चीनको मातृ र शिशु मृत्युदर घट्यो



Download our app to get more features

बेइजिङ, ८ माघ। चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 

सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८।३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९।६ थियो । बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६।१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६।८ थियो । 

यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८।४ को मृत्यु हुने गरेको छ । सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९।१ थियो । 

आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताए। साथै, गम्भीर बिरामी नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उनले बताए। 

मातृ तथा बाल स्वास्थ्यमा थप सुधार ल्याउन आयोगले प्रान्तहरुमा महिला र बालबालिकाका लागि थप स्वास्थ्य सेवा विस्तार गर्न लागेको तथा स्वास्थ्यकर्मीका लागि समयानुकूल तालिम उपलब्ध गराउन लागेको छ । 

चीनले सन् २०३० भित्र मातृ मृत्युदरलाई प्रति एक लाख जीवित जन्ममा १२ मा ल्याउने तथा बाल मृत्युदरलाई प्रति एक हजार जीवित जन्ममा पाँचमा ल्याउने योजना बनाएको छ । रासस र सिन्ह्वा

Last modified on 2019-01-22 13:59:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts