन चलिरहेको थियो । मैले सोचेको थिएँ खालिपेटमा गर्नुपर्ने भएकाले भिडियो एक्सरे बिहानैदेखि भैरहेको छ र बुबाको पालो आइहाल्छ । तर, त्यहाँ बुझ्दा हामीले करिब अर्को दुईघण्टा कुर्नुपर्ने देखियो । नियमतः मैले दुईघण्टा कुर्नुपथ्र्यो । तुरुन्त सेवा पाउनुपर्ने मेरो कुनै विशिष्टता थिएन । यद्यपी, बिरामी बुबा खालिपेट बस्नुपरेको अवस्था छँदैछ । अर्कोतिर ११ बजेका लागि मैले आफ्नो एउटा भेटघाट पनि राखेको थिएँ । हुनत सेवा लिने त मेरो ७६ वर्षे बुबाले हो । ज्येष्ठ नागरिकलाई जाँच्ने वार्ड चाहीँ छुट्टै अनि परीक्षणहरु गराउनचाहीँ उही भिडमभाड ? मनमा द्वन्द्व र एकढंगको आक्रोश चल्यो ।  

मलाई छिटो जानुपर्ने आफ्नो स्वार्थ त छँदै थियो, अर्कोतिर ज्येष्ठ नागरिकका रुपमा बुबाले पाउनुपर्ने सहज सेवा थियो । फेरी बुबालाई 'सुपरफास्ट' उपचार गराइदिन पाए उहाँको अगाडी आफुलाई 'ठालू पल्टिन' पनि सजिलो । 
मैले सोही डिपार्टमेन्टका एकजना तत्कालिन कर्मचारी चिकित्सक मित्रलाई फोन र म्यासेज गरें । तर, उनले कुनै रेस्पोन्स नगरेपछि अर्का सिनियर चिकित्सकलाई फोन गरें । संयोगबस उनी त्यहीँ रहेछन् । उनले एकजना चिकित्सकलाई भनेर ज्येष्ठ र अशक्त भएकाले तत्काल भिडियो एक्सरे गराइदिन निर्देशन दिए । बुबाको तुरुन्त भिडियो एक्सरे भयो । भिडियो एक्सरेमा खासै समस्या नदेखिएको भनेसँगै डरले चाउरिएको बुबाको अनुहारमा रगत चढ्यो । हामीसँगै टोकन माग्ने अर्का वृद्धको अनुहार सम्झिँए सहयोगको भावना आयो तर, मैले उनलाई त्यहाँवरपर भेटिनँ, देखिनँ । म ति भिडियो एक्सरे गराउन सहयोग गर्ने चिकित्सकलाई धन्यवाद दिएर फर्किएँ । 

अन्त्यमा, मैले स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेर चिनेका डाक्टरहरुको सदुपयोग गरें वा दुरुपयोग गरें पाठकहरुले छुट्याउनुहोला । तर, मैले भोगेको घटना आमघटना हो । बस् मेरो 'पहुँच' थियो र उपचार पाएँ । अरु सर्वसाधारण त दिनहुँ यस्तै भोगिरहेका छन् । हामीलाई छाप नलगाइदिने कर्मचारी सम्झिँए । उनलाई पनि दोष दिनुको कारण देखिन । सायद यो त्यहाँ आउने बिरामीलाई यसैगरी निरोत्साहित गर्ने र नजिकैका निजी डाइग्नोष्टिक र ल्यावहरुको व्यापार बढाउने 'माफिया नेटवर्क'को 'साइलेन्ट स्ट्राटेजी' थियो । 

अन्तमा, मेरो नितान्त व्यक्तिगत घटनालाई पनि यहाँ व्यक्त गर्नुलाई मैले पेशागत दायित्व सोचें । हुन त हिजोआज वीर अस्पतालका भित्ताहरुमा धुर्मुसहरु रंगरोगन गरिरहेका छन् । मन्त्रिज्यूले ट्वाइलेट सफा गरेको फोटो त 'भाइरल' नै भयो । वीरका भित्ताहरु विस्तारै सजिव देखिन लागेका छन् । ट्वाइलेटहरुमा बास्ना आउने पदार्थ राखिएको छ । तर, वीर अस्पताल भित्रका दैनन्य वास्तविकताहरु भने उस्तै छ ।  गन्हाउने छ । 


भेटुवाल हाम्रो डक्टर न्यूजका प्रधानसम्पादक हुन् । 

Last modified on 2018-05-31 08:55:45

bnc samyog_advertisement bathrog

1 Comments

  1. Bharat bahadur kawaron Wed, May 30 2018 08:31 PM

    पवर हुनेहरुकाे पालाे पछि अाउने, अबलाहरुकाे पालाे अघि अाउने गरि वीर अस्पतालले सेवा दिन सक्नु पर्छ ।सम्पन्नहरुलाई तुरुन्त सेवा दिने, बिपन्नहरुलाई विभिन्न बहानामा विलम्ब गरि बेहाल गराउने प्रकारका गुनासाहरु सुन्न नपरे हुन्थ्याे ।

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital