भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट ३०२ को मृत्यु  



Download our app to get more features

भारत, १५ कात्तिक । भारतको महाराष्ट्र राज्यमा यसवर्ष स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या तीन सय दुई पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले भने, ‘राज्यमा यसवर्ष ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर छ ।’ उनले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार तीन सय ७५ मानिस बिरामी भएको बताए । 

‘तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको छ । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,’ आवटेले भने ।  

उनले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए । ‘मधुमेह र उच्च रक्तचापका बिरामीमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ । यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।’ 

डा. आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँएका छन् । उनले चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने पनि बताए ।  उनले भने, ‘रुघाखोकी लागेका मानिस सार्वजनिक स्थलमा नगएको राम्रो हुन्छ । चलचित्र हेर्न हलमा पनि जानु हुँदैन । स्वाइन फ्लु भएका केबल ५ देखि ६ जना व्यक्ति मात्र उपचारका लागि अस्पतालमा भर्ना हुने गरेका छन् । अरु मानिसको घरमै उपचार गर्न सकिन्छ । तर, कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनै पर्दछ । रासस 

Last modified on 2018-11-01 15:46:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts