चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टाको तस्बिर भेटेपछि...



Download our app to get more features

बीबीसी, ४ साउन । पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन् ।

उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो । तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन ।

चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो ( धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ ।

तर हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन् ।

उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन् ।

गत वर्ष लक्जम्बर्गमा चुरोट खरिद गर्दा उनका छोराले उक्त तस्बिरको पहिचान गरेको फ्रान्सका सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसपछि त्यो बट्टा उनले घर लिएर गएका थिए ।

“मेरो भाइ लक्जम्बर्गबाट घर फर्कँदै थियो । फर्कनासाथ केही नभनी उसले चुरोटको एउटा ठूलो बट्टा टेबलमा राख्यो,“ उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनिन् ।

“हामी अवाक् भयौैं । हामीले त्यो पत्याउनदै सकेनौँ ।”

सपरिवार तस्बिर हेरेपछि त्यो आफ्नो बाबुको खुट्टा रहेको उनीहरूले निष्कर्ष निकाले ।

“यो तस्बिर हाम्रो बुवाको हो । ती निसान अनि लक्षण,” उनकी छोरीले थपिन् ।

तर ती व्यक्तिका अनुसार उनले आफ्नो तस्बिर त्यसरी प्रयोग गर्न उनले अनुमति दिएका थिएनन् ।

उनका अनुसार उक्त तस्बिर एउटा स्थानीय अस्पतालमा लिइएको थियो जहाँ उनी काटिएको खुट्टामा कुनै किसिमको हिँडडुल गर्न सकिने खाले उपकरण जडान गर्न सकिन्छ कि भनेर बुझ्न गएका थिए ।

बीस वर्षदेखि उनी बैसाखीको सहारा लिएर हिँडडुल गर्दै आएका छन् ।

’विश्वासघात’
उक्त परिवारका वकिलले खुट्टाको तस्बिर ती व्यक्तिको भएको पुष्टि गरेका छन् ।

“प्रत्येक निसान विशेष छ । ती व्यक्तिको अर्को खुट्टामा जलेको निसान छ, त्यसैबाट यो तस्बिर चिनिन्छ । कुनै विशेषज्ञलाई यो तस्बिर पहिचान गर्न कुनै पनि किसिमको समस्या हुनेछैन,” उनले भने ।

उनले कुनै एउटा व्यक्तिले बिनासहमति आफ्नो तस्बिर चुरोटको बट्टामा युरोपेली सङ्घअन्तर्गत रहेका मुलुकमा भेट्नु अविश्वसनीय रहेको टिप्पणी गरेका छन् ।

ती वकिले उक्त तस्बिर कसरी प्रयोगमा आयो भन्नेबारे अस्पतालसँग जानकारी माग गर्दै पत्र लेखेका छन् ।

Last modified on 2019-07-20 16:36:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts